Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

सामुदायिक विद्यालय किन कमजोर भयो ?

शुक्रबार, ११ बैशाख २०७२

विद्यार्थी टिकाउनै गार्‍हो

काठमाडौं ११ बैशाख/नया शैक्षिक सत्रको सुरुसगै मुलुकभरका विद्यालयमा भर्ना अभियान चलेको छ । तर, भर्ना भएका विद्यार्थी टिकाउन भने चुनौती छ । अन्यत्रजस्तै  पश्चिमका जिल्लामा पनि सामुदायिक विद्यालयमा विद्यार्थी घटेका छन् । कतै विद्यार्थी नै भर्ना हुन आएका छैनन् भने आएका पनि शैक्षिकसत्रको अन्त्यसम्म टिक्दैनन् । यसो हुनुमा शिक्षाका अधिकारीहरू कमजोर व्यवस्थापन र शिक्षकको मनोवृत्तिलाई दोष दिन्छन् । 

कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी भन्छन्, ‘सामुदायिक विद्यालयमा विद्यार्थी नटिक्नु, स्तर खस्कनुको मूल कारण काम गर्ने मनोवृत्ति हो, सुधार चाहने स्कुलले परिवर्तन गरेर देखाएका उदाहरण पनि छन् ।’ पोखराका आधा दर्जन यस्ता विद्यालयले गुणस्तर सुधारेर सामुदायिक पनि निजीभन्दा कम छैनन् भनेर देखाएको उनले दाबी गरे । 

कमजोर व्यवस्थापन र कमजोर शिक्षक भएका विद्यालयलाई सधैं विद्यार्थी टिकाउन ‘हम्मे’ हुने गरेको उनको भनाइ छ ।  

पश्चिमाञ्चलका १६ जिल्लामा शिक्षाका लागि वार्षिक बजेट करिब २ करोड विनियोजन हुने गरेको छ । तर, लगानी अनुपातमा प्रतिफल भने निरन्तर खस्कदो छ । क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक खेमराज पौडेलले भने ‘सामुदायिकका शिक्षक कुनै न कुनै पार्टीमा आबद्ध भएर राजनीति गरिरहेका छन् । पढाइप्रति चासो छैन । शिक्षकको एकमत भएर ‘एक्सन ओरिन्टेड’ टिम हुदैन । कारण यसभित्रै छ ।’ उनका अनुसार विशेषगरी हेडमास्टरको हातमा सबै निर्भर रहनु, सही व्यवस्थापन र शिक्षकको टिम बनाएर अघि बढ्न नसक्नु नै सामुदायिक विद्यालयका कमजोरी हुन् ।

 

सामुदायिकमा समस्या के ? 

–कमजोर व्यवस्थापन र लापरबाह शिक्षक

–व्यवस्थापन समितिमा अर्पाप्त सदस्य

–शिक्षकहरुको राजनीतिक मोह

–बसाईसराई

–अभिभावकहरुमा चेतना अभाव

–आर्थिक विपन्नता

–भौगोलिक विकटता

–साना कक्षामा विद्यार्थीको झन अभाव 

–जिशिअहरुमा सुधारको योजना नहुनु

 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

 

 

प्रतिक्रिया