Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

एसएलसीका कापीमा चिठीका पुलिन्दा

विहीबार, १० बैशाख २०७२

काठमाडौं १० वैशाख / “गणित विषयमा म कमजोर छु । म पास हुन सकिनँ भने परिवारले विवाह गरिदिन्छन् । अझै पढ्न चाहन्छु, त्यसैले मलाई पास गराइदिनुस्” – यस्ता अनुरोधसहितका पत्र हिजो आज शिक्षकहरूले दैनिकजसो पढ्न पाइरहेका छन् ।

जिल्ला शिक्षा कार्यालय लमजुङमा एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षणका क्रममा दैनिकजसो यस्ता पत्र भेटिने गरेका छन् ।

उत्तरपुस्तिका परीक्षण गर्दा कापीमै रूपैयाँ, एसएलसी उत्तीर्ण नभएमा घरमा विवाह गरिदिने धम्की आएको र पास गरिदिन अनुरोध गर्दै माया भाव व्यक्त गरिएका रमाइला पत्र प्राप्त हुने गरेको शिक्षकहरू वताउँछन् ।

अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान लगायत विषयका उत्तरपुस्तिकाभित्र रु. पाँचदेखि एक रूपैयाँसम्मको नोट फेला परेको त्रिभुवन विद्याश्रम मावि भुजुङका प्रधानाध्यपक खेमराज खतिवडाले बताउनुभयो ।

एसएलसी परीक्षाको कापी जाँच्ने काम शनिबारदेखि देशभरि सुरु भएको थियो । कापी जाँच्नका लागि देशभरका ६४ केन्द्र तोकिएका छन् ।

उत्तरपुस्तिका जाँच्ने विषयगत शिक्षक शिक्षिकाका लागि ३६ बुँदे आचारसंहिता बनेको छ तर कापी जाँच केन्द्रमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

आचारसंहितामा कापी जाँच्ने कोठाभित्र कुनै पनि प्रकारका ब्याग र मोबाइल लान नपाइने स्पष्ट व्यवस्था भएपनि शिक्षकहरूले त्यसको उल्लङ्घन गरेको पाइएको छ । शिक्षक शिक्षिका आफ्ना झोला आफूसँगै राखेर कापी जाँच गरिरहेका छन् । उनीहरूले मोबाइलमा खिच्न या झोलामै उत्तरपुस्तिका बोकेर घर लैजान चाहेमा पनि सक्ने स्थिति देखिएको छ ।

कापी जाँच गर्ने कोठा गोप्य र सफा हुनुपर्नेमा लमजुङमा भने सेवाग्राही जति बेला पनि जान सक्ने, कार्यालयका अन्य धेरै सामाग्री राखिएको कोठा उपलब्ध गराइएको देखिन्छ । कापी जाँच भइरहेको कोठामा प्रवेश गर्न रोक्नका लागि सुरक्षा गार्ड समेत राखेको पाइँदैन ।

शिक्षा कार्यालयका शाखा अधिकृत सुभास आचार्यले भने आचारसंहिता अनुसार नै उत्तरपुस्तिका जाँच गरिएको दावी गर्नुभयो ।

लमजुङमा पूर्वी पहाडी जिल्लाबाट नियमिततर्फ दुई हजार ९४२ र एक्जाम्टेडतर्फ एक हजार ५२५ परीक्षार्थीका उत्तरपुस्तिका आएको शिक्षा कार्यालयले जनाएको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया