Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

शिक्षकले सरकारी विद्यालयमा छोराछोरी पढाउन थाले

आइतबार, ०६ बैशाख २०७२

पोखरा : सरस्वती टीका उच्च माविका प्रधानाध्यापक लालप्रसाद भण्डारीले छोरा मन्जिललाई गोल्डेन बोर्डिङ स्कुलबाट निकालेर आफूले पढाउने स्कुलमा भर्ना गरे।
 
उनीसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले पनि मर्निङ ग्लोरीमा पढ्दै गरेकी छोरीलाई आफू अध्यक्ष भएको विद्यालयमा ल्याए।
 
उनीहरू मात्रै होइन विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक संघका पदाधिकारी सबैले आफ्ना छोराछोरीलाई निजी विद्यालयबाट झिकेर उक्त विद्यालयमा भर्ना गरेका छन्।
 
जागिर, पद र नामका लागि सरकारी विद्यालयमा बस्ने तर छोराछोरीलाई बोर्डिङमा पढाउने परिपाटीले राज्यको लगानीका शैक्षिक संस्था धरासायी बन्दै गएपछि त्यसलाई रोक्न उनीहरूले सरकारी विद्यालयमा भर्ना हुने अभियान चलाएका हुन्।
 
राजनीतिक भागबन्डा गर्दै पद ओगट्ने तर शैक्षिकस्तर सुधारका लागि पटक्कै ध्यान नदिने प्रवृत्तिलाई रोक्दै जिम्मेवार बनाउन छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नियम बसालिएको हो।
 
'राजनीति, जागिर र पदका लागि मात्रै बस्ने तर आफ्ना सन्तानलाई बोर्डिङ पढाउने गर्दा सरकारी विद्यालय सुनसान हुँदै गए,' विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले भने, 'आफ्नै सन्तान पढ्ने भएपछि शिक्षाको गुणस्तर बढाउन सबै लागि पर्लान् भनेर बोर्डिङमा पढाउन नपाइने निर्णय गरेका हौं।'
 
प्रधानाध्यापक भण्डारीले बिहीबार साँझसम्म बोर्डिङ छाडेर एक सय २४ विद्यार्थी भर्ना हुन आएको जानकारी दिए।
 
 'केही वर्षअघिसम्म एक हजार दुई सय विद्यार्थी पढ्ने स्कुलमा अहिले तीन सय ५० मात्रै विद्यार्थी बाँकी छन्,' उनले भने, 'वर्षैपिच्छे विद्यार्थी घट्नेक्रम नरोके शुन्य हुन सक्ने भएकोले विद्यालय बचाउन आफ्ना छोराछोरीलाई यहीं भर्ना गरेका हौं।' उनले आफ्ना छोराछोरीलाई बोर्डिङमा पठाएर गाउँलेका छोराछोरालाई भर्ना गर्न लेउ भन्दै हिंड्न नैतिकताले नदिएको बताए।
 
विद्यालय परिवारका सदस्यले आफ्ना छोराछोरी सरकारीमै पढाउनुपर्ने नियम भए पनि पालना नगर्दा शिक्षाको गुणस्तर खस्केर राज्यको ठूलो लगानी खेर गएको उक्त विद्यालयका प्राचार्य डिल्लीराम बरालले बताए।
 
'कानुन भए पनि कसैले पालना नगरेकोले असल कुराको सुरुवात हामी आफैंबाट गर्नुपर्छ भनेर लागि परेका हौं,' उनले भने, 'विद्यालयलाई राजनीतिक भागबन्डा गर्ने थलो बनाएर गरिब अभिभावकका छोराछोरीको भविष्य अन्धकारमा पार्ने काम बन्द गर्न हाम्रो अभियानले मद्दत पुग्ने विश्वास लिएका छौं।'
 
विद्यालयको नेतृत्व समालेका पदाधिकारीले आफ्ना छोराछोरी सरकारीमा भर्ना गर्न थालेपछि गाउँलेले आफ्ना सन्तानलाई बोर्डिङबाट निकालेर भर्ना गर्न ल्याएका छन्। विद्यालयले समयअनुसारको शिक्षा दिन नर्सरीदेखि आठ कक्षासम्म अंग्रेजी माध्यममा पढाउने निर्णयसमेत गरेको छ।
 
५३ वर्षअघि गाउँलेको श्रमदान र लगानीमा स्थापित विद्यालयमा अहिले बीबीएसम्म पढाइ हुन्छ। भवन २४ कोठाको छ। शिक्षक, शिक्षिका र कर्मचारी गरेर ३२ भन्दा बढी कर्मचारी छन्। अघिल्लो वर्षको प्रवेशिकामा ४५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।

प्रेम नेपाली : http://annapurnapost.com/News.aspx/story/10597

प्रतिक्रिया