Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

आवश्यक छ २ करोड, तयार ७० लाख मात्र !

शुक्रबार, २९ पुस २०७३

भक्तपुर– विद्यालय तहको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आजसम्ममा ७० लाखभन्दा बढी पुस्तक छाप्न सकेको छैन । आउँदो शैक्षिक सत्रमा कक्षा ६ देखि १० सम्मका लागि करिब २ करोड थान पाठ्यपुस्तक आवश्यक छ ।

केन्द्रको अहिलेको यो अवस्थाका कारण आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तक अभाव हुने निश्चित भएको छ । जनकले शैक्षिक सत्रसम्ममा पाठ्यपुस्तक छापिसक्छ भन्ने कुरामा त्यहाँका कर्मचारी मात्र नभएर केन्द्रको महाप्रबन्धकको समेत जिम्मेवारी सम्हालेका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई पनि विश्वास लागेको छैन । ‘दैनिक कम्तीमा एक लाख थान किताब छापिनु पर्नेमा अहिले मुश्किलले ३०/३५ हजार थानका दरले मात्र किताब छापिँदा पुस्तक अभाव हुने सम्भावना छ ।’ उनले भने ‘शैक्षिक सत्र आउन जम्मा एकसय दिन बाँकी छ, अहिलेसम्म आधा पनि पाठ्यपुस्तक छापिएको छैन, यस हिसाबले पनि मुश्किल छ ।’

उनले अहिलेको कर्मचारी संरचना भएसम्म हरेक वर्ष पाठ्यपुस्तक अभाव हुने आफूले थाहा पाएको बताए । उनले सो कुरा बताए पनि केन्द्रका निर्देशक कपिल पोखरेल भने आवश्यक पाठ्यपुस्तक पु¥याउने काममा केन्द्र लागेको दावी गर्छन् ।

यसैबीच केन्द्रले अहिलेसम्ममा कक्षा ६ र ७ का आवश्यक ३ लाख ५० हजार थान किताबमध्ये १ लाख ५० हजार थान, कक्षा ८ को लागि आवश्यक ४ लाखमध्ये २ लाख, कक्षा ९ को ४ लाखमध्ये ३ लाख र कक्षा १० को लागि आवश्यक ५ लाख सेटमध्ये भर्खर १ लाख सेट कितावमात्र छापेको छ ।  

जनकका निर्देशक पोखरेलले दैनिक १ लाख २५ हजार किताव नछापिए पुस्तक पु¥याउन असम्भव भएकोले सोही अनुसार कार्ययोजना बनाएको र माघ १६ गतेदेखि २४ सै घण्टा छपाइ मेसिन सञ्चालन गरिने बताए । उनले कक्षा ६, ७ र ८ का ९ वटा विषयको एक सेट र कक्षा ९ र १० को ६ वटा अनिवार्य विषय र २ ऐच्छिक विषयको १ सेट पुस्तक हुने बताउँदै अहिले कागज आइसकेकोले पुस्तक छाप्ने काममा अन्य अवरोध नभएको बताए ।

उनका अनुसार जनकले अहिले १४ वटा मेसिन चलाएर किताब छापिरहेको छ ।

प्रतिक्रिया