Edukhabar
शनिबार, ०७ भदौ २०८२
खबर/फिचर

शिक्षकको चासो नहुँदा सामुदायिकका विद्यार्थी अन्तराष्ट्रिय प्रतिष्पर्धामा बञ्चित !

आइतबार, २५ असार २०७४

काठमाडौं - विश्वभरका उच्च माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थी बिच हुने गाणितको प्रतिष्पर्धामा पहिलो पटक ६ नेपाली विद्यार्थीले भाग लिदैं छन् । उनीहरु सबै काठमाडौं स्थित निजी विद्यालयका उत्पादन हुन् । उक्त प्रतिष्पर्धा यही असार २९ गते देखि १० दिन सम्म ब्राजिलको रियो दी जेनेरियोमा हुँदै छ ।

विद्यालयकै आधारमा आफूहरुले विभेद नगरे पनि शिक्षकले चासो नदिदाँ सामुदायिकका विद्यार्थी उक्त प्रतिष्पर्धामा बञ्चित भएको प्रतिष्पर्धाको सहजीकरण गरेको म्याथम्याटिक्स ओलम्पियाड अफ नेपाल मुनले जनाएको छ । ४० जिल्लामा पुगेर विद्यार्थीको क्षमता पहिचान गर्दा पनि सामुदायिकका विद्यार्थी अन्तिम प्रतिस्पर्धा सम्म नआउनुले आफूहरुलाई पनि चिन्तित तुल्याएको संस्थाका अध्यक्ष दिपक बास्तोलाले बताए ।

'हामीले निजी र सरकारी विद्यालय भनेर छुट्याएका हैनौं, तर प्रतिष्पर्धामा विद्यार्थीलाई सहभागि गराउने देखि प्रतिष्पर्धाका बारेमा चासो दिने सम्मका काममा सरकारी विद्यालयका शिक्षकले वास्तै गरेनन्' बास्तोलाले भने 'कतिपय जिल्लमा त शिक्षकले विद्यार्थी लैजान भ्याउनु भएन, मान्नु भएन जस्ता उत्तर पनि पायौं ।'

प्रतिष्पर्धामा विद्यार्थी सहभागि गराउन शिक्षा विभाग मार्फत् जिल्ला शिक्षा कार्यालय हुँदै विद्यालयहरुमा खबर गरिए पनि शिक्षककै कारण विद्यार्थी सहभागि हुन नसकेको उनको दावी छ । निजी विद्यालयहरुलाई एक पटक मात्रै भन्दा सहभागि भईहाल्ने तर सामुदायिक विद्यालयलाई पटक पटक फोन गरेर सम्झाउँदा पनि वास्ता नगर्दा अन्तिम प्रतिष्पर्धा सम्म उनीहरु आउन नसकेको बास्तोलाले बताए ।

यस बर्ष १ सय २५ मूलुकका विद्यार्थी सहभागि हुने प्रतिष्पर्धामा पर्यवेक्षकका रुपमा सहभागि हुदैं गरेका गणितज्ञ प्रा.डा. भक्तमान तुलाधरले पनि प्रतिवद्ध शिक्षकको अभावले यस्तो भएको बताए ।

'सरकारीका शिक्षकहरुमा जागिर खाने प्रवृत्ति मात्रै देखा पर्यो' उनले भने, 'शिक्षक प्रतिवद्ध नहुँदा विद्यार्थी अवसरबाट बञ्चित हुने भै हाले ।' 

यति हुँदा हुँदै पनि नेपालको प्रतिनिधित्व हुनु नै ठूलो उपलब्धि भएको तुलाधरको तर्क छ ।

प्रतिष्पर्धामा सहभागि हुने विद्यार्थीलाई सोधिएको प्रश्नको भाषाले पनि सामुदायिकका विद्यार्थीलाई गाह्रो भएको हुन सक्ने मुनका संस्थापक अध्यक्ष सर्जन विसीले अड्कल काटे ।

'हामीले नेपालीमा प्रश्न सोध्न सकेनौं, आउँदा बर्षहरुमा यस तर्फ पनि ध्यान दिने योजना चाँही बनाएका छौंं' उनले भने ।

ईण्टरनेशनल म्याथम्याटिक्स ओलम्पियाड आईएमओले गर्ने उक्त प्रतिष्पर्धामा फ्रेञ्च, स्पेनिस, रसियन र अँग्रेजी भाषामा प्रश्न सोधिन्छ । यी मध्ये विद्यार्थीले आफूलाई सहज हुने भाषामा प्रतिष्पर्धा गर्न सक्छन् । त्यसैले नेपालमा भएको छनौट प्रकृयामा पनि अँग्रेजी भाषा मार्फत् प्रश्न सोधिएको मुनको तर्क छ ।  

यसपटकको प्रतिष्पर्धाका लागि विवेक पन्थी, प्रविन महतो, विवेक पन्थी, अजय पोखरेल, अवनिस खनाल र प्रशन्न श्रेष्ठ छनौट भएका छन् । उनीहरु ६ जना सहित प्रा.डा. तुलाधर, अध्यक्ष बास्तोला र संस्थाका कोषाध्यक्ष पिताम्बर आचार्य सहित ९ जनाको टोलि ब्राजिल जाँदै छ ।

छनौट भएका ६ विद्यार्थी मध्ये पोखरेल मुनका संस्थापक र वर्तमान अध्यक्ष आवद्ध निजी कलेजकै विद्यार्थी हुन् ।

हरेक बर्ष हुने उक्त प्रतिष्पर्धा सन् १९५९ बाट शुरु भएको हो । अन्तराष्ट्रिय प्रतिष्पर्धा भए पनि नेपालले चासो नदिदाँ यतिका बर्ष सम्म सहभागिताबाट बञ्चित भएको भन्दै मुनका अध्यक्ष बास्तोलाले सरकारको आलोचना पनि गरे । त्रिभुवन विश्वविद्यालयमा गणित अध्ययनरत विद्यार्थीले ४ बर्ष अघि मुनकोे स्थापना गरेका थिए । ईण्टरनेशनल म्याथम्याटिक्स ओलम्पियाड आईएमओमा नेपालको सहभागिता गराउने तथा गणित विषयको स्तर उन्नतीका लागि अध्ययन अनुसन्धान गर्ने मुनको उद्धेश्य रहेको संस्थाले जनाएको छ ।

आउँदो बर्ष हुने उक्त प्रतिष्पर्धामा देशभरका विद्यार्थीबाट प्रतिष्पर्धि छनौट गर्ने गरी अभियाननै चलाउने बास्तोलाले बताए । यसका लागि आगामी भाद्रबाटै प्रकृृया शुरु गर्ने र त्यसमा देशभरका विद्यार्थी नछुटुन् भन्ने तर्फ थप सचेत रहने उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया