Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

मोरङका निजी विद्यालय अनिश्चितकालकालागि बन्द

मंगलबार, ०८ बैशाख २०७२

विराटनगर, वैशाख ७ - शुल्क वृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनले सोमबार मोरङका निजी विद्यालय अनिश्चितकालकालागि बन्द गरेका छन् । यहाँका करिव ३ सय नीजि विद्यालयमा एकलाख भन्दाबढी बालबालिका अध्ययनरत छन् । यस सत्रको पहिलो दिनमै विद्यार्थी विद्यालय जान पाएनन् ।

विद्यालय बन्द खुलाउन र बढेको शुल्कलाई समायोजन गर्न प्याब्सन पदाधिकारी, अविभावक, आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधि र शिक्षाको पदाधिकारीबीच सोमबार नै भएको वार्ता कुनै निष्कर्षविना सकिएपछि समस्या झन् बढेको छ ।

वार्तामा विद्यार्थी संगठनका प्रतिनिधिले २०६८ सालको शुल्क लागू गर्नुपर्ने अडान राखे । वार्तामा सहभागी प्याब्सन मोरङका सचिव राजेश आचार्यका अनुसार विद्यार्थी संगठनका प्रतिनिधिले त्यस्तो अडान राखेपछि प्याब्सन पदाधिकारीले ०६८ सालको शुल्कमा विद्यालय सञ्चालन गर्न नसक्ने बताएपछि बन्द विद्यालय तत्काल खुल्ने सम्भावना टरेर गएको छ ।

यहाँका नीजि विद्यालयले १५ देखि ६० प्रतिशतसम्म शुल्क वृद्धि गरेका छन् । नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष गोपाल सेढाईले भने, 'बढेको शुल्क फिर्ता लिएर २०६८ सालको शुल्क लागू नगरेसम्म नीजि विद्यालय बन्द भइहन्छ ।'

बढेको शुल्क कार्यान्वयन नगर्ने र पुरानै शुल्कमा विद्यार्थी पढाउने केन्द्रको निर्देशन भएपनि यहाँका विद्यालयले आफूखुशी शुल्क वृद्धि गरेकाले समस्या भएको शिक्षा अधिकारी दिनेश श्रेष्ठको भनाइ छ । उनका अनुसार नीजि विद्यालयले अहिले वृद्धि गरको शुल्क लिन पाउँदैनन् । यहाँका विद्यालयले प्रावि तहमा मासिक १ हजार ३ सय, निमावि तहमा १ हजार ७ सय र मावि तहमा २ हजार १ सय शुल्क तोकेका छन् ।

शिक्षा अधिकारी, विद्यार्थी संगठन प्रतिनिधि, अविभावक र प्याब्सन, एन प्याब्सनका प्रतिनिधिको मौखिक सहमतिमा उक्त शुल्क कायम गरिएको प्याब्सन मोरङका सचिव आचार्यको दाबी छ ।

२०६८ सालमा प्रावि तहमा १ हजार, निमावि तहमा १ हजार २ सय र मावि तहमा १ हजार ५ सय मासिक शुल्क थियो ।

विनोद भण्डारी : http://www.ekantipur.com/np/2072/1/7/full-story/407628.html

प्रतिक्रिया