Edukhabar
विहीबार, २० बैशाख २०८१
खबर/फिचर

प्याब्सनमा चुनावी रन्को, ब्यावसायिक दावि गर्दै उम्मेद्वारी घोषणा

शनिबार, ०७ फागुन २०७३

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनको आसन्न महाधिबेशनका लागि विजय सम्बाहाम्फे समूहले उम्मेद्वारी घोषणा गरेको छ । आफूहरुलाई पेशागत ब्यवसायिक समूह दावि गर्दै उक्त समूहले दलगत राजनीतिबाट मुक्त प्याब्सन बनाउन आफूहरु जुटेको दावि गरेको छ ।

तर, प्याब्सनको निर्वाचनमा दलगत प्रभाव भने भित्रिसकेको छ । सम्बाहाम्फे समुह सत्ता साझेदार माओवादी र काँग्रेस निकटको समिकरणमा निर्माण भएको हो ।

पढ्नुहोस्  : प्याब्सनमा दलगत प्रतिस्पर्धा, सत्ता समिकरण अनुसार नै उम्मेद्वारी

शनिबार पत्रकार सम्मेलन मार्फत् गरिएको उम्मेद्वारी घोषणा कार्यक्रममा वर्तमान महासचिव डीके ढुङ्गानाले  वरिष्ठ उपाध्यक्ष र उपमहासचिव राजेन्द्र बानियाँले महासचिवमा उम्मेद्वारी घोषणा गरे । कार्यक्रममा बोल्दै सम्बाहाम्फेले केन्द्रीय समिति मार्फत् नै आफूले सर्व सम्मत नयाँ कार्यसमितिको घोषणा गर्न चाहे पनि त्यो वातावरण नबनाएको भन्दै कार्यसमितिको आलोचना समेत गरे ।

'म वरिष्ठ उपाध्यक्ष हुँ, अव नेतृत्व गर्ने पालो मेरो हो भन्ने लागेर केन्द्रीय समितिबाटै उम्मेद्वारी घोषणा गर्नु पर्छ भन्ने लागेको थियो, तर सम्भव भएन' उनले भने 'महाधिबेशनको ब्यवस्थापनमा जुट्नुपर्ने बेलामा पनि हामी आफ्नै उम्मेद्वारी घोषणा गर्न ब्यस्त हुनु पर्ने अवस्था आयो ।'

उनले निजी विद्यालय सञ्चालकहरुको हक हितका लागि ८ बुँदे अल्पकालिन र १० बुँदे दिर्घकालिन घोषणा पत्र समेत सार्वजनिक गरेका छन् ।

प्याब्सनलाई समृद्ध, बिज्ञ तथा प्राज्ञिक संगठन बनाउने, विद्यालयहरुको शैक्षिक विकास, लगानीको सुरक्षा, हकहितको संरक्षण, सम्र्बद्धन, स्थायित्व, निन्तरता र प्रगती गर्ने, सरकारका सम्बन्धित निकायहरुमा प्याब्सनको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्ने, नेपाललाई शैक्षिक पर्यटनको रुपमा विकास गर्ने, प्याब्सनको सबै तह तप्कामा विश्वासको वातावरण निर्माण गरेर साहसिक र जुझारु युवा नेतृत्वको बिकास गर्ने उनको घोषणा पत्रमा उल्लेख छ ।

यस्तै मोफसलमा स्थापित निजी तथा आवासीय विद्यालयलाई सुलभ ऋणका लागि आन्तरिक श्रोतको व्यवस्थापन गर्ने निजी तथा आवाशीय विद्यालयहरुले भोग्नु परेका शैक्षिक एवं प्रशासनिक अप्ठ्याराहरुलाई प्याब्सन मार्फत संस्थागतरुपमा समाधान गर्ने, नीजि तथा आवाशीय विद्यालयका संस्थापक प्रिन्सीपल तथा शिक्षक कर्मचारीहरुको वृत्ति विकासका  लागि आवश्यक तालिम, भ्रमण तथा उत्प्रेरणा प्रदान गर्ने खालका कार्यक्रमको व्यवस्थापन गर्ने, प्याब्सनको सांगठनिक संरचनामा प्रशासन परीक्षा र पाठ्यपुस्तक, छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप, अनुगमन तथा मूल्याङ्कन, स्कुल बस, कल्याणकारी कोष र साहित्य तथा संचार बिभाग बनाउने उनको घोषणापत्रमा उल्लेख छ ।

यस्तै विद्यार्थीहरु माथि लगाइएको एक प्रतिशत शिक्षा सेवा शुल्क तत्काल खारेजी गराउने, ४५ प्रतिशत आरक्षण छात्रवृत्तिमा सरकारद्वारा गरिएको विभेदमुखी निति खारेज गर्ने, दुई तिहाई अभिभावको उपस्थितिमा शुल्क निर्धारण गर्नुपर्ने भन्ने प्रावधानको खारेजी गर्ने, प्याब्सनलाई राजनीतिक दलको भातृ संगठनका  रुपमा नभई विशुद्ध पेशागत संगठनको रुपमा स्थापित गराउने, शिक्षामा राज्यको समान व्यवहार हुनु र पाउनु पर्छ भन्ने विषयमा संस्थागत स्पष्टता व्यक्त गर्दै संघर्ष गर्ने उक्त घोषणापत्रमा उल्लेख छ । उक्त घोषणा पत्रलाई कमन एजेण्डा बनाएर सरकारलाई घचघच्याउँदै यस क्षेत्रको उचित ब्यवस्थापन गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढुङ्गानाले २ सय अर्वको लगानी सुरक्षित गर्नु र निजी क्षेत्रको संरक्षण सम्बर्धन गर्न आफूहरु कृयाशिल हुने प्रतिवद्धता जनाए । यस्तै महासचिवका उम्मेद्वार बानियाँले प्याब्सनको नेतृत्व संस्था भित्रैबाट तयार गर्नु पर्ने भन्दै उपमहासचिव भएर आफूले एक कार्यकाल विताएकोले आफू महासचिवको एक्लो दावेदार भएको दावि गरे । एमाले पृष्ठभूमिका बानियाँ आफ्नो खेमाबाट महासचिव नपाएपछि अन्तिम समयमा कित्ता परिवर्तन गरेर सम्बाहाम्फे समूहमा आएका हुन् । तर उनले प्याब्सन कुनै दलको भातृसंस्था नभएको भन्दै संस्थामा राजनीतिक दलको प्रभाव पार्न नहुने तर्फ आफू सजग भएको दावि गरे ।

उपाध्यक्ष दिपिका थापाले महिला उपाध्यक्ष, र कोषाध्यक्ष ईश्वर गुरुङ्ले खुल्ला उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरे । यस्तै आशिस श्रेष्ठ, कृष्ण अधिकारी र किशोर गौतमले खुल्ला उपाध्यक्ष, निर्मल उपाध्यायले ५ नम्बर प्रदेश उपाध्यक्ष, भुवनलाल श्रेष्ठ र आरवी कटुवालले उपमहासचिव, सन्तोष न्यौपानेले कोषाध्यक्ष र गणेश पोखरेलले सहकोषध्यक्ष, विमल थापाले उपत्यका उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरे । यस्तै विष्णु लक्ष्मी सिकर्मी र संगिता सिलवालले महिला सचिव, रामहरी अधिकारीले सचिवमा उम्मेद्वारी घोषणा गरे ।

अर्का उम्मेद्वार टीकाराम पुरी समूहले भने आईतबार पत्रकार सम्मेलन गरेर आफ्नो समूहबाट उम्मेद्वारी घोषणा गर्ने जनाएको छ । दुवै उम्मेद्वारले आफुहरु  समृद्ध प्याब्सनका लागि मैदानमा उत्रिएको दावि गरेका छन् ।

पढ्नुहोस् : प्याब्सनमा तपाइँको नेतृत्व किन ? अध्यक्षका दुई उम्मेद्वारलाई प्रश्न

यसैविच प्याब्सन केन्द्रिय समितिले छुट्टै पत्रकार सम्मेलन गरेर महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सोमबार महाधिबेशनको उद्घाटन प्रधानमन्त्रीबाट गर्ने गरी निर्धारण भएको अध्यक्ष लक्ष्यबहादुर केसीले बताए । 'गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यता, समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता' भन्ने नारासाथ हुने महाधिबेशनमा २ हजार धेरै प्रतिनिधिहरुको सहभागिता हुने उनले बताए ।

महाधिबेशनले सरकारद्धारा तय गरिएका नीतिहरुका बारेमा स्पष्ट धारणा बनाई अघि बढ्ने केसीले बताए । विद्यमान ऐन नीयमहरु आफूहरुका लागि विभेदकारी र प्रतिकूल भएकोले सो विषयमा अधिबेशनमा ब्यापक छलफल गरी निष्कर्षमा पुग्ने उनको भनाई छ । खास गरी राज्यले लगाएका कर र शिक्षा ऐनमा भएका विषयका बारेमा महाधिबेशनले ब्यापक छलफल गरी निस्कर्ष निकाल्ने उनको भनाई छ ।

महाधिबेशनले संघीय संरचना अनुसार विभिन्न पदाधिकारी सहित ६७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

प्रतिक्रिया