काठमाडौं – शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको भोलिपल्ट बल्ल शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई दिने पुरस्कारबारे निर्णय गरेको छ । मन्त्रालयले सम्बन्धित निकायले नै सम्मान गर्न र उक्त कुराको जानकारी असोज मसान्त भित्र मन्त्रालयमा दिन निर्देशन दिएको हो ।
यस अघि मन्त्रालयले जिल्लाको सिफारिसका आधारमा सूचना निकालेर केन्द्रबाटै पुरस्कृत गर्दै आएको थियो । मन्त्रालयले पदक तथा छात्रवृत्तिसम्बन्धी निर्देशिका, २०६३ अनुसार शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षाप्रेमी‚ विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी, शैक्षिक निकायमा कार्यरत कर्मचारी र विद्यालयका शिक्षक, ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा कर्मचारीहरुलाई पदक‚ प्रमाणपत्र तथा प्रशंसा पत्रबाट सम्मान गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै शिक्षा दिवस पुरस्कारलाई प्रत्यक्ष मूल्याङ्कनकर्ताद्वारा नै मूल्याङकन गरी मर्यादित‚ प्रभावकारी र जिम्मेवारी बनाउने उद्देश्य सहित सम्वन्धित निकायवाट नै पुरस्कृत गर्न सम्बन्धित निकायहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले गरेको परिपत्रमा पुरस्कारको संख्या निर्धारण गर्दा विश्वविद्यालय, विद्यालय, जिल्ला र निकायमा कार्यरत प्राध्यापक, शिक्षक, कर्मचारी (जनशक्ति) संख्याको एक प्रतिशतमा नवढ्ने गरी हुनुपर्ने, सेवा अवधि कम्तीमा ५ वर्ष पूरा गरेको हुनुपर्ने, कार्य सम्पादन र शैक्षिक उपलब्धी ५ वर्षको औसतमा तुलनात्मक रुपमा सवैभन्दा उच्च रहेको हुनु पर्ने, विद्यालय र कार्यालयमा नियमित उपस्थित रही जवाफदेही ढङ्गवाट आफ्नो पदीय जिम्मेवारी पूरा गरेको हुनुपर्ने मापदण्ड उल्लेख गरेर सूचना सार्वजनिक गरेको छ ।
विद्यालय र कार्यालयमा विशेष जिम्मेवारी लिई थप भूमिका निर्वाह गरेको हुनु पर्ने, पुरस्कारको लागि सिफारिस गर्दा कुनै फौजदारी अभियोग नलागेको ब्यक्ति हुनु पर्ने, पुरस्कृत हुने व्यक्तिले उच्च नैतिक आचरण प्रदर्शन गरेको तथा मापनयोग्य उत्कृष्ट कार्य सम्पादन गरेको हुनु पर्ने, पुरस्कार वितरणको निर्णय गर्दा भौगोलिक सन्तुलन र जेष्ठतालाई समेत ध्यान दिनु पर्ने मुख्य आधारहरु निर्धारण गरेको मन्त्रालयले जनाएको छ ।
सो पुरस्कारका लागि विद्यालयका शिक्षक तथा कर्मचारीको हकमा जिल्ला शिक्षा समितिबाट निर्णय गराउनुपर्ने, विश्वविद्यालय तथा अन्य निकायको हकमा सम्वन्धित निकायवाट निर्णय गराउनुपर्ने जनाउँदै सो पुरस्कार कुनै विशेष कार्यक्रमको अवसरमा प्रदान गर्न भनेको छ ।
प्रतिक्रिया