काठमाडौं - लामो समय देखि खाली रहेको शिक्षा विभागको महानिर्देशकमा बाबुराम पौडेल र राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा सूर्यप्रसाद गौतमको सरुवा भएको छ । विभागका तत्कालिन महानिर्देशक खगराज बराल र बोर्डका तत्कालिन सदस्य सचिव डा. लवदेव अवस्थीको सचिवमा बढुवा भएसँगै शिक्षाका यी दुई महत्वपूर्ण निकाय नेतृत्व विहीन अवस्थामा थिए । जसले गर्दा शिक्षाका योजना तर्जुमा र परीक्षासंग सन्बन्धित काममा प्रभाव परेको थियो ।
मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेसंगै यी निकायले नेतृत्व पाएका हुन् ।
मन्त्रालयले विभागका बैकुण्ठ अर्याललाई मन्त्रालय र देवकुमारी गुरागाईलाई शैक्षिक जनशक्ति विकास केन्द्रमा सरुवा गरेको छ ।
यस्तै परीक्षा नियन्त्रक कृष्ण काप्रीलाई पाठ्यक्रम विकास केन्द्र र शैक्षिक जनशक्तिका अणप्रसाद न्यौपानेलाई विभागमा सरुवा गरेको छ ।
विभागमा महानिर्देशक सहित अन्य २ जना सहसचिवको दरबन्दी छ । जस अनुसार महानिर्देशक पौडेलले यस अघिनै विभागमा रहेका मित्रनाथ गर्तौला र न्यौपानेको साथमा विभाग हाँक्ने छन् ।
दैनिक शैक्षिक प्रशासन संगै नयाँ शिक्षा ऐनको कार्यान्वयन, संघीयतामा शिक्षाका मुद्धा आफ्नो प्राथमिकतामा पर्ने पौडेलले बताए ।
२०४९ सालमा अधिकृतबाट सेवा प्रवेश गरेका पौडेल ०५५ सालमा उपसचिव र २०६७ सालमा सहसचिव भएका हुन् । यस्तै २०५१ सालमा सुव्वाबाट सेवा प्रवेश गरेका गौतम ०५३ सालमा अधिकृत, ०५९ सालमा उपसचिव र ०६६ सालमा सहसचिव भएका हुन् ।
नयाँ शिक्षा ऐन आएसंगै तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर परीक्षाबोर्ड गठन भएका थियो । तर, तत्कालिन सदस्य सचिव अवस्थीको बढुवा संगै गठन भएको ३९ औं दिनमै बोर्ड खाली भएको थियो ।
पढ्नुहोस् : गठन भएको ३९ औं दिनमै खाली भयो परीक्षा बोर्ड, नतिजा प्रकाशनको काम प्रभावित
तत्कालिन परिषद्का कर्मचारीको छवी त्यति राम्रो छैन । परिषद्का अधिकांश कर्मचारीहरु काम कम राजनीति ज्यादा गर्नेका रुपमा चिनिन्छन् । बोर्ड बनेपछि पनि तिनै कर्मचारीको हालिमुहाली रहेकोले कर्मचारीको चंगुलबाट मुक्त भएर काम गर्न गौतमलाई चुनौती छ । परीक्षा बोर्डमा काम गर्नु चुनौती पूर्ण रहेको आफूलाई समेत थाह भएको गौतम बताउँछन् । 'शिक्षा ऐन आएसंगै गठन भएको बोर्डले खास गति लिन सकेको छैन' गौतमले भने 'सबै भन्दा पहिला नयाँ सेटअपमा बोर्डलाई कृयाशिल बनाउने तर्फ ध्यान केन्द्रित गर्छु ।'
प्रतिक्रिया