Edukhabar
आइतबार, २५ साउन २०८२
खबर/फिचर

शिक्षक आयोग नखोल्न माग

मंगलबार, २१ भदौ २०७३

भक्तपुर - नेपाल शिक्षक महासंघले हतारमा आयोग नखोल्न माग गर्दै शिक्षक सेवा आयोगमा ज्ञापन पत्र बुझाएको छ । नयाँ शिक्षा ऐनमा भएको ब्यवस्था अनुसार आन्तरिक प्रतिस्पर्धा र गोल्डेन ह्याण्डसेकको मुद्धा जोडिएकोले अहिल्यै आयोग खोल्न नहुने महासंघको धारणा रहेको अध्यक्ष केशव निरौलाले बताए । 'आफ्नो काम सक्ने वहानामा हतार हतारमा आयोग खोल्न सक्ने देखेर हामीले ध्यानाकर्षण गराएका हौं' उनले भने, 'शिक्षा नियमावली नआउँदै आयोग खोल्दा अपूर्ण हुन्छ ।'

नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री धनीराम पौडेल स्वयंले बताएका थिए । मन्त्रालयमा नियमावली तयारीको काम अन्तिम चरणमा पुगेको अवस्थामा आफ्नो उपस्थिती देखाएर राजनीतिक 'माईलेज' लिन महासंघले ज्ञापन पत्र बुझाएको विश्लेषण गरिएको छ ।

महासंघले आयोगमा बुझाएको ज्ञापन पत्रमा उल्लेख भएको शिक्षक बढुवा पारदर्शी हुनु पर्ने बुँदा यसकै उदाहरण भएको एक जना विश्लेषकले बताए । 'महासंघका नेताहरु प्राथमिक तहका अस्थायी शिक्षकलाई सजिलै स्थायी र सजिलो बाटोबाट माथिल्लो तहमा लैजान चाहन्छन्' उनले भने, 'यसो गर्दा शिक्षक नेताहरुको राजनीतिको आधार बलियो हुने उनीहरुले ठानिरहेका छन्, त्यसैले नियमावली नआउँदै आयोग नखोल भन्दै ज्ञापन पत्र बुझाउने हतार गरेका हुन् ।'

महासंघको ज्ञापन पत्रमा शिक्षक बढुवा पारदर्शी हुन नसकेको कुरालाई जोड दिईएको छ । जसले शिक्षकलाई कक्षा कोठामै भेटेको छैन उसले गर्ने मूल्याँकन पारदर्शी नहुने भन्दै यसमा सुधार गर्नु पर्ने खाँचो औल्याएको निरौलाले बताए ।

६ बुँदे उक्त ज्ञापन पत्रमा श्रेणीगत नभई तहगत बढुवा हुनु पर्ने, अनुभवको आधारमा बढुवा गर्नु पर्ने, बढुवा गर्दा पारदर्शी ब्यवस्था अवलम्बन गर्नु पर्ने, मेडिकल तथा बार काउन्सिल जस्तै शिक्षक काउन्सिल गठन गर्नु पर्ने लगायतमा विषय समेटिएको छ ।

महासंघले बुझाएको ज्ञापनपत्रका अधिकाँश मुद्धा आफ्नो परीधि बाहिर रहेको आयोग अध्यक्ष ताना गौतमले बताए ।

'शिक्षक महासंघको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउनु भयो, तर त्यसमा उल्लेख गरिएका अधिकांश मुद्धा आयोगसंग भन्दा पनि शिक्षा मन्त्रालयसँग सम्बन्धित छन्' उनले भने, 'गुणस्तर सुधारमा महासंघसंग मिलेर अघि बढ्ने कुरामा आयोग सकारात्मक नै छ ।'

अहिलेको मुख्य मुद्धा शिक्षा ऐन कार्यान्वयनको रहेको बताउँदै गौतमले त्यस तर्फ सरोकारवालाहरु सबै गम्भिर हुनु पर्ने बताए ।

यसैविच शिक्षकका सवालमा अहिले देखिएका अन्यौललाई चिर्न आउँदो शुक्रबार महासंघ र आयोगका पदाधिकारी विच अन्र्तकृया गर्ने सहमती भएको पनि निरौलाले बताए ।

प्रकाशित मिति २०७३ भदौ २१ गते

प्रतिक्रिया