Edukhabar
आइतबार, २३ बैशाख २०८१
खबर/फिचर

काफ्ले सरलाई तनाव दिएको त्यो १७०६७ रुपैंया

शनिबार, २५ मंसिर २०७३

काठमाडौं - तनहुँका शिक्षक रामनाथ काफ्लेले आफ्नो ३४ बर्षे शिक्षण जीवनमा धेरै हण्डर ठक्कर बेहोरे । स्थापनाकाल देखि विद्यालयलाई निमावि तह सम्म पुर्याउँदा भोगेका संघर्षका फेरहिस्त कति छन् कति ! तर त्यो भन्दा कयौं गुना ठूलो तनाव 'रिटायर्ड' भएपछि आईलाग्यो ।

काफ्ले सरले भोगेको वेचैनी शिक्षकले राज्यबाट पाउने सुविधासँग जोडिएको छ । अक्सर राज्यले आर्थिक रुपमा ठगेका र ठगेको अनुभूति गरेका शिक्षकका कुरा सुन्दै र पढ्दै आएका बेला उनको भोगाई भने विल्कुल फरक छ ।

हो काफ्ले सर यस्ता शिक्षक हुन् जो राज्यबाट थोरै हैन धेरै रकम पाएकोमा वेचैन भए ! र, उक्त रकम फिर्ता गर्न झन् धेरै गोता खाए । पटक पटक राजधानी र जिल्ला धाएर बल्ल तल्ल उनले उक्त १७०६७ रुपैंया सरकारी खातामा फिर्ता गरिदिएका छन् ।

राज्यको धेरै रकम खाएको थाह पाएदेखि आत्मग्लानीले जलेको बताउने काफ्ले सर उक्त रकम फिर्ता गरेपछि असाध्यै आत्मसन्तोष मिलेको बताउँछन् ।

'आत्मबाटै जागरुक बनेर समाज र देशका लागि ईमान्दार बन्नु पर्छ भनेर जीवनभर बालबालिकालाई पढाएँ अहिले आफैं राज्यको पैसा खाएर बेईमान बन्न कसरी सक्छु !' उक्त रकम राज्यलाई फिर्ता गरेपछि प्रफुल्ल भेटिएका काफ्ले सर भन्छन् ।

२०७२ माघ १० गते निवृत्त भएका काफ्ले सरले विद्यालय शिक्षक किताबखानामा आएर गत फागुन २ गते पेन्सन पट्टा बनाए । औषधोपचार र संञ्चित विदा लगायतका आवश्यक हिसाव किताव मिलाएर किताबखानाबाट झण्डै ६ लाख रुपैंयाको चेक खल्तिमा हालेर उनी घर फर्किए ।

'ठ्याक्कै रकम त याद भएन तर औषधि उपचारको करिव ४ लाख र संचित विदाको २ लाख रकम पाएको थिएँ' जीवनभर पढाएर निवृत्त हुँदा राज्यबाट पाएको रकमको मोटामोटी हिसाव किताव सम्झदैं काफ्ले सर भन्छन्, 'सञ्चयकोष र विमा वापतको रकम चाँही छुट्टै थियो ।'

तर, उनले आफूले पाएको रकममा केही गडबडको शंका गरे । जति हिसाव गरे पनि २५ दिन बराबरको विदाको रकम मरेकाटे मिलेन । घर पुगेर मसिनो गरी हिसाव गरे । उनको शंका पक्का भयो । २५ दिन विदाको रु. १७ हजार ६७ रुपैंया बोकेर उनी सिधै काठमाडौं स्थित किताबखाना फर्किए ।

उनले आफ्नो सारा वृतान्त किताबखानाका कर्मचारीलाई बताए । कर्मचारी छक्क !

पहिलोपटक कोही शिक्षक मैले पाएको रकम धेरै भयो, उक्त धेरै रकम फिर्ता गर्न पाउँ भन्दै आए पछि महानिर्देशक शेरबहादुर ढुङ्गाना पनि चित खाए ।

शिक्षकको सम्पूर्ण लगत र हर हिसावको विवरण राख्ने किताबखानाकै विवरणमा काफ्ले सरको विवरणमा कसरी यस्तो त्रुटि भयो ? भन्ने तिर भन्दा पनि उनी शिक्षकको ईमान्दारीताबाट कायल भए ।

'सरकारी शिक्षक र कर्मचारी खराब हुन्छन् भन्ने आमधारणा बनेको अवस्थामा काफ्ले सर यी मान्यता विपरित भेटिनु भयो' ढुङ्गाना भन्छन्, 'मेरो जागिरे जीवनमा त यो पहिलो घटना हो, बाँकी जीवनमा यति ईमान्दार मान्छे शायदै फेला पार्छु होला ।'

उनको ईमान्दारिताले किताबखानाका कर्मचारी जति प्रभावित भए, औपचारिक रुपमा उक्त रकम फिर्ता गर्ने कुनै आधार नभएर त्यस्तै हैरान !

'किताबखाना त रकम वितरण गर्ने निकाय मात्रै हो, यहाँ रकम बुझ्ने श्रेस्ता नै छैन, अव त्यो रकम के गर्ने भन्ने समस्या आएपछि  हामीले जिल्ला शिक्षा कार्यालय मार्फत् फिर्ता गर्न सल्लाह दिएर उहाँलाई जिल्लामै फिर्ता गर्यौं'  ढुङ्गानाले भने, 'यत्तिका लागि उहाँले जिल्ला हुँदै २-२ पटक काठमाडौं धाउनु पर्यो, आज मेरो कार्यकक्षमै आएर रकम फिर्ता गरें सर भन्दा उहाँको अनुहारमा देखिएको खुसीको चकमले म पनि खुसी भएँ ।'

किताबखानाले सुझाए अनुसार काफ्ले सर जिल्ला पुगे ।जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठलाई उसैगरी अवगत गराए । श्रेष्ठले लेखा शाखा मार्फत् महालेखा परीक्षकको कार्यालयको ११ नम्बर भौचरमा रकम दाखिला गर्ने चाँजो पाँचो मिलाईदिए ।

अनी बल्ल काफ्ले सरको मन शान्त भयो ।

'सके आफैं दिने हो, नसके पनि जीवनमा कसैको खान नपरोस् भन्ने लाग्छ'  काफ्ले सरले भने, 'त्यो रकम बुझाएपछि बल्ल मनमा शान्ति मिल्यो ।'

२०३८ साल भदौ १९ गते नियुक्त भएका काफ्ले सरले शुरुमा भिरकोट- २ मा रहेको महेन्द्रज्योती प्राविको शाखाका रुपमा भिरकोट - १, चवादी गाउँमा कक्षा १, २ र ३ का बालबालिका जम्मा गराएर पढाउन थालेका थिए । चवादीको जनघनत्व र विद्यालयको आवश्यकताले उक्त संरचनालाई २०४२ सालमा सरस्वती प्राविको नाम दिएर पठन पाठन शुरु गरेको उनैले हो । प्राथमिक तहका रुपमा स्थापना हुँदा देखि प्रधानाध्यापक रहेका काफ्ले निमाविको प्रअबाट निवृत्त भए ।  

२०१३ साल फागुन ११ गते जन्मेका काफ्ले सरलाई जिवनको उर्जावान् समय त्यही विद्यालयमा विताएर पनि होला रिटायर्ड भए पनि विद्यालयको मोहले अझै छाडेको छैन । उनी अहिले फरक भूमिकामा विद्यार्थी र गाउँको शिक्षाकै वरीपरी कृयाशिल छन् । अर्थात् गत भदौ देखि उनलाई गाउँलेले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाएका छन् ।

अर्कै विद्यालयको शाखाका रुपमा शुरु गरेको सरस्वतीको यो संरचनालाई अब माध्यमिक विद्यालय बनाउने धोको छ उनको । जीवननै शिक्षाका लागि समर्पण गरियो अव यो विद्यालयलाई हाईस्कुल बनाउने धोको छ, उनले भने ।

कक्षा ८ सम्म २ सय विद्यार्थी, सात स्थायी शिक्षक दरबन्दी र ३ जना निजी श्रोतका शिक्षक आवद्ध रहेको यो विद्यालयलाई नमूना बनाउने धोको उस्तै छ ।

'तपाई त साह्रै ईमान्दार हुनुहुँदो रहेछ, अधिकाँश ईमान्दार मान्छेको सपना र धोको पुरा भएकै देखेको छु' सम्बाददाताको यो भरोसा सुनेपछि कुराकानीको अन्त्यमा काफ्ले सरले निम्तो दिदैं भने - 'मौका मिल्यो भने एक दिन हाम्रो विद्यालय आउनस् है ।'

प्रतिक्रिया