हुम्ला - हतार हतार छोरा छोरीलाई खुवाइ पियाइ गरी किताव, कापी, कलमको झोला बोकाएर विद्यालय पठाएपछि आमा वावुलाई काममा जान हतारो हुन्छ !
छोरा छोरी विद्यालयमा गएपछि ढुक्कले काममा लाग्ने आमा बाबु त्यतिखेर झसंङ्ग भए जतिखेर आफ्ना छोराछोरी विद्यालय नगई बरालिदैं हिँडेको थाह पाए ।
दिनभर थाकेर फर्केका अभिभावकले न त विद्यार्थीको गृहकार्य हेर्ने फुर्सद पाउँछन्, नत दिउँसो के के पढाइ भयो भनेर जान्न नै खोज्छन् । यति मात्रै हैन शिक्षकहरुलाई भेटेर आफ्नो सन्तानको पढाई बारे बुझ्ने फुर्सद र चेतना दुवै नहुँदाको फाईदा त्यसरी बरालिने विद्यार्थीले उठाईरहेका थिए ।
विद्यालय जान्छु भन्दै ठिक समयमा निस्कने तर बिचबाटै अन्तै बरालिने क्रम बढेपछि यो समस्या शिक्षक तथा विद्यालय ब्यवस्थापन समितिलाई पनि टाउको दुखाईको विषय बनेको थियो । निरन्तर ओरालो लागेको नतिजाको अपजस आफ्नो टाउकामा आउने पक्का थियो ।
उनीहरुले एउटा उपाय सुझाए !
जुन विद्यार्थी विद्यालय आउँदैन त्यसका अभिभावकलाई फोन गरेर विद्यार्थी विद्यालय नआउनाको कारण सोध्ने !
यसो गर्दा विद्यालय जान्छु भन्दै विचबाटै बरालिने विद्यार्थी पकड्न सजिलो भयो । यसरी फोन गर्नु अघि महिनामा सरदर १५ जना हराउनेमा हिजो आज यो संख्या शुन्यमा झरेको छ ।
यो उपाय अपनाएको विद्यालय हो हुम्लाको खार्पुनाथमा अवस्थित श्री मान्धारा माध्यमिक विद्यालय ।
गत चैत २३ गते बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकमा विद्यार्थी बरालिने समस्याले पनि एजेण्डाका रुपमा प्रवेश पायो । धेरै छलफल पश्चात विद्यालयमा हेलो डेस्क स्थापना गर्ने प्रस्ताव पारित भयो । उक्त निर्णय सँगै विद्यालयले आन्तरिक श्रोतबाट जुटाएर फोन सेटको व्यवस्था गरेको बताउँछन् शिक्षक दिलबहादुर शाही ।
हेलो डेस्को स्थापना सँगै जानकारी विना विद्यालयमा नआउने विद्यार्थीका अभिभावक कहाँ तपाइको बच्चा त आएन किन ? भनि फोन गर्न थालियो ।
'प्रत्येक दिनको प्रार्थना समय पश्चातको हाजिरी लगत्तै कक्षा शिक्षकबाट त्यस्ता विद्यार्थीको अभिभावककोमा फोन गर्छौ' शाहीले भने, 'यसो गर्दा उता अभिभावक यता विद्यालय अनि बिचमा विद्यार्थी सबैको सक्रियता वढ्यो पनि । हिजो सरदर महिनामा यसरी हराउने १५ जनाको सङ्या शुन्यमा झरेको छ ।'
अब कि त विद्यार्थी घरवाटै स्कुलका लागि निस्कदैन निस्क्यो भने खुरुखुरु विद्यालयमा आउने गर्न थाल्यो । डेस्क स्थापना सँगै बिचैमा हराउने विद्यार्थीका सङ्या घटेको मात्रै हैन अभिभावक र शिक्षकका बिचमा समन्वय पनि बढाएको छ ।
'विद्यार्थी नियमितता उत्साहजनक भयो, शिक्षक विद्यार्थी अनि शिक्षक अभिभावक बिचको सामिप्यता पनि बढ्यो' शाहीले भने, 'बिचमै विद्यार्थी हराउने समस्या समाधानको अचुक उपाय बनेको छ यो हेलो डेस्क ।'
प्रतिक्रिया