Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
सम्पादकीय

दुर्दान्त घटनाको पाठ

शनिबार, १८ असार २०७३

- सम्पादकीय / ललितपुर टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ् आडको पर्खाल भत्केर २ जना विद्यार्थीको ज्यान जानेगरी भएको घटनाले राजधानीमा बढेको अव्यवस्थित जग्गा प्लटिंङ्ले निम्त्याउने विपत्तीलाई उजागर मात्रै गरेको छैन मापदण्ड पुरा नगरी विद्यालय चलाउँदा कस्तो दुर्दान्त घटनाको सामना गर्नुपर्छ भन्ने दृष्टान्त पनि दिएको छ । जग्गा प्लटिंङ्मा भुमाफियाको चलखेल र शिक्षामा विद्यालय सञ्चालकको मनोमानी दुवै हानीकारक छन् भन्ने पाठ यस घटनाले सिकाएको छ ।

शिक्षा मन्त्रीले तत्काल गरेको घटनास्थलको भ्रमण र दोषी पत्ता लगाउन सचिवलाई दिएको निर्देशन सकारात्मक कदम हो । विद्यालयमा भएको मानवीय क्षति अपुरणीय छ, यसबाट पाठ सिकेर भोलिका दिनमा यस्ता विपत्तीका घटनाबाट आफ्ना विद्यार्थी र समाजलाई जोगाउनु राज्यको कर्तव्य हो । त्यसका लागि राज्य सदैव चनाखो भइरहनु पर्छ ।

२ विद्यार्थीको निधन र २ दर्जन घाइते हनुको मूल दोषी जग्गा प्लटिंङ्को अनुमति दिने जिल्ला मालपोत कार्यालय, त्यसको अनुगमन गर्ने निकाय र पदाधिकारी, प्लटिंङ्मा संलग्न ठेकेदार हुन् । भौतिक पूर्वाधारको मापदण्ड नपुर्याउनुमा विद्यलायले अक्षम्य गल्ती त गरेको छ नै, जिल्ला शिक्षा कार्यालय, शिक्षा कार्यालयका इञ्जिनियर, स्रोत व्यक्ति निरीक्षक पनि त्यसबाट अछूतो छैनन् ।

भौतिक मापदण्ड पूरा नगरेको विद्यालयले कसरी अनुमति पायो ? विद्यालयले किन नियमको वेवास्ता गर्दै विद्यार्थी, शिक्षकलाई खतरामा डोर्यायो ? जिल्ला शिक्षा कार्यालयले किन कहिल्यै अनगमन गरेन र मापदन्ड पूरा गर्न ताकेता दिएन ? यस्ता प्रश्नहरु हिजो पनि थिए, घटना पछि झन् सतहमा आएका छन् ।

विद्यालयका प्रिन्सिपलले पटक पटकको अनुरोध समेत वेवास्ता गरेर जग्गा प्लटिंङ् गर्नेले जबरजस्ती विद्यालयलाई हानी हूने गरी पर्खाल लगाएको अभिव्यक्ति दिएका छन् । यदि त्यसो हो भने प्लटिंङ् गर्ने व्यक्तिले घटनाको जिम्मेवारी लिनुपर्छ । प्रहरीले उनलाई पक्राउ गरिसकेकाले जग्गा प्लटिंङ्को कानूनी पाटो पनि खोतलिनु पर्छ र ज्यान जाने गरी भएको घटनाका दोषीहरुलाई कानूनी कठघरामा उभ्याउन राज्यले एकचिम्टी पनि सम्झौता गर्न हुन्न । पीडकले विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनु पर्छ ।

निजी विद्यालय भएकाले आफू असुरक्षित भए विद्यार्थीलाई सुरक्षित स्थानमा सेवा दिनु पर्ने जिम्मा विद्यलायको हो । यसबाट ऊ चुकेको छ । उसले पनि आम अभिभावकसित सार्वजानिक क्षमा मागेर भोलिका दिनमा आफ्नो विद्यालयलाई मापदण्डयुक्त बनाउनु पर्छ । आफूलाई खतरा हुने गरी निर्माण भएको पर्खाल बारे उसले किन सरकारी निकायलाई जानकारी गराएन यसको जवाफ पनि विद्यालयले दिनै पर्छ ।

भूमाफियाको योजनामा जग्गा दलाल (व्यवसायी पनि) र प्लटिंङ् गर्नेहरु नाफाखोर मात्र होइनन् पैसाका लागि उनीहरु जस्तो सुकै गैरकानूनी र आपराधिक काम गर्न पनि तयार छन् । राजनीतिक संरक्षण र केही टोले गुण्डाको संरक्षणमा जसरी जग्गा दलालहरु मौलाउँदै छन् र अक्षम्य अपराधमा संलग्न छन् निजी विद्यलायका सञ्चालकहरु पनि उनीहरुभन्दा कम छैनन् ।

देशका विशेष गरी राजधानीका निजी र सरकारी दुवै विद्यालयको भौतिक मापदण्ड अत्यन्त कमजोर छ । राजधानीका निजी विद्यालयको भौतिक मापदण्डको गुणात्मकता अत्यन्त कमजोर छ । राज्यका हरेक नियमको विरुद्धमा जाने र शिक्षा भन्दा पनि व्यापारमा जोड दिने निजी विद्यालयले विद्यार्थी र अभिभावकको सुरक्षा भन्दा पनि पैसालाई बढी हेर्ने गरेका छन् ।

सरकारले निजी विद्यालय स्थापनाका लागि प्रष्ट मापदण्ड तोकेको छ । भवन कस्तो हुनु पर्ने, चौर कस्तो हुनु पर्ने, कक्षा कोठाको क्षेत्र कस्तो हुनु पर्ने, झ्याल ढोका कस्तो हुनु पर्ने मापदण्डमा उल्लेख छ । मापदण्ड आउने वित्तिकै निजी विद्यालयहरुको संगठन प्याब्सनले ठाडै त्यसलाई लागू गर्न नसक्ने भनेर राज्यलाई चुनौति दियो । राज्यले मापदण्ड निर्देशिका त ल्यायो तर त्यसलाई कार्यान्वयन गर्ने तदारुकता समेत देखाएन । त्यसैले टौखेलको जस्तो दुर्दान्त घटनाहरु ढिलो छिटो राजधानीका धेरै विद्यालयले भोग्नु पर्ने खतरा पनि उत्तिकै छ ।

राज्यले आफ्नो कमजोरीप्रति क्षमा माग्नु पर्छ र लागू गरेको मापदण्ड कार्यान्वय भए नभएको अनुगमन तुरुन्त थाल्नु पर्छ ।

राज्य छ भन्ने अनुभूत नियम, कानूनको कार्यान्वय भयो भने मात्रै हुन्छ । शिक्षा क्षेत्रमा साँच्चै राज्य छ भन्ने अनुभूति हुन सकेको छैन । र राज्यले त्यो मापदण्ड आफ्ना सामुदायिक विद्यालयको भौतिक संरचनामा सुधार गरेर निजीलाई अनिवार्य लागू गर्नु पर्छ ।

टौखेल घटनाको मिहिन अध्ययन गरेर पाठ सिक्न सकिएन भने यसले शिक्षा र जग्गाका दलालहरुलाई हौस्याउने छ । यसले आम अभिभावक, विद्यार्थी, शिक्षकलाई असुरक्षा र त्रासमा बाँच्न बाध्य पार्नेछ । विकल्पमा निरीह राज्य भन्दै अभिभावकसित दुखी हुनुको विकल्प रहने छैन । आम नागरिकको आधारभूत आवश्यकता शिक्षा र जग्गामा दलालहरुको चलखेल तत्काल रोक्न राज्यले पहल थाल्नु पर्छ ।


यो पनि पढ्नुहोस्: पढाई भईरहेकै बेला कक्षामा पहिरो, २ छात्राको निधन, १७ घाईते

कक्षामै पहिरो : छानिवन शुरु, तुरुन्तै कारवाही हुने शिक्षा मन्त्रीको भनाई

प्रकाशित मिति २०७३ असार १८ गते

प्रतिक्रिया