काठमाडौं - बहुविवाहलाई नेपालको कानुनले बर्जितमात्रै गरेको छैन, अपराधै मानेको छ । देशको सामुदायिक विद्यालयका कक्षा ३ का विद्यार्थीलाई भने पछिल्लो १२ वर्षदेखि बहुविवाह बारेको एउटा भद्दा जोकजस्तो कथा पढाइँदै आएको छ । पाठ्यक्रम विकास केन्द्र र विषय समितिले त यसमा ध्यान दिएन दिएन, वर्षौदेखि पढाइ रहेका शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले समेत चासो दिएका छैनन् ।
परिणाम आज पनि विद्यार्थी ‘एक जना वृद्धका दुई श्रीमती थिए । एउटी तरुनी र एउटी बुढी थिइन् । त्यो मान्छे वृद्ध थियो । उसको कपाल केही कालो र केही सेतो थियो । तरुनी श्रीमती वृद्धको कालो कपाल मन पराउँथिन्, वृद्ध श्रीमती सेतो कपाल मन पराउँथिन् । तरुनी श्रीमतीले सेतो कपाल उखेलिदिन्थन् । वृद्ध श्रीमतीले कालो कपाल उखेलिदिन्थिन् । र अन्तमा त्यो बुढो मान्छेको न कालो कपाल भयो न सेतो कपाल ।’ पढिरहेका छन् ।
पहिलो त कक्षा ३ का केटाकेटीका लागि यो विषयवस्तु पाठ्यक्रम सुहाउँदो हो कि होइन ? लोक कथा नै पढाउने हो भने पनि हामीसित यसबाहेकका लोक कथा प्रशस्त छन् । बहुविवाहको विषयले के सन्देश दिन्छ ? पक्कै पनि वृद्धका दुई श्रीमती थिए र दुई वटा विवाह जायज रहेछ भन्ने सन्देश दिन्छ । यो सरासर गलत हो ।
मनोविज्ञानको क्षेत्रमा लामो समयदेखि क्रियाशील मनोविज्ञ गंंगा पाठक भन्छिन्, ‘अंग्रेजी भाषाको विषय हो, यसले भाषाको सीप सिकाउँदैन । उमेरगत हिसाले यो पाठ्यवस्तु बालबालिकामैत्री छैन । यसले देशको कानुनलाई नै खिल्ली उडाएको छ । यसले सेतो कपाल उखेल्नु पर्ने, कालो कपाल उखेल्नु पर्ने र त्यसका लागि दुई वटी श्रीमती चाहिने जस्तो नकारात्मक सन्देश दिन्छ ।’
उनले बालबालिकाहरुलाई कन्ष्ट्रक्टिव बनाउनुपर्नेमा डिस्ट्रक्टिव बनाउने खालको कथा राखेर पाठको उद्देश्य पूरा गर्न नसकिने बताइन् । ‘कक्षा ३ मा पढ्ने भनेको ७÷८ वर्षका हुन्छन्, तिनीहरुले सिधा बुझ्छन्, त्यही भएर त्यस किसिमको पाठ राख्नु बालमनोविज्ञानको खिल्ली उडाउने खालको छ ।’ उनले भनिन् ।
पुस्तकका लेखक प्रमोदकुमार शाह र विष्णुप्रसाद पराजुली हुन् । यो पाठ्यसामग्री ‘लाईक’ र ‘डिस्लाईक’ बुझाउन राखिएको देखिन्छ । त्यसका लागि बहुविवाहकै विषय छान्नु पथ्र्यो ?
पुस्तकका लेखक पराजुली अहिलेसम्म पाठ्यवस्तुमाथि कुनै नकारात्मक प्रतिक्रिया नआएको तर पाठ्यक्रम विकास केन्द्रले तत्काल समयानुकुल परिमार्जन गर्नु पर्ने धारणा राख्छन् । ‘लाइक र डिसलाइक बुझाउन सजिलो होस् भनेर कथा मैले नै खोजेर राखेको हुँ, यसलाई पाठ्यक्रम विकास केन्द्रले समेत उपयुक्त ठहर गरेर स्वीकृत गरेको छ’, पराजुलीले एडुखबरसित भने, ‘यसमा विषय समितिले खासै केही प्रतिक्रिया दिएको थिएन ।’
केन्द्रले सन् २००५ मा यो पाठ्यक्रम सम्पादन तथा मुद्रण गरेको हो । अनिवार्य अंग्रेजी पाठ्यपुस्तकको पृष्ठ ११ को ‘रिड’ सेक्सनमा यो कथा छ ।
हेर्नुहोस् फोटोमा रातो घेरा लगाएको ।
‘यो पाठ्यसामग्री समयानुकल जानकरी दिने पनि छैन र भाषा सिकाउने खालको पनि छैन’, प्राथमिक तहका एकजना अँग्रेजी शिक्षक घनश्याम नेपालले भने, ‘सुन्दा रमाइलो लागे पनि विषयवस्तुले दिने ज्ञान र जानकारी जेण्डर बायस्डमात्रै छैन कानुन वर्जित विषयलाइ अनावश्यक उचालिएको छ ।’ उनले सो पाठ पढाएपछि बालबालिका कक्षामा साथीभाइको टाउकाको रौं उखाल्न प्रेरित भएको बताए ।
‘बहुविवाहको विषयलाई यति सानो कक्षामा प्रवेश दिनु राम्रो होइन,’ महिला, बालबालिका कार्यालय भक्तपुरका प्रमुख नीलाकुमारी घिमिरे भन्छिन्, ‘हामी लैंगिक समानता, बहुविवाह अन्त्यको कुरा गरिरहेका छौं तर कक्षा ३ देखि बहुविवाह पढाएर केटाकेटीलाई के सिकाउन खोज्दैछौं ?’
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्री समय अनुसार मान्छे र विषयबस्तुमा आउने परिवर्तनलाई पाठ्यपुस्तकले पनि आत्मसात गर्नु आवश्यक रहेकोले यस्ता त्रुटिहरुलाई सुधार गरेर अघि बढ्ने बताउँछन् । कक्षा १ देखि ३ सम्म अब बन्ने एकिकृत पाठ्यपुस्तकमा यो विषयलाई सुधार्ने उनको प्रतिवद्धता छ ।
'यस बारेमा अहिले सम्म कसैले पनि कुरा उठाएको थिएन, हामीले पनि ध्यान नदिएकै रहेछौं, यसले लैङ्गिक, समाबेशी लगायत अन्य विषयहरुमा कति धेरै संवेदनशील रहेछ भन्ने पनि पुष्टि गरेको छ' उनले भने, 'एक दश अघिको समाज र अहिलेको समाजमा धेरै परिवर्तन भएको कुरालाई यो विषयले पुष्टि गरेको छ ।'
समाज जसरी परीवर्तनशील छ पाठ्यपुस्तक पनि सोही अनुसार तयार गर्ने कुरामा केन्द्र प्रतिवद्ध रहेको उनको भनाई छ ।
प्रतिक्रिया