Edukhabar
मंगलबार, १० भदौ २०८२
खबर/फिचर

राष्ट्रिय शिक्षा नीति लागू गर्न माग

शनिबार, २६ चैत्र २०७३

भक्तपुर–विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकहरुले राष्ट्रिय शिक्षा नीति लागू गर्न माग गरेका छन् । भक्तपुरमा भएको नेपाल प्राध्यापक समाजको पहिलो भेलामा सहभागी प्राध्यापकहरुले सो माग गरेका हुन् ।
भेलामा सहभागी भएका प्राध्यापकहरुले संघीयतामा शिक्षा व्यवस्थापनको खाकाबारे टुंगो नलागेको अवस्थामा देशको उत्पादन प्रणालीमै सहयोग पुग्ने शिक्षाको उद्देश्य हुनुपर्ने बताउँदै त्यसको लागि शिक्षालाई उत्पादन श्रमसँग मिलाउने शिक्षा नीति लागू गर्नुपर्ने बताएका हुन् ।
‘श्रमप्रतिको सम्मान जगाउने, सेवा भाव जगाउने एवं सामाजिकीकरणको विकास गराउने शिक्षाको लक्ष्य हुनुपर्छ, राष्ट्रिय आवश्यकता र प्रादेशिक विशेषता तथा विशिष्टताको ख्याल गर्दै तदनुकूलको उच्च शिक्षामा जोड दिने नीति आवश्यक छ ।’ भेला आयोजक समितिका अध्यक्ष सरोजराज गोसाइँले भने ।
उनीहरुले संविधानमै आधारभूत र माध्यमिक शिक्षाको प्रावधान स्थानीय तहको अधिकारको सूचीमा राखिएको अवस्थमा शिक्षाको सम्पूर्ण दायित्व स्थानीय तहले मात्र लिने वा केन्द्रीय सरकारले भन्ने अन्योलको अवस्था हुँदा नेपालको शिक्षा अझ डामाडोल हुनेप्रति चिन्ता जनाउँदै शिक्षाको सबै जिम्मा सरकारले लिनुपर्नेमा जोड दिए । ‘शिक्षामा व्यापारीकरण संविधानविपरीत छ, संविधानले प्रान्तलाई विश्वविद्यालय खोल्ने अधिकार दिएको छ तर शिक्षा क्षेत्रमा प्रान्तीय सरकारको दायित्वबारेमा संविधानमा व्यवस्था छैन, यसले पनि अन्योल ल्याएको छ ।’ भेलामा सहभागी प्राध्यापक एवं वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले भने ।
यसका साथै प्राध्यापकहरुले विश्वविद्यालयमा हुने राजीतिक भागवण्डा अन्त्य गर्न, विदेशी विद्यालयलाई सम्बन्धन दिने विषयलाई सम्बोधन गर्न पनि राष्ट्रिय शिक्षा नीति आवश्यक रहेको बताउँदै विश्वविद्यालयलाई अनुसन्धानको केन्द्र बनाउनुपर्ने पनि बताए ।
‘गैरसरकारी र  निजी कम्पनीहरुले वार्षिक रुपमा सामाजिक र शिक्षा क्षेत्रमा झन्डै ५ अर्बको अनुसन्धान‘प्रोजेक्ट’ हात पार्ने गरेको छ । त्यस्तै प्राविधिक क्षेत्रमा यो रकम झन्डै एक अर्बको छ । यीमध्ये अधिकांश अनुसन्धान योजनाहरु सरकारलाई नै थाहा हुँदैन । नियमित रपमा सरकारमार्फत् गराइने अनुसन्धान पनि छन्, विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउने हो भने सबै अनुसन्धान केन्द्र विश्वविद्यालय बनाउने नीति आवश्यक छ ।’ समाजशास्त्रका प्राध्यापक सुरेश बखुञ्छेंले भने ।
सो भेलालाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें र सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए । नेताद्वय बिजुक्छें र सुवालले प्राध्यापकहरुलाई वुद्धिजीवीको संज्ञा दिँदै बुद्धिजिवीहरुले देशको उन्नतिको लागि बाटो देखाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
सो कार्यक्रममा प्राध्यापक माणिकलाल श्रेष्ठले प्राध्यापकहरु परिवर्तनका वाहक भएको बताउँदै देशको लागि आवश्यक नीति निर्माणमा पनि प्राध्यापकहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

 

प्रतिक्रिया