दैलेख – जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भईरहेको छ । हरेक गाउँ विकास समितिमा पूर्ण सरसफाईको तयारी उस्तै छ । तर गाउँका विद्यालय अहिले पनि शौचालय विहिननै छन् । शौच गर्न नजिकको खोला, खोच र झाडीमा जान विद्यार्थी वाध्य छन् । ग्रामिण क्षेत्रका अधिकाँस विद्यालयहरुमा नत शौचालयको व्यवस्था छ नत शुद्ध खानेपानीको सुविधा !
जम्बुकाँध गाविसको वडा नं ४ स्थित पञ्चकोशी आधारभूत विद्यालयमा शौचालयको अभावमा विद्यार्थीलाई समस्या भएको छ । कक्षा १ देखि ५ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले भएको एउटा मात्रै जिर्ण शौचालय शिक्षक र विद्यार्थीले प्रयोग गर्दै आईरहेका छन् । सबै भन्दा बढी समस्या छात्राहरुको लागि रहेको शिक्षक भगवती भण्डारी बताउँछिन् । भएको एउटा मात्रै शौचालयमा पनि प्राय : छात्रहरु हुने भएकाले छात्राहरुले लामो समय पर्खिनु पर्ने गुनासो गरिन् । उनले थपिन् अधिकाँस समय शौचालयमा पालो नपाए पछि पढाई छुट्ने डरले छात्राहरु जंगल तिर जान बाध्य हुन्छन् ।
विभिन्न निकायमा पटक पटक पहल गर्दा पनि विद्यालयमा शौचालय निर्माण गर्न नसकिएको प्रधानध्यापक गगन भण्डारीले बताए । छुट्टिको समयमा त शौचालय जान विद्यार्थीको हुलनै लागेको हुन्छ । छात्रहरुको लागि भन्दा पनि छात्रा शौचालय छुट्टै भईदिएको भए सजिलो हुने भण्डारीको भनाई छ ।
उक्त विद्यालयमा पानीको पनि त्यत्तिकै समस्या छ । शौचालय बनाएपनि सफा राख्नका लागि पर्याप्त मात्रामा पानीको आवश्यकता पर्छ । अहिले आधा घण्टा लाएर बोकेको पानीले शौचालय सफा र स्वच्छ राख्न नसकिने शिक्षक डम्बर बहादुर शाहीले बताए ।
प्रतिक्रिया