काठमाडौं - सरकारले डा. लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन गरेको छ । आयोगले मातृभाषाहरुको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताबारे सरकारलाई सुझाव दिने छ । यस्तै आयोगले सरकारी कामकाजको भाषाको मान्यता पाउन पूरा गर्नुपर्ने आधार तय गर्दै पाँच बर्ष भित्र सरकारलाई सिफारिस गर्नेछ ।
संविधान जारी भएको एक बर्ष भित्र आयोग गठन गर्ने व्यवस्था अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अवस्थीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो । संविधानको धारा २८७ मा भएको बयवस्था अनुसार ६ बर्षको अवधि रहेको आयोगका सदस्यहरुको टुङ्गो लागेको छैन । अवस्थी नेपाल सरकारका सचिव हुन् । लामो समय शिक्षा मन्त्रालयमा विताएका अवस्थी गएको साउन २१ गते सचिवमा बढुवा भएर मध्यमाञ्चल प्रशासकको रुपमा कार्यरत छन् ।
२०४२ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका अवस्थीको यो नियुक्ति सचिवको हैसियतमा भएको हैन । उमेर हदका कारण आउँदो असोज २९ गते उनको अवकास हुने छ । विचमा दशैं र शनिवार परेकाले ३६ दिन पछि अवकास पाउने भएपनि उनले सचिवका रुपमा २५ दिन मात्रै काम गर्न सक्ने छन् । आयोगको अध्यक्षको नियुक्ति लिनु अघि उनले सचिवबाट राजिनामा गर्नु पर्ने छ ।
'सरकारले मलाई आयोगको अध्यक्ष बनाएको भन्ने कुरा मैले पनि सुने, भाषा भन्न्े कुरा गम्भिर विषय भएकोले अव कसरी अघि बढ्ने भन्ने कुरा बृहत छलफल गरेर तय गर्ने छु' उनले एडुखबर संग भने, 'भाषा भन्ने कुरा शिक्षाको माध्यमको कुरा भएकोले ठूलो आन्तरिक तयारी, गहन चिन्तन र विचार गरेर अघि बढ्नु आवश्यक छ ।'
प्रकाशित मिति २०७३ साउन २३ गते
प्रतिक्रिया