काठमाडौं - कक्षा ९ मा अध्ययनरत विमला सुनारको नियमित कक्षा बिहान सवा दश बजेबाट शुरु हुन्छ, तर उनी नौबजे नै विद्यालय आइपुग्छिन् !
उनीमात्र हैन कक्षा १० की बन्दना पोखरेलको दैनिकी पनि त्यस्तै छ ।
घरमा बस्न मन नपरेर वा विद्यालय आउँ आउँ लागेर उनीहरु चाँडै आएका हैनन् । शिक्षक अभावका कारण विद्यालय समयमा आवश्यक पढाई नसकिएपछि सुनार र पोखरेल सहित उनीहरुका साथीहरु एक घण्टा पहिल्यै विद्यालय आईपुग्छन् ।
अतिरिक्त विषय होस् या अनिवार्य विषय नै किन नहोस्, विद्यालय चल्ने समय अर्थात् बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुनुपर्छ तर यी विद्यार्थीलाई भने भ्याईनभ्याई छ । विद्यार्थी र विषय अनुसार शिक्षक नहुँदाको मारमा उनीहरु परेका छन् ।
विद्यालयका प्रधानाध्यापक भने आफूँसँग अरु विकल्पै नभएपछि विद्यार्थीकै लागि यस्तो गरिएको तर्क गर्छन् ।
‘हामीसँग दिउँसो अप्सनल म्याथ पढाउने शिक्षकको दरबन्दी छैन, दरबन्दी नभए पनि हामीले यो विषय राखेका छौं, त्यो विषय पढाउने निजी शिक्षकले दिउँसो नभ्याउने भएपछि विद्यार्थीलाई बिहान बोलाएका हौं ।’ प्रअ भन्छन् ।
माथिको अभिव्यक्ति देशको कुनै दुर्गम र दूरदराजमा रहेको विद्यालयका विद्यार्थी र प्रअको नभएर देशको राजधानी काठमाडौंकै कागेश्वरी मनहरा नगरपालिकामा रहेको कान्ति भैरव माध्यमिक विद्यालयको समस्या हो ।
यो समस्या भोग्ने यही विद्यालयका विद्यार्थी, प्रअ र विद्यालय प्रतिनीधि मात्र हैनन्, देशमा अधिकांश सार्वजनिक विद्यालयहरु भौतिक रुपले मात्र समस्याग्रस्त भएका छैनन्, उनीहरु विद्यार्थी संख्या, विषयगत शिक्षकको दरबन्दीको सिकारमा पनि परिरहेका छन् ।
‘शिक्षककै समस्या छ, आधारभूत तहमा गणित, माध्यमिक तहमा कम्प्युटर शिक्षक नहँुदा समस्या भएको हो’ प्रअ लक्ष्मण थापाले भने, ‘आवश्यकता पूर्ति गर्न लिखित रूपमा विषयको शिक्षक व्यवस्था गरिदिन जिल्ला शिक्षा कार्यालयलाई निवेदन दिए पनि खासै पहल भएको छैन ।’
विद्यालयले भने आफ्नै स्रोतबाट मिलाएर विद्यार्थीलाई पठनपाठन गराइरहेको छ ।
‘आवश्यक मात्रामा दरबन्दी दिएको भए आर्थिक भार कम हुने थियो, विद्यार्थीसँग सहयोगको रुपमा उठाइरहेको रकम शिक्षक पारिश्रमिकमा खर्च गर्नुपर्छ ।’ थापाले भने । उनले त्यसरी संकलन गरेको रकम शिक्षककै तलबमा खर्च गर्नुपर्दा विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलकुद र सरसफाइमा खर्च गर्न नसकेको बाध्यता पनि सुनाए ।
आफ्नो विद्यालयमा गतिलो पुस्तकालय, प्रयोगशाला र शौचालय जस्ता आधारभूत कुराहरु नहुँदा मर्का परेको विद्यार्थी बताउँछन् ।
विद्यालयको प्रावि तहमा ९, निमाविमा ७ र माविमा ९ दरबन्दी मात्र उपलब्ध छ । सो दरबन्दी विद्यार्थी अनुपातमा कम हो । विद्यालयका अनुसार त्यहाँ अहिले प्राथमिक तहमा ३ सय ४१, निमावि तहमा २ सय २१ र मावि तहमा १ सय ६८ विद्यार्थी अध्ययनरत छन् । यी मध्ये शारिरिक रुपमा अशक्त ३२ विद्यार्थी पनि पढ्छन् । कक्षा १ देखि १० सम्म दुई÷दुई वटा सेक्सन छन् । प्ले गु्रप, नर्सरी, एलकेजी, युकेजी जस्ता प्रारम्भिक बालविकासका कक्षा पनि छ ।
विद्यार्थी संख्या अनुसार दरबन्दी नहुँदा त्यहाँ कार्यरत शिक्षकहरु दैनिक ७ देखि ८ पिरीयडसम्म लिन बाध्य भएको बताउँछन् । दैनिक ४÷५ पिरीयड लिएका शिक्षकले र ७÷८ पिरीयड लिएपछि शैक्षिक उपलब्धि बढाउन गाह्रो भएको शिक्षकहरुको अनुभव छ ।
‘विहानदेखि बेलुका साढे चारबजेसम्म लिजर पिरीयड विना कक्षा लिनुपर्दा गाह्रो हुन्छ, पढाउनै दिक्क लाग्छ ।’ शिक्षक कमला श्रेष्ठले भनिन् ।
यस्तो समस्याबाट गुज्रिरहेको विद्यालयका समस्याका बीच सरकारले माध्यमिक तहसम्म व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।
बैशाख ३१ गते भएको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनीधिहरुसँग भेटेर विद्यालय प्रशासनले आफ्ना समस्या समाधान गर्न अनुरोध गरेको विद्यालयका प्रअले बताए । उनले जनप्रतिनीधि सकारात्मक भएकोले समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।
नगर प्रमुख कृष्णहरि थापा पनि सामुदायिक विद्यालयको स्तरउन्नति गर्न र शिक्षालाई गुणस्तरीय बनाउन आफू लाग्ने बताए । उनले चुनावमा आफू र आफ्नो पार्टी नकेपा एमालेले प्रस्तुत गरेको घोषणापत्रमा कागेश्वरी मनहरा नगर पालिकाको वडा नं. १ देखि ९ सम्म रहेका सामुदायिक विद्यालयहरुको गुणस्तर बढाउने उल्लेख गरिएको बताउँदै सो अनुसार काम गर्ने दोहोर्याए ।
‘हामीले पहिलो बैठकबाट सामुदायिक विद्यालयलाई भौतिक रुपमा सुविधा सम्पन्न गराउँछौं भनेर निर्णय नै गरेका छौं, शिक्षकहरु, स्कुल, विद्यालय ब्यवस्थापन समितिको टीम बनाएर हामी छलफलमा बस्छौं र तिनीहरुका तत्कालका समस्याहरु के हुन्? भौतिक पूर्वाधारका समस्याहरु के के हुन ? क्वालिटी ल्याउन के के गर्ने ? भन्ने विषयमा छलफल गर्नुपर्छ’, उनले भने, ‘नेपाल सरकारले अहिले शिक्षकहरुको तलब मात्र पठाएको छ भौतिक सुधार मात्रै हैन विद्यालयलाई चाहिने शिक्षक दरबन्दी समेत पठाएको छैन । विद्यालयमा पियनको दरबन्दी छैन, पालेको दरबन्दी छैन । बढी विद्यार्थी संख्या छ तर शिक्षक छैन । आन्तरिक स्रोत मिलाएर जुन शिक्षक राखिएका छन्, तिनीहरुलाई नगरपालिकाबाट केही गर्न सकिन्छ कि भन्ने विषयमा छलफल गरेका छौं ।’
प्रस्तुत विषय रेडियो कार्यक्रम हाम्रो शिक्षामा समेटिएको छ । कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् : Hamro Sikshya एक्सन एड नेपालको सहयोगमा www.edukhabar.com ले तयार पारेको यो कार्यक्रम हरेक मंगलबार विहान आठ बजे प्रदेश नम्बर ७ मा रेडियो डोटी र रेडियो धनगढी, कैलाली तथा काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट प्रशारण हुन्छ । यसका साथै www.edukhabar.com तथा एण्ड्रेईड एप edunepal बाट पनि सुन्न सकिन्छ ।
प्रतिक्रिया