Edukhabar
मंगलबार, ०३ असार २०८२
खबर/फिचर

मन्त्रालय र कर्मचारीको अन्तरविरोधका कारण शिक्षा नियमावलीमा ढिलाइ

बुधबार, ०८ मंसिर २०७३

भक्तपुर - सरकार र शिक्षा मन्त्रालयका कर्मचारीबीचको अन्तरविरोधका कारण शिक्षा नियमावली निर्माणमा ढिलाइ भएको शिक्षामन्त्री धनिराम पौडेल स्वयंले संकेत गरेका छन् । पद्म माध्यमिक विद्यालयको ९३ औं र कलेजको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री पौडेलले घुमाउरो पारामा शिक्षा मन्त्रालयका कर्मचारीहरुको यथास्थितिवादी सोचले नियमावली ढिलाइ भएको बताएका हुन् ।

‘राजनीतिक रुपमा आज पञ्चायत छैन, राजनीतिक रुपमा आज राजतन्त्र छैन, राजनीतिक रुपमा एकात्मक रुपमा रहेको सोच चिन्तनहहरु छैनन्, उनले भने, ‘ तर शिक्षा क्षेत्रमा भएको यथास्थितिवादी सोचले शिक्षामा परिवर्तन आउँदैन ।’

शिक्षा ऐन आएको ५ महिना सम्म नियमावली जारी गर्न नसकेको भन्दै आलोचना भईरहेको बेला उनले ऐन संशोधनबाट नेपालको शिक्षा प्रणालीमा सुधार आउने बताउँदै त्यसका लागि नियमावली बनाउन सबै पक्षबीच रहेको अन्तरविरोध हटाउनुपर्ने पनि बताए । 

‘शिक्षा प्रणालीमा सहभागी भएका व्यक्ति–व्यक्तित्वहरु, संघ संस्थाहरु र मन्त्रालय र सरकार पनि यो अन्तरविरोध हल गर्नका लागि एक ठाउँमा उभिनु आजको आश्यकता हो,’ उनले भने, ‘जसरी गणतन्त्रको लागि, संविधान निर्माणको लागि एक ठाउँमा उभिएका थियौं, आजको शैक्षिक स्थितिको यथास्थितिलाई अन्त्य गरेर समय सामपेक्ष शिक्षा प्रणालीको लागि आजको चुनौति र यसको आवश्यकता छ ।’

आफू मन्त्री भएपछि असोज २० गते सार्वजनिक गरेको कार्ययोजनामा पौडेलले कात्तिक २५ भित्र नियमावली निर्माण गर्ने बताएपनि अहिले सम्म हुन सकेको छैन ।

सो क्रममा उनले शिक्षामा यथास्थितिवादी सोच रहँदा शिक्षामा सोचेजसरी परिवर्तन गर्न नसकेको समेत स्विकारे । सामुदायिक विद्यालयको पढाईलाई जनताको विश्वास जित्न सक्ने गरी सुधार गर्नु पर्ने पनि उनले बताए ।
शिक्षकहरुको सिकाई प्रभावकारी नहुँदा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताउँदै मन्त्री पौडेलले शिक्षकहरुको सिकाइ र भौतिक पूर्वाधार राम्रो भए सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुध्रने र त्यस तर्फ सरकारले अब ध्यान दिने पनि बताए ।

कार्यक्रममा शिक्षा सचिब शान्तबहादुर श्रेष्ठले सरकारले सार्वजनिक शिक्षामा गरेको लगानी अनुसारको प्रतिफल नआएको बताए । सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सरकारले देश भरीका एक हजार विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेको बताउँदै उनले सरकारी विद्यालयका शिक्षक, कर्मचारी र बौद्धिक वर्ग सबैले आफ्ना बालबालिकालाई सार्वजनिक विद्यालयमा पढाउने हो भने सार्वजनिक विद्यालयको गुणस्तर बृद्धि गर्न सहयोग पुग्ने बताए ।  

कार्यक्रममा भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, वैज्ञानिक शिवप्रसाद धौभडेल, नेपाली कांग्रेसका नेता दुर्लभ थापा, नेमकिपाका रमेश थापा, भलिवल संघका अध्यक्ष मनोरञ्जन शर्मा लगायतले विद्यालयलाई शुभकामना ब्यक्त गरेका थिए । विद्यालयका प्राचार्य राम हाडाले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षा मन्त्री पौडेलले विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा र जिल्ला स्तरिय भलिवल प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।  

कक्षा १ देखि स्नातकोत्तरसम्मको पढाई हुने विद्यालयमा हाल १ हजार ७ सय विद्यार्थी अध्यनरत छन् । भक्तपुर जिल्लाकै सबैभन्दा पुरानो पद्म माविलाई यसै बर्ष सरकारले नमूना विद्यालयको रुपमा छनौट गरेको छ ।

प्रतिक्रिया