Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

कक्षाकोठामै आहाल : सर मिसहरु नचुहिने कोठामा हामी भने यहाँ

सोमबार, १६ साउन २०७४

भक्तपुर - कक्षा ९ मा पढिरेहकी सबिना राईलाई पछिल्लो हप्तादिनदेखि स्कुल जानै मन लाग्दैन  । मन नलागी नलागी पनि उनी स्कूल गइरहेकी छन् । ‘स्कुल त गएकी छु तर पढाइमा मन गएको छैन ।’ उनले भनिन् ।
उनलाई पढाइमा ध्यान नजानुमा अरु कारण नभएर स्कुलको वातावरणले भएको उनको भनाइ छ । ‘पढ्न भनेर स्कुल गयो, कक्षामा बस्नै नहुने गरी पानी चुहिन्छ । बर्खामा त कक्षामा पानीको आहालै जम्ने गरेको छ । कक्षाकोठामै पानीको आहाल जम्दा कसरी पो पढाइमा मन जान्छ र ?’ उनको प्रतिप्रश्न छ ।

उनलाई जस्तै गरी सोही कक्षाकी अर्का विद्यार्थी अर्चना दाहाललाई पनि आजकाल त्यस्तै समस्या छ । पानी दर्किन थाल्यो भने कक्षाकोठामा बस्नै नहुने गरी छाना चुहिन्छ । ‘त्यसरी चुहिएको पानीले पढाइमा डिस्टर्ब हुन्छ ।’ दाहालले भनी ।

२०२४ सालमा स्थापना भएसँगै बनेको मध्यपुरठिमी नगरपालिका वडा नं. २ सानोठिमी स्थित आदर्श माविको छाना जीर्ण बन्दा यस्तो समस्या भएको हो ।

बर्खायाममा कक्षाको छानाबाट पानी चुहिएपछि कक्षाकोठामा विद्यार्थीको भागदौड नै चल्ने गरेको छ । त्यही भएर कक्षा डिस्टर्व भैरहने विद्यार्थी बताउँछन् । ‘पानी पर्न थाल्यो कि पानी नचुहिने ठाउँ र बेञ्च खोज्नैको ध्यान हुन्छ । बेञ्ची सार्दैमा ठीक्क हुन्छ, पढाइ त हुने कुरै भएन ।’ दाहाल भन्छिन् । विद्यार्थीले आफूलाई परेको समस्याबारेमा पटकपटक हेडसरलाई र अन्य शिक्षकलाई जानकारी नदिएको पनि होइन । त्यो बारेमा स्कुल प्रशासन बेखबर पनि होइन तर २०७२ साल बैशाख १२ गतेको भुकम्प देखि अहिलेसम्म विद्यार्थीले त्यही समस्या झेलिरहेका छन् ।

‘सर मिसहरु नचुहिएको कोठामा बस्नुहुन्छ, हामी भने चुहिएकै कोठामा बस्नुपर्छ ।’ कक्षा १० का एक विद्यार्थीले भने, ‘बरु हामीलाई नचुहिने कोठामा राखेर पढाएको भए नि हुन्थ्यो ।’

विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर कार्की भवन पुरानो भएकोले समस्या देखिएको बताउँछन् । उनले पनि पानी परेको बेला बेञ्च सारेर भए पनि पानी छल्दै कक्षा चलाइरहेको वास्तविकताले विद्यार्थीलाई अफ्ठ्यारो परेको बताए ।

‘भवन ५० वर्ष पुरानो भैसकेको छ, फेरि छानो पनि स्लेटको भएकोले समस्या भएको हो  ।’ उनको भनाइ छ । उनले गत वर्ष २०७३ मा भने छानाबाट पानी चुहिएपछि पालले छोपेर कक्षा चलाएको तर योपटक भने त्यसो समेत गर्न समस्या भएको जानकारी दिए ।

प्रअ कार्कीले चुहिएको छाना मर्मत गर्नको लािग आवश्यक सर्भेको काम भैरहेको बताउँदै यथासक्य छिटो समस्या समाधान गर्न विद्यालय व्यवस्थापन समिति र स्कुल परिवार लागेको बताए । छानाबाट पानी चुहिएर विशेषत ः कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थी समस्यामा परेको विद्यालय स्रोतको भनाइ छ । अहिले सो विद्यालयको कक्षा ८ मा ८६, कक्षा ९ मा एकसय ६२, कक्षा १० मा एकसय २६, कक्षा ११ मा १५ र कक्षा १२ मा २२ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया