Edukhabar
शनिबार, २९ कार्तिक २०८२
अन्तैवाट

शिक्षामा बजेट बढाउन सांसदले पहल गर्ने

शुक्रबार, १७ बैशाख २०७३

काठमाडौँ, १७ वैशाख । सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्न विभिन्न पार्टीका सांसदले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षाका लागि विश्वव्यापी अभियानको कार्य सप्ताहअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले बिहीबार आयोजना गरेको ‘शिक्षामा वित्तीय व्यवस्थापन’ विषयक छलफल कार्यक्रममा नेकपा (एमाले) शिक्षा विभाग प्रमुख तथा सांसद गङ्गालाल तुलाधरले अब बस्ने संसद्को बैठकमा शिक्षा क्षेत्रमा बजेट बढाउन ध्यानाकर्षण गराउने बताए । 

उनले आफू शिक्षामन्त्री हुँदा करिब १७ प्रतिशत बजेट शिक्षामा विनियोजन भएकोमा हाल १२ प्रतिशत (रु ९८ अरब) मा झरेको भन्दै चिन्ता व्यक्त गरे । सांसद तुलाधरले संविधानले माविसम्म निःशुल्क शिक्षा दिने गरेको व्यवस्थाको कार्यान्वयनका लागि २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा आवश्यक हुने धारणा राखे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद जीवन परिवारले असमान सामाजिक स्थिति भएकाले सबै वर्गका लागि एकैप्रकारको शिक्षा नीति नभई असमान प्रकारकै नीति ल्याई शिक्षामा बजेट बढाउनुपर्ने बताए । सोही पार्टीका सांसद भरतबहादुर खड्काले स्थानीय निकाय निर्वाचित नहुँदा स्थानीय स्रोतसाधन परिचालनमा समस्या देखिएको बताए । 

कार्यक्रममा शिक्षाविद् डा. मनप्रसाद वाग्लेले संविधानमा कागजी प्रतिवद्धता भएपनि निःशुल्क शिक्षाका लागि आगामी वर्षमा शिक्षा बजेट १२ प्रतिशतबाट पनि घट्ने देखिएको चिन्ता व्यक्त गर्र्दै त्यसमा सचेत हुन सांसदहरुलाई आग्रह गरे ।

आर्थिक पत्रकार प्रतिक प्रधानले शिक्षामा लगानी बढाउन शिक्षा कर र निजी विद्यालयबाट अन्य करको व्यवस्था गर्न सुझाव दिए । एनसिई नेपालका अध्यक्ष राजकुमार गन्धर्वले प्राप्त सुझाव समेटेर सम्बन्धित मन्त्री र निकायलाई शिक्षामा बजेट बढाउन, लगानीको सदुपयोग गर्न र सार्वजनिक शिक्षा सुधार्न आह्वान गरिने जानकारी दिए ।

यही अप्रिल २४ देखि ३० सम्म मनाइने कार्य सप्ताहको यस वर्षको नारा ‘मैले तिर्ने कर : शिक्षामा लगाउने रहर’ छ । 

रासस 

 

प्रतिक्रिया