Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

‘शिक्षामा सुधार नीति होइन, शिक्षक तर्साउने नीति’

शनिबार, ३१ असार २०७४

भक्तपुर– सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाले पारित गरेका नीति तथा कार्यक्रमको शिक्षक, अभिभावक तथा सरोकारवालाले विरोध गरेका छन् ।
नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७४÷७५ का प्रस्तुत गरेको शिक्षासम्बन्धी नीति तथा कार्यक्रमले शिक्षामा सुधारभन्दा आतंक पैदा गर्ने भन्दै सोको विरोध गरेका हुन् ।
मेयर थापाले स्थानीय तहमा प्रत्यायोजित भई आएको माध्यमिक तह सम्मको शैक्षिक संस्थाको अनुमति तथा नियमन कार्यलाई व्यवस्थित बनाई समयसापेक्ष प्रतिस्पर्धी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यको लागि समन्वयकारी भूमिका प्रदान गरिने भन्दै सामुदायिक विद्यालयका विषयमा खुल्ला सार्वजनिक सुनुवाई गर्ने नीति सार्वजनिक गरे पनि सार्वजनिक विद्यालय शिक्षक, प्रअहरु तर्सेका छन् ।
‘कुनै किसिमका कमी कमजोरी भएमा सुधार गरी शिक्षा क्षेत्रमा विकास र विस्तार गर्दै सामुदायिक विद्यालयका शिक्षकहरुलाई पेशाप्रति अझै बढी जिम्मेवार बनाइनेछ भनेर मेयरले नीति बनाए पनि यसले सरकारी स्कुललाई राम्रो गर्दैन, काम गरिरहेकाहरुलाई पनि निरुत्साहित बनाउने काम गर्छ ।’ नंखेलको सरस्वती माविका एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा भने ।
त्यस्तै सिरुटार माविका एक शिक्षकले पनि सामुदायिक विद्यालयका शिक्षकहरुको मूल्याङ्कनको परीपाटी विकास गर्न भन्दै पूर्ण जिम्मेवार बहन नगर्ने शिक्षकलाई कारबाही गर्ने नीतिले शिक्षकहरुमा त्रास फैलिने र काम नगर्ने प्रवृत्ति बढ्ने बताउँदै नीति तथा कार्यक्रम हचुवाको भरमा ल्याएको  समेत बताए ।
मेयर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीमध्ये उत्कृष्ट र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने, सामुदायिक विद्यालयको प्रणालीगत सुधार गरी अभिभावकहरुलाई जिम्मेवार बनाई आम जनमानसमा विद्यालयप्रतिको अपनत्वमा सुधार गर्ने, निजी विद्यालयहरु शैक्षिक मापदण्ड अनुसार सञ्चालन भए नभएको विषयमा अनुगमन गरी मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्ने लगायतका वुंदा समेटिएका छन् ।
शिक्षकले मेयरसँग सार्वजनिक शिक्षा सुधारको लागि योजना, नीति भए पनि सोसम्बन्धमा शिक्षक, अभिभावकसँग छलफलै नगरी वस्तुपरक नीति नल्याएको बताए । ‘सार्वजनिक सुनुवाइ गर्ने भनेर सरकारी विद्यालयको कमजोरी देखाएर निजी विद्यालय पोस्ने खेलमा मेयर लागेका छन् ।’ चित्तपोलस्थित भगवती आधारभूत विद्यालयका एक शिक्षक भन्छन् । उनले विद्यालयका समस्या पहिचानै नगरी ल्याएको नीति सफल हुनेमा शंका व्यक्त गरे ।

 

प्रतिक्रिया