Edukhabar
शनिबार, ०७ भदौ २०८२
खबर/फिचर

मनपरी रोक्न शिक्षा विभागमा ज्ञापनपत्र

मंगलबार, २० असार २०७४

भक्तपुर - कक्षा ११ मा जारी नयाँ भर्नामा निजी विद्यालयहरुले लिदैं आएको मनपरी शुल्क नियन्त्रण गर्न सत्तारुढ माओवादी केन्द्रको भात्रृ संगठन अनेरास्ववियु क्रान्तिकारीले माग गरेको छ । कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने, अधिकतम शुल्क सिमा निर्धारण गर्नु पर्ने, भड्किलो विज्ञापन गर्ने शिक्षण संस्थालाई कारवाही गर्नु पर्ने सहित उसले ८ सूत्रीय माग शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई बुझाएको हो ।

क्रान्तिकारी ३ नम्बर प्रदेशको अगुवाईमा संगठनका उपाध्यक्ष अनील शर्मा, रामचन्द्र अधिकारी र तिलक राज भण्डारीको नेतृत्वमा पुगेको टोलीले महानिर्देशकलाई मागका रुपमा ज्ञापनपत्र बुझाएको हो । ३ नम्बर प्रदेश संयोजक विजय गौतमद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा छात्रबृत्ति पाएका विद्यार्थीबाट समेत शुल्क उठाउने गरिएको भन्दै विद्यार्थीका लागि उपलब्ध छात्रवृत्ति लागु गराउन अनुगमन समिति बनाई कार्वाही गरिनुपर्ने माग गरिएको छ ।

विद्यालयहरुले गर्दै आएका भड्किला बिज्ञापन रोक्दै विज्ञापन आचार संहिता बनाई लागु गरिनुपर्ने, विदेशी नाम राखि सञ्चालित शिक्षण संस्थाको नाम परिवर्तन गर्ने बारे यस अघि नै भएको सहमती कार्यान्वयन गर्नुपर्ने, अनुशासनका नाममा विद्यालयमा डीआई राख्ने ब्यवस्था खारेज गर्नु पर्ने,  ए लेभलको नाममा सञ्चालित विद्यालयलाई नियन्त्रण गर्नु पर्ने क्रान्तिकारीको माग छ ।

ज्ञापनपत्र बुझ्दै महानिर्देशक पौडेलले सम्बन्धित पक्षसँग तत्काल छलफल गरेर मागको उचित सम्बोधन गरिने बताए ।

प्रतिक्रिया