Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

एसएलसी दिएका ३३ सय विद्यार्थी अन्योलमा

सोमबार, ०७ बैशाख २०७२

काठमाडौं : विद्यालय तहमा प्राविधिक विषय पढेर एसएलसी दिएका तीन हजार दुई सय ८८ जना विद्यार्थीले अब कुन विषय पढ्ने भन्ने अन्योल देखिएको छ।
 
विद्यालय तहदेखि नै व्यावसायिक शिक्षा सञ्चालन गर्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) अनुसार कक्षा नौमा गत वर्षदेखि प्राविधिक विषय पढाइ थालेको थियो।
 
मुलुकभरका ९९ विद्यालयमा प्राविधिक विषय पढेका तीन हजार दुई सय विद्यार्थीले यस वर्ष एसएलसी दिएका छन्।
प्राविधिक विषयबाट एसएलसी दिए पनि उनीहरूले थप अध्ययन कहाँबाट पूरा गर्ने भन्ने विषयमा अझै निक्र्योल भएको छैन।
 
एसएलसी उत्तीर्ण भएपछि विद्यार्थीले उच्चशिक्षामा प्राविधिक विषय तीन वर्ष पढ्नुपर्छ। एसएसआरपीले कक्षा ११ र १२ लाई पनि विद्यालय संरचनामा गाभेको छ।
 
यस अवधारणाअनुसार एसएलसी उत्तीर्ण भएपछि प्राविधिक धारका विद्यार्थीलाई थप अध्ययन पनि एसएलसी परीक्षा दिएको विद्यालयबाट नै गराउनुपर्छ।
 
कक्षा ११ र १२ लाई विद्यालय संरचनामा गाभ्ने सैद्धान्तिक निर्णय भए पनि शिक्षा ऐन संशोधन नहुँदा सामुदायिक विद्यालयमा एसएलसीपछि प्राविधिक विषयको पढाइ सञ्चालन गर्न सकिएको छैन। अहिलेको शिक्षा ऐनले कक्षा १० सम्मको शिक्षालाई मात्र समेटेको छ।
 
कक्षा ११ र १२ को पढाइ सञ्चालनका लागि छुट्टै उच्च माध्यमिक शिक्षा ऐन ल्याइएको थियो। यही ऐनका आधारमा गठन भएको उच्च माध्यमिक शिक्षा परिषद्ले ११ र १२ को पाठ्यक्रम बनाएर पढाइ तथा परीक्षा सञ्चालन गरिरहेको छ। परिषद् ऐनमा एसएलसीपछि दुई वर्षको शैक्षिक कार्यक्रम मात्र सञ्चालन गर्ने उल्लेख छ।
 
तीनवर्षे कार्यक्रम सञ्चालन गर्न परिषद्को पनि ऐन संशोधन गर्नुपर्ने हुन्छ। परिषद्का सदस्यसचिव नारायण कोइरालाले भने, 'तत्काल परिषद् ऐन संशोधन गरेर तीन वर्षे प्राविधिक विषयको पाठ्यक्रम निर्माण तथा पढाइ सञ्चालन गर्न सकिँदैन।'
 
मन्त्रालयका सहसचिव लवदेव अवस्थीले शिक्षा ऐन संशोधन नहुँदा धेरै समस्या आएको बताए। उनले भने, 'यही समस्याका कारण प्राविधिक विषयका विद्यार्थीलाई उच्चशिक्षा अध्ययनका लागि स्पष्ट बाटो देखाउन कठिन भएको हो।'
 
 तत्काल ऐन संशोधन भए पनि कक्षा ११ र १२ मा पढाइ हुने विषयको पाठ्यक्रम निर्माण, जनशक्ति खोजी तथा विद्यालयका भौतिक संरचना जुटाउन कठिन देखिएको छ।
 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भने आफूलाई बेवास्ता गरेर मन्त्रालयले व्यावसायिक शिक्षाका लागि छुट्टै स्कुल खोल्न खोजेको आरोप लगाएको छ।
 
'प्राविधिक विषय पढाउन स्थापना गरिएको सीटीईभीटी हुँदाहुँदै विद्यालय तहमा अर्को प्राविधिक विषय किन चाहियो?' परिषद् सदस्यसचिव डा. रामहरि लामिछानेले भने, 'शिक्षा मन्त्रालयका दुईचारजना व्यक्तिको स्वार्थका कारण सीटीईभीटीलाई मास्न खोजिएको छ।'
 
संसदीय समितिको निर्देशन
 
संसद्को महिला, बालबालिका, समाजक ल्याण, जेष्ठ नागरिक तथा शिक्षा समितिले प्राविधिक विषयमा एसएलसी दिएका विद्यार्थीलाई थप अध्ययन गर्न के व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।
 
शिक्षा मन्त्रालय, शिक्षा विभाग, सीटीईभीटी तथा उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारीसँग आइतबार गरिएको छलफलमा चित्तबुझ्दो जबाफ नपाएपछि समितिले यस्तो निर्देशन दिएको हो।
 
समिति बैठकमा बोल्ने सभासद्हरूले अहिले एसएलसी दिएर बसेका विद्यार्थीभन्दा पनि आउने दिनमा विद्यालय तहमा प्राविधिक विषय पढ्ने लाखौं विद्यार्थीको शैक्षिक गन्तव्यको विषयमा ठोस योजना बनाउन नसकेको भन्दै मन्त्रालयका अधिकारीको आलोचना गरेका थिए।

सूर्यप्रसाद पाण्डे : http://annapurnapost.com/News.aspx/story/10649

 

प्रतिक्रिया