Edukhabar
मंगलबार, २७ जेठ २०८२
खबर/फिचर

पाइलैपिच्छे स्कुल !

विहीबार, २३ भदौ २०७३

- हरिसुन्दर छुकां / भक्तपुर– सूर्यविनायकको साइनिङ स्टुडेण्ट एकेडेमी र सेकरिड हाट्र्स एकेडेमी जोडिएका छन् । त्यस्तै बाराहीस्थानको ग्लिटर फ्युचर इ.स्कुल र शारदा प्राथमिक विद्यालय पनि जोडिएका छन् । त्यतिमात्र होइन, सूर्यविनायकको एपेक्स स्कूल र लालीगुराँस स्कुल पनि एकआपसमा जोडिएकै छन् ।

यी जोडिएका विद्यालयहरु बाहेक आमने सामने अर्थात् बाटो वारि र पारि भएका स्कुलहरुको संख्या पनि जिल्लामा उल्लेख्य नै छन् । च्याम्हासिँहको वागीश्वरी उमावि र ख्वप्रिङ एकेडेमी, लिशा से.स्कुल र ब्रह्मायणी प्रावि, ब्यासीको प्रभात उमावि र होली गार्डेन इ.स्कुल, बासु उमावि र सिरिन केन इ.स्कुल आमने सामने छन् ।

दुई चार पाइला हिँड्ने बित्तिकै भेटिने स्कुलहरु त कत्ति हो कत्ति ! बसपार्कस्थित विद्या आर्जन स्कूल, प्रोक्सिमा इन्टरनेशनल स्कूल र आदर्श आजाद उमावि तथा भार्वाचोको गणेश मावि, सनसाइन नेशनल स्कुल, ज्ञानतारा स्कूल, जेनिथ स्कुल, राममन्दिरको ब्राइटस्टार, मिनर्वा र डेमोस, तारा मावि र जनसेवा प्रावि, शहीद स्मृति खेल मैदान स्थित इजी पायोनियर र हिमालन ग्लोरी स्कुल एक दुई मिनेट हिड्दा पुगिन्छ ।

अझ कमलविनायकमा जाने हो भने त बाटो वारि र पारिको सिमानाको फरकमा रहेर सञ्चालनमा रहेका स्कुलहरुकोे त बाढी नै छ ।

त्यहीं विज्डम, त्यहीं पारागन, त्यहीं अमरज्योति, नियोलोजिन, कालिका, न्यातापोल, समता, रोम्बस, इष्ट प्वाइन्ट । एउटा स्कुल भेट्न दुई चार पाइला चाले पुग्छ । एक मिनेट पनि हिँड्नु पर्दैन ।
कमलविनायकको कालिका उमावि र रोम्बस नेशनल स्कुल, पारागन एकेडेमी र विज्डम एकेडेमी, नियोलोजिन एकेडेमी बाटो वारि र पारिको फरकमा रहेका स्कुलहरु हुन् ।

सानो क्षेत्रभित्रै थुप्रै निजी तथा आवासीय विद्यालय थुप्रिँदै जानुमा सम्बन्धित क्षेत्रका स्रोत व्यक्ति, विद्यालय निरीक्षककको लापरबाही नै रहेको शिक्षाकर्मीहरु बताउँछन् । यी विद्यालयहरुको अवस्थिती हेर्नासाथ शिक्षा मन्त्रालयले निर्धारण गरेको विद्यालय नक्सांकनको ठाडो उलंघन भएको प्रष्टै देखिन्छ ।

फाइदा के बेफाइदा के ?

एकै ठाउँमा धेरै विद्यालय हुँदा विद्यालयहरुबीच पढाइमा भन्दा अन्य कुरामा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको कमलविनायक स्थित पारागन एकेडेमीका प्रिन्सिपल पुण्यराम कवांले बताए ।
‘भित्ता नै जोडिने गरी स्कुल हुँदा दुबै स्कुललाई घाटा भएको छ,’ उनले भने, ‘हुन त स्कुलहरुको आआफ्नै क्याचमेन्ट एरिया छ तैपनि यस्तो हुनु राम्रो कुरा होइन ।’

कवांकै विद्यालयसँग जोडिएको नियोलोजिन एकेडेमीका प्रिन्सिपल मणि अमात्य पनि त्यसरी स्कुल चलाउनुपर्दा फाइदा भन्दा बेफाइदा नै बढी भएको बताउँछन् ।

‘स्कुलहरु एकै ठाउँमा थुप्रिँदा विद्यार्थी खोज्नका लागि टाढाटाढा सम्म जानुपर्ने बाध्यता रहेको छ,’ उनले भने, ‘यसले गर्दा स्कुल चलाउन आर्थिक भार पर्ने गरेको छ ।’

नितान्त व्यापारिक तवरले सञ्चालनमा रहेका यस्ता विद्यालयहरुबाट प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा स्रोतव्यक्ति, विनिदेखि लिएर शिक्षा अधिकारीलाई समेत ‘आर्थिक’ तवरले फाइदा पुगेको विद्यालय सञ्चालकहरु नै बताउँछन् ।

‘विद्यालयसँगै टासिँने गरी अर्को स्कुल आएको जानकारी गराउँदा पनि सम्बन्धित निकाय नदेखेको जस्तै गरिरहेको छ’, एक विद्यालयका प्रिन्सिपलले भने, ‘ विद्यालय सञ्चालकहरुले स्रोत व्यक्तिदेखि विनि, जिशिअ समेतलाई आर्थिक रुपमा सहयोग गरेकैले सम्भव भएको हो ।’

सरकारी नियम अनुसार विद्यालय खोल्न तथा स्थानान्तरण गर्नका लागि कुन ठाउँमा विद्यालय सञ्चालन गर्ने हो वा स्थानान्तरण गर्ने हो सोही ठाउँमा पहिले स्थापना भएका विद्यालयसँग अनुमति लिनु आवश्यक छ । तर नयाँ ठाउँमा आउने विद्यालयले नजिकैको स्कुलबाट सिफारिश लिनुकोे सट्टा अन्यत्रकै स्कुलको सिफारिशमा स्कुल स्थानान्तण वा नयाँ खोल्ने गरेका छन् । ‘अस्वस्थ प्रतिस्पर्धा नै गर्छु भन्ने मनसायले स्कूल सञ्चालन गर्ने सोचका व्यक्तिहरुको कारण पर्खालमात्र छुटिने गरी स्कुल सञ्चालन भइरहेका हुन् ।’ सूर्यविनायकस्थित एक स्कुलका प्रिन्सिपलले नाम उल्लेख नगर्ने सर्तमा भने ।
पाइलै पिच्छे विद्यालय रहनु अवैज्ञानिक हो । तर, स्कुल खोल्नु, स्थानान्तरण गर्नु व्यापारिक कामजस्तै भएको छ । त्यसैले एकै ठाउँमा धेरै स्कुलहरु थुप्रिएको प्रिन्सिपलहरु नै स्वीकार्छन् ।

‘स्रोतव्यक्ति, विद्यालय निरीक्षक नै यो विषयमा मौन रहन्छन्, लिखित उजुरी  दिँदा पनि त्यसबारे थाहा नभएको प्रतिक्रिया दिन्छन्’, व्यासीस्थित एक विद्यालय सञ्चालकले भने, ‘त्यही कारण यस्तो अवस्था आएको हो ।’

शिक्षा कार्यालयका कर्मचारीको लाचारीपन मात्र नभएर स्कूलहरुका विभिन्न संघसगठनहरुले नै त्यस्ता विद्यालयहरुलाई बचाउने प्रवृत्तिले पनि स्कूलहरु थुप्रिएको अनुभव प्रिन्सिपल कवांसँग छ ।
गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा दिने दाबीसहित स्कुलैसँग जोडिने गरी अर्को स्कुल खोल्दा एउटा स्कुलको हल्लाले अर्को स्कुलको पढाइमा बाधा पु्याइरहेको स्थिति छ । यति मात्र नभएर कतिपय स्कूलका विद्यार्थीबीच पढाइमा भन्दा झैझगडामा प्रतिस्पर्धा समेत हुने गरेको छ ।

मौन जिशिका

यस्तो बेथिति भएर शैक्षिक क्षेत्र अस्तव्यस्त भए पनि यसबारेमा जिल्ला शिक्षा कार्यालय भने मौन छ । यो विषयमा आफू पनि जानकार नै रहेको बताउँदै विद्यालय निरीक्षक विमल निरौला र वागीश्वरी अगुवा स्रोतकेन्द्रका स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्यले कारबाही सन्दर्भमा ‘खै, के भन्ने’ भन्ने जवाफ दिए ।

स्रोतव्यक्ति कर्माचार्यले एउटा विद्यालय र अर्को विद्यालयबीच निश्चित दूरी हुनुपर्ने मापदण्ड भएको तर त्यसको कार्यान्वयन भने भक्तपुरमा हुन नसकेको स्वीकार्दै यो विषयमा शिक्षा कार्यालयले अहिलेसम्म केही प्रक्रिया नथालेको स्वीकार गर्दै जिपिएस भने गरेको जानकारी दिए ।

यसरी संस्थागत रुपमा खुलेका विद्यालयहरुका कारण संस्थागत विद्यालयलाई नभई सो क्षेत्रका सामुदायिक विद्यालयलाई असर पुग्ने गरेको छ । जसका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको छ भने संस्थागतमा थुप्रिने क्रम बढिरहेको छ । सो सन्दर्भमा स्रोतव्यक्तिहरुले वर्सेनी स्कुलहरुको विषयमा जिशिकामा प्रतिवेदन नै बुझाउने गरेको दाबी गरेका छन् । अझ कतिपय स्रोत व्यक्तिहरुले ‘स्कुलै खोलेको हो’ भनेर समेत टार्ने गरेको कारण पाइलैपिच्छे स्कुल भएको विद्यालय सञ्चालकहरु बताउँछन् ।

प्रकाशित मिति २०७३ भदौ २३ गते

प्रतिक्रिया