Edukhabar
शनिबार, ०७ भदौ २०८२
खबर/फिचर

सद्भाव प्रवद्र्धन गर्ने शिक्षाको माग, घृणालाई बढावा नदिन शिक्षा मन्त्रीसँग आग्रह

शुक्रबार, ३० असार २०७४

काठमाडौं - मानव अधिकार तथा शान्ति समाजले घृणालाई बढावा र पृष्ठपोषण गर्ने कार्य रोक्न विद्यालय स्तरमै शिक्षा प्रदान गर्न माग गर्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई भेट्न पुगेको समाजको  टोलीले विभिन्न १० बुँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

उक्त पत्रको ५ नम्बर बुँदामा उसले घृणा घटाउने शिक्षाको माग गरेको छ । घृणालाई बढावा र पृष्ठपोषण गर्ने कार्यमा केही तप्काहरु सक्रिय रहेको परिदृश्यमा सद्भाव प्रवद्र्धनका लागि विद्यालय स्तरमै औपचारिक एवं अनौपचारिक शिक्षा प्रदान गर्नुपर्दछ । ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यस्तै समाजले  शैक्षिक प्रतिष्ठानहरुलाई लागू औषध÷मदिराको दुव्र्यसनबाट मुक्त राख्न माग गरेको छ । शैक्षिक प्रतिष्ठानहरुलाई दुव्र्यसनमुक्त बनाउन शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था तथा अभिभावकहरुको समेत समन्वय र सहभागितामा प्रभावकारी अनुगमनको व्यवस्था गर्न समाजले सुझाव दिएको छ ।  यसका लागि आवश्यक सामग्रीहरु पाठ्यक्रममा समावेश गर्नु पर्ने, विद्यालय केन्द्रित, समुदाय केन्द्रित तथा अभिभावक केन्द्रित अभियान तथा कार्यक्रममा जोड दिनुपर्ने र निर्वाचित स्थानीय निकाय र नागरिक समाजसँगको सहकार्य तिव्र पार्न समाजले सुझाव दिएको छ ।

पाठ्यक्रममा मानव अधिकार तथा शान्ति शिक्षा समावेश गर्न तथा प्राकृतिक विपत्तिको बेला उद्धार र राहत कार्यमा बल पु¥याउन विद्यालय स्तरबाटै स्वयंसेविहरु तयार गर्न समाजको सुझाव छ ।  
ध्यानाकर्षण पत्रमा निजी विद्यालयहरुको शोषण अन्त्य गर्न प्रभावकारी कदम चाल्न माग गरिएको छ ।

समाजले शुशासन, समयमै निर्वाचन तथा चीन र भारतबीचको तिक्तता, भारत र पाकिस्तान विचको तिक्तता घटाउने दिशामा नेपालले गर्नु पर्ने योगदानबारे पनि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

यस्तै मानव अधिकार उल्लंघनकर्तालाई पुरस्कृत गर्न नहुने तथ्य स्मरण गराउदैँ समाजले भविष्यमा मानव अधिकार उल्लंघनका घटनामा दोषी कसैलाई पनि कुनै पनि संवैधानिक वा अन्य पदमा नियुक्त नगर्न भनेको छ । यसैगरी मानवता विरुद्धको अपराधलाई रोक्ने उद्देश्यले जारी भएको अन्तराष्ट्रिय फौजदारी अदालतको विधान (रोम विधान) लाई नेपालले तत्काल अनुमोदन गर्न पनि समाजले मन्त्री श्रेष्ठ मार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बरालसहित थिए ।

प्रतिक्रिया