Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

मेयरले सोधे, विद्यार्थी कति छन् ?

बुधबार, १८ साउन २०७४

भक्तपुर– माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा आएपछि आफ्नो क्षेत्रका विद्यालयको अवस्था बुझ्न भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले विद्यालयको अनुगमन गरेका छन् ।
मेयर प्रजापति नगरपालिकाका कर्मचारीसहित भक्तपुरको यालाछेंस्थित शारदा माविको अनुगमन गर्न बिहानै पुगेका थिए । बिहान सवा आठ बजेतिर विद्यालय पुगेका उनले विद्यालयको भौतिक अवस्थाको स्थलगत अवलोकन गरेपछि विद्यालयका प्रअ र शिक्षकसँग विद्यालयको अवस्थाका बारेमा सोधपुछ गरेका थिए ।

सो क्रममा उनले प्रअ रोशन तुइँतुइसँग विद्यार्थी संख्याबारेमा सोधेको प्रअले बताए । ‘मेयरज्युले विद्यार्थी संख्या कति छ ? भनेर सोध्नुभयो, मैले सोको जानकारी दिएँ ।’ उनले भने ।
प्रअ तुइँतुइका अनुसार प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म चल्ने सो विद्यालयमा अहिले ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । सो क्रममा प्रअले मेयरलगायतको टोलीलाई विद्यालयमा रहेका विद्यार्थी सख्ंया अनुसार कक्षाकोठा नपुगेको जानकारी दिएका थिए ।

‘हामी जम्मा १२ वटा कोठामा कक्षा चलाउन बाध्य छौं, अझ कक्षा नपुगेर कक्षा जेकेजी र एसकेजी कक्षालाई मर्ज गरेर चलाइरहेका छौं ।’ उनले मेयरसामु भने ।

प्रअ तुइँतुइ र अन्य शिक्षकको गुनासो र समस्या सुनेपछि मेयर प्रजापतिले स्कुलको समस्या समाधानका लागि दीर्घकालीन उपाय सोच्नुपर्ने बताएका थिए । करिब आधा घन्टा सो विद्यालयमा बिताएका मेयर प्रजापतिले विद्यालयका कक्षाकोठाहरुको पनि अवलोकन गरेका थिए । दुई वर्ष अघिको भूकम्पको कारण ध्वस्त बनेको उक्त विद्यालयले नयाँ भवन बनाउन सकेको छैन । सोहीकारण अहिले पनि विद्यालयका कक्षाहरु अस्थायी टहरामै चलिरहेका छन् ।

भक्तपुरको दरबार क्षेत्रभित्र परेको उक्त विद्यालय पनि सम्पदा क्षेत्रभित्र परेको कारण नपाले भने विद्यालय स्थानान्तरण गर्नुपर्ने भन्दै आएको छ । स्थानान्तरणका लागि पनि नपाले ठोस कदम चाल्न सकेको छैन । यही समस्या बुझ्न मेयर प्रजापति विद्यालयमा पुगेको स्रोतको भनाइ छ ।

 

प्रतिक्रिया