Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

शैक्षिक सत्रको बीचमा भर्ना अभियान चलाउन निर्देशन

बुधबार, ०९ बैशाख २०७२

काठमाडौं ९ वैशाख / कर्णालीलगायत केही हिमाली जिल्लामा शैक्षिक सत्र सुरु भएको दुई महिनापछि विद्यालय भर्ना अभियान चलाउन सरकारले निर्देशन दिएपछि विद्यालयहरू अन्योलमा परेका छन् । भर्ना अभियान सकिएर धमाधम पढाइ भइरहेको अवस्थामा पुन: अभियान चलाउन शिक्षा विभागले निर्देशन दिएको हो ।

दुर्गम हिमाली जिल्लामा १ फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । यी जिल्लामा १५ फागुनसम्म भर्ना अभियान सञ्चालन हुने गरेको थियो । तर, चालू शैक्षिक सत्रमा शिक्षा विभागले बल्ल भर्ना अभियान सुरु गर्न निर्देशन दिएपछि अन्योल भएको हो ।

मानसरोवर नमुना उमाविका प्राचार्य गंगाप्रसाद भट्टले भर्ना अभियान डेढ महिनाअघि नै सकेर पठनपाठन पनि निकै अघि बढेको बताए । उनले यस्तो निर्देशनले अन्योल बढाएको गुनासो गरे । भट्टले भने, ‘सबै प्रक्रिया सकेर पढाउन थालिसक्यौँ, सबै कक्षामा प्रत्येक विषयका चारदेखि पाँच वटासम्म पाठ पढाइ भइसकेको छ, अब फेरि अभियान चलाउने पत्रले अन्योल भयो ।’ सरकारलाई आफ्नै नीतिबारे जानकारी नभएको जस्तो देखिएको उनले बताए ।

उता सर्किदेउको कोट प्राविका शिक्षक चेतन फडेराले १८ फागुनदेखि आफ्नो विद्यालयमा निरन्तर पढाइ अघि बढेको बताए । फेरि नयाँ भर्ना अभियान सुरु गर्दा अहिलेसम्म पढाएको दोहोर्‍याउनुपर्ने उनको भनाइ छ ।

हुम्लाका निमित्त जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर शाहीले भर्ना अभियान सञ्चालन गर्ने निर्देशनसँगै २० हजार बजेट पनि आएको बताए । आफूले अभियान सञ्चालन नगरे आफ्नो कार्य सम्पादनमा कमजोरी देखिने भएकाले बाध्य भएर सञ्चालन गर्नुपरेको उनको भनाइ छ । शाहीले भने, ‘सबै विद्यालयमा पढाइ धेरै अघि बढिसकेको छ, सरकारको नीतिगत निकायमा बसेकाले आफँैले गरेका विगतका निर्णयमा ध्यान नदिएका कारण यो समस्या आएको हो ।’

जनकल्याण निमाविका शिक्षक मानबहादुर महताराले एक दिने वा दुई दिने भर्ना अभियानले बाँकी बालबालिका विद्यालय नआउने बताए । उनले भने, ‘आउने विद्यार्थी यसअघि नै आइसके, सत प्रतिशत बालबालिकालाई विद्यालयमा ल्याउने हो भने सरकारले बालबालिका र अभिभावकको गाँसबासको समेत व्यवस्था गर्नुपर्छ ।’ आर्थिक अवस्था दयनीय हुँदा ती अभिभावकले विद्यार्थी पठाउन नसकेको उनको भनाइ छ ।

भारी हिमपात र अत्यधिक जाडोले आवतजावतमा समस्या हुने भन्दै सरकारले ०५८ सालदेखि कर्णालीका हुम्ला, मुगु, जुम्ला कालिकोट र डोल्पामा १ फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने व्यवस्था गरेको थियो ।

नवराज महतारा/नयाँ पत्रिका : http://www.enayapatrika.com/2015/04/3125

प्रतिक्रिया