सुर्खेत - नेपाल र चीनको राजनीतक तथा कूटनीतिक क्षेत्रको अध्ययन अनुसन्धान गर्न विश्वविद्यालय स्तरमा सहकार्य गर्न चीनका प्राध्यापकहरुले प्रस्ताव गरेका छन् । नेपालको सात दिने भ्रमणमा रहेका साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स एण्ड ल का प्रा. डा. वु छि र छोम्चिंग नोमो युनिभर्सिटीका प्रा. डा. लि योंगले उक्त प्रस्ताव गरेका हुन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आएका चिनियाँ प्राध्यापकहरुको उक्त टोलीले दुई देश विचको अध्ययनको सम्भावनामा जोड दिदै आपसी समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रक्रियामा जान पहल गर्ने आश्वासन समेत दिएका छन् ।
नेपालको विकसित राजनीतिक परिवर्तन र चीनको एक चिन नीति लगायत वान वेल्ट वान रोड नीतिका विषयमा नेपालको प्रतिवद्धताको स्मरण समेत गरेका विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।
उक्त अवसरमा विश्वविद्यालयका निमित्त रजिष्ट्रार समेत रहेका विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा.डा. देब बहादुर खड्काले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले चीन स्थित विश्वविद्यालयहरूसँग आपसी सम्बन्ध विकास गरी शैक्षिक प्राज्ञिक उन्नयनमा आपसी सर सहयोग आदान प्रदान गर्न इच्छुक रहेको बताएका थिए ।
मानविकी र सामाजिकशास्त्र सङ्कायका डीन खोपिराम लम्सालले सदियौदेखि रही आएको नेपाल र चीनको सम्बन्धको स्मरण गर्दै दुवै देशको राजनीतिक तथा कूटनीतिक अध्ययन गरी सम्बन्ध अझ प्रगाढ बनाउन सकिनेमा जोड दिए । उत्तः अवसरमा विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक गणेश बहादुर कार्की र अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय शिक्षण समितिका अध्यक्ष तेज बिक्रम बस्नेतले समेत दुवै देशको राजनीतक र कूटनीतिक सम्बन्धको अध्ययन अध्यापन र अनुसन्धान गर्न विश्वविद्यालय स्तरमा सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिए ।
उक्त अवसरमा चिनियाँ प्राध्यापकद्वयले केन्द्रीय भवन निर्माण स्थल कुइनेपानी, केन्द्रीय क्याम्पस, मुसुम, विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पस परिसर समेत अवलोकन गरेका थिए ।
प्रतिक्रिया