Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

शिक्षकलाई उत्साहित नबनाएसम्म अर्थ छैन अधिकारको

बुधबार, ११ साउन २०७४

काभ्रे - ‘हिजोका दिनमा नीति निर्माण केन्द्रबाटै हुने गरेकोमा अब त्यो अधिकार स्थानीय तहमा पुगेपछि म सार्वजनिक शिक्षामा सुधार हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ बनेपा नगरपालिकाको एक सामुदायिक विद्यालयका शिक्षक रामकृष्ण थापाको बुझाई हो यो । शिक्षक थापामात्र होइन बनेपाकै गंगादेवी माविका नेपाली विषय शिक्षक ऋषि हुमागाइँ पनि स्थानीय तहमा शिक्षाका अधिकार आएपछि खुसी छन् ।

‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ, नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गर्न सक्छ, शिक्षक अस्पताल बनाएर वा शिक्षकलाई स्थानीय अस्पतालमा विशेष सेवा दिएर पनि उत्साहित बनाउन सक्छ ।’ उनी भन्छन् ।

बनेपाका स्थायी वासिन्दा समेत रहेका शिक्षकद्वय थापा र हुमागाइँले स्थानीय तहमा जनप्रतिनीधिसँगै शिक्षाको अधिकार पनि आएपछि शिक्षामा सुधार हुने अपेक्षा गरेका छन् । उनीहरुले राखेका ती अपेक्षा पूरा गर्न भने शिक्षकलाई उत्साहित गर्र्ने कार्यक्रम ल्याउनु जरुरी ठान्छन् ।

संविधानले स्थानीय तहलाई नै शिक्षाको अधिकार दिएपछि निर्वाचनबाट चुनिएर आएका जनप्रतिनीधिहरुबाट जनतासँगै समाजका सचेत वर्गका रुपमा कहलिएका शिक्षकहरुले झन् ठूलो अपेक्षा राखेका छन् । ‘शिक्षामा सुधार भएन, सुधार भएन मात्र भने, अब भने सुधार गर्ने अवसर आएको छ यसैले त्यो अवसरलाई सफल बनाउन शिक्षकलाई उत्साहित बनाउनु जरुरी छ ।’ बनेपाको चैतन्य माविका पूर्व प्रअ राजभाइ मानन्धर भन्छन् ।

तीन दशकको शिक्षण अनुभव संगालेका उनीसँग सार्वजनिक शिक्षा विग्रनुको मुख्य दोष शिक्षकलाई बनाउँदा राम्रो गर्ने शिक्षकसमेत निराश भएको अनुभव छ । यसैले सार्वजनिक शिक्षा बिग्रनुका कारण पत्ता लगाएर शिक्षकमा नयाँ जोश भरिदिने काम स्थानीय तहले गर्न सके शिक्षामा उल्लेख्य सुधार हुने उनको भनाइ छ ।

शिक्षाका मियोका रुपमा रहेका शिक्षकलाई स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनीधिले के गरी उत्साहित बनाउन सक्लान् त ? यो छलफलको विषय नै हो । विशेषतः विद्यालयका नायक, विद्यार्थी र अभिभावकका आदर्श र समाजका अगुवाको रुपमा कहलिएका शिक्षकमा उत्साह बढाउने काम नगरे केन्द्रीय संरचनाको शिक्षा प्रणाली र संघीय संरचनाको शिक्षा प्रणालीमा खासै अन्तर हुन्न ।

शिक्षकहरुले आफूहरुलाई उत्साहित बनाउनका लागि विषयगत रुपमा राम्रो नतिजा ल्याउने शिक्षकलाई नगरपालिकाले नै सम्मान गर्नुपर्ने, दीर्घकालीन हित हुने कार्यक्रम ल्याउने, शिक्षकको लागि छुट्टै अस्पताल सञ्चालन गर्नुपर्ने, शिक्षकले आफ्नो सन्तानलाई सार्वजनिक विद्यालयमा पढाएको खण्डमा शिक्षकका सन्तानलाई थप सहुलियत दिएको खण्डमा शिक्षकहरु उत्साहित हुने उनीहरुले देखेका छन् ।

यस अलावा शिक्षकहरुले पाउँदै आएको चौमासिक तलबलाई मासिक रुपमै दिन सके शिक्षकहरु निक्कै उत्साहित हुने उनीहरुको ठम्याई छ । ‘अरु कर्मचारी महिना मर्ने बित्तिक्कै तलब खान्छन्, हामी भने चार महिनाको एक पटक मात्र, यसले शिक्षकहरु निराश छन्, त्यसैले त्यो समस्या समाधान स्थानीय तहले गरिदिएको खण्डमा शिक्षामा सुधार गर्न गा¥हो हुन्न ।’ शिक्षक निर्मला राउत भन्छिन् ।

शिक्षा सुधार नभएको सन्दर्भमा एकले अर्कोलाई दोषी ठहर्याएर आफू भने चोखो बनिरहेको वास्तविकताको सिकारमा विद्यालय र विद्याथी छन् । यो अवस्था आउनुमा राजनीति पनि प्रमुख कारण भएको शिक्षक राम थापाको भनाइ छ । ‘राम्रो भन्दा पनि हाम्रो शिक्षक हुँदा विद्यालय बिग्रेका छन्, यसले राम्रो गर्न चाहने शिक्षकहरु निराश भएका छन्, यसैले यस किसिमको नियुक्ति हुन हुन्न ।’

उनकै भनाइमा सहमत हुँदै अर्का शिक्षक राजेश यादव पनि विद्यालयमा हुने राजनीतिक हस्तक्षेपका कारण शिक्षकमा शिक्षणप्रति अभिरुचि कम हुने बताउँछन् । ‘सबैमा मनमुटाव हुन्छ, एकआपसमा द्वन्द्व खडा हुन्छ, द्वन्द्व खडा भएपछि शिक्षाको गुणस्तर झन् घट्दै जान्छ ।’

यसैगरी विद्यालयमा विद्यमान १७ थरीका शिक्षकका समस्याको सम्बोधन हुनुपर्ने आवश्यकताको बोध गरेका छन् शिक्षकले । शिक्षकलाई उत्साहित बनाउने कुरामा आफूहरु सजग रहेको बनेपा नपाका मेयर लक्ष्मीनरसिँह बादे श्रेष्ठले बताए । उनले शिक्षक निराश हुनुमा देशमा विद्यमान दुई माध्यमले शिक्षा लिने प्रवृत्तिले सरकारी विद्यालयका शिक्षकमा निराशा छाएको देखेका छन् ।

‘सामुदायिक शिक्षालयमा पनि बोर्डिङ स्कुलमा जस्तै गरी अँग्रेजी माध्यममा पठनपाठन गर्नुपर्छ, शिक्षकहरु सक्षम छन्, योग्य छन्, तिनीहरुको योग्ययताको उपयोग हुने वातावरण बनाउनुपर्छ ।’ मेयर श्रेष्ठले भने ।
उनले अध्यापनको वातावरण बनाएपछि शिक्षकहरु उत्साहित हुने बताउँदै शिक्षकमाथि नगरपालिकाले निगरानी राख्ने पनि जनाए ।

(प्रस्तुत रिपोर्ट रेडियो कार्यक्रम हाम्रो शिक्षा मा सुन्न सक्नु हुन्छ । एक्सन एड नेपालको सहयोगमा www.edukhabar.com ले तयार पारेको यो कार्यक्रम हरेक मंगलबार विहान आठ बजे प्रदेश नम्बर ७ मा रेडियो डोटी र रेडियो धनगढी, कैलाली तथा काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट प्रशारण हुन्छ । यसका साथै www.edukhabar.com तथा एण्ड्रेईड एप Edunepal बाट पनि यो कार्यक्रम सुन्न सकिन्छ ।)

उल्लेखित विचार सहितको कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् : हाम्रो शिक्षा

प्रतिक्रिया