Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

पाठ्यपुस्तक अपुग

विहीबार, १० बैशाख २०७२

काठमाडौं १० वैशाख / नयाँ शैक्षिक शत्रसँगै विद्यालयमा पठनपाठन सुरु भए पनि सुदूरपश्चिमाञ्चलमा छात्रछात्राले सबै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।पाठ्यपुस्तकको अभाव भएपछि पठनपाठन प्रभावित भएको छात्रछात्राले बताएका छन् । खासगरी कक्षा ८ मा पढाइ हुने सबै पाठ्यपुस्तक र कक्षा ६ को अङ्ग्रेजी, ७ कक्षाको नेपाली तथा नैतिक शिक्षा १० कक्षाको अर्थशास्त्र अपुग भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

यस वर्ष कक्षा आठको पाठ्यक्रम परिवर्तन भई समयमै छपाई र बिक्री वितरणको काम हुन नसकेकाले पनि पाठ्यपुस्तकको अपुग भएको बताइएको छ । विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण सहज बनाउन जनक शिक्षाले यस वर्षदेखि सबै जिल्ला सदरमुकाममा अस्थायी डिपो कार्यालय सञ्चालनमा ल्याई पाठ्यपुस्तकको बिक्री वितरण गरिरहेको छ ।

यसबाहेक जिल्लामा नियुक्त भएका पुस्तक बिक्रेतामार्फत पनि छात्रछात्रालाई पाठ्यपुस्तक बिक्री वितरण हुँदै आएको छ । वैशाख ८ गतेसम्ममा जनक शिक्षाले सुदूरपश्चिममा विभिन्न कक्षाका १३ लाख ५० हजार थान पुस्तक बिक्री गरिसकेको छ । एक लाख ५० हजार थान मौज्दात रहेको र अझै एक लाख थान पाठ्यपुस्तक अपुग भएको कार्यालयका प्रमुख योगेन्द्र भट्टले बताउनुभयो ।

दशकौँदेखि साझा प्रकाशनद्वारा बिक्री वितरण हुने गरेका विद्यालयका पाठ्यपुस्तक यस वर्षको शैक्षिक शत्रबाट जनक शिक्षा आफैँले पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेको हो ।

साझा प्रकाशनले जनक शिक्षालाई किताब खरिद गरेबापत भुक्तानी दिनुपर्ने करिब रु १५ करोड भुक्तानी नगरेका कारण यस शैक्षिक शत्रदेखि जनक शिक्षाले पुस्तक बिक्री वितरणको जिम्मेवारी नदिएको प्रमुख भट्टले बताउनुभयो ।

राष्ट्रिय समाचार समितिको खबर गोरखापत्रले छापेको छ ।

प्रतिक्रिया