Edukhabar
आइतबार, ०४ असोज २०८३
अन्तैवाट

केसीको मानसिक उपचार गर : अख्तियार

सोमबार, १३ असार २०७३

काठमाडौं १३ असार / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको ‘मानसिक उपचारको व्यवस्था मिलाउन’ सरकारलाई आग्रह गरेको छ ।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिं कार्कीले पूर्वाग्रही भएर काम गरेको आरोप लगाउँदै उनीमाथि महाअभियोग लगाउनुपर्ने माग गरी केसीले अनसन घोषणा गरेकै दिन अख्तियारले केसीको मानसिक स्वास्थ्यको उपचारको आग्रह गरेको हो ।

‘आफ्नो न्यूनतम आचरण र जिम्मेवारीको दायराबाट बिमुख केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसाग आग्रह गर्दछ’, अख्तियारको विज्ञप्तिमा भनिएको छ ।

आयोगका प्रवक्ता कृष्णहरी पुस्करले आयोगको निर्णयका आधारमा प्रेस विज्ञप्ति जारी गरिएको बताए । ‘उहा (डा.केसी) ले राज्यका संवैधानिक निकायमाथि नै जथाभावी लाञ्छना लगाएर अप्ठेरो पार्ने काम गर्नुभएकाले आयोगले यस्तो निर्णय गरेको हो’, पुस्करले भने, ‘यसवारेमा सरकारलाई औपचारिक पत्र समेत जानेछ ।’ 

केसीले अघि सारेका मागमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरुमाथि विभिन्न आरोप लागेको भन्दै अख्तियारले तिनलाई ‘छुद्रता, अराजकता र अस्वस्थ्य मानसिकताको द्योतक’ भनेको छ ।

अख्तियारले फेसबुकमा राखेकाे विज्ञप्ती सच्याएर मानसिक शब्द हटाएकाे छ । सच्याइएकाे विज्ञप्तीमा लेखिएकाे छ, 'बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. केसीको स्वास्थ्य उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ ।'

कान्तिपुरबाट 

http://kantipur.ekantipur.com/news/2016-06-26/20160626200425.html

प्रतिक्रिया