भक्तपुर - संविधानले नै माध्यमिक तह सम्मको अधिकार स्थानीय तहलाई नै सुम्पेको अवस्थामा शिक्षालाई सुधार्न र शिक्षामा बजेट बढाउनका लागि स्थानीय तहमा हुने भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
स्थानीय तहमा शिक्षाको अधिकार आएपछि शिक्षामा सुधार हुनेमा आफूहरु विश्वस्त रहेको बताउँदै भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा रहेका विभिन्न सार्वजनिक विद्यालयका प्रअ, शिक्षक र नगरवासीले शिक्षा सुधार्न र शिक्षामा बजेट बढाउनका लागि नगरस्तरमा हुने भ्रष्टाचार न्यूनीकरण हुनुपर्ने बताएका हुन् ।
उनीहरुले भ्रष्टाचारले आक्रान्त बनेको स्थानीय तहसँगै शिक्षाको स्तरोन्नतिका लागि बजेटका स्रोतहरुको पहिचान आवश्यक रहेको बताउँदै मध्यपुर थिमी नपाको राजस्व बढाउने विभिन्न उपायहरुमध्ये भ्रष्टाचार नियन्त्रण पनि प्रमुख उपाय हुनसक्ने बताएका छन् ।
शिक्षाको व्यवस्थापन त्यति सरल छैन । त्यसको लागि आर्थिक स्रोतको आवश्यकता पनि उत्तिक्कै छ । त्यो स्रोतका लागि स्थानीय स्तरका कतिपय प्राकृतिक स्रोतको भरपूर प्रयोग गर्न सकिएला, करको दायरा बढाउने, अभिभावकलाई शिक्षामा लगानी गर्न उत्साहित पार्न पनि सकिएला । यी विभिन्न अवधारणा र योजनासँगै मध्यपुर ठिमी नगरपालिकाका नगरवासीहरुले भने नगरपालिकामा हुने भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकेको अवस्थामा पनि शिक्षामा लगानी बढाउन सक्ने बताए ।
एक समयमा देशभरका भ्रष्टाचार हुने नगरपालिका मध्ये दोस्रो नम्बरमा परेको छविलाई जनप्रतिनीधि आएसँगै निमिट्यान्न पार्न चाहन्छन्, मध्यपुरठिमी नगरपालिकाका वासिन्दा । यसैले अहिले त्यो अवसर आएको र शिक्षामा बजेट बढाएर उक्त काम गर्न सकिने उनीहरुको ठम्याई छ ।
ठिमीका स्थानीयवासी अम्बर दली श्रेष्ठ असार मसान्तमा सम्पन्न नगरसभाले मेयर, उपमेयरले मोबाइल सेवा लिएकोमा सन्तुष्ट छैनन् । भन्छन्, ‘मोबाइलमा मात्र खर्च गर्नु सट्टा शिक्षामा लगानी गरेको भए, ठिमीकै सान बढ्नेछ ।’ उनले भने । उनले भ्रष्टाचार नभएको खण्डमा शिक्षामा लगानी बढाउन सकिने बताए । त्यस्तै अर्का स्थानीय प्रेमजन थापा, सरिता श्रेष्ठ पनि भ्रष्टाचार हुने हो कि भन्नेमा चिन्तित देखिएका छन् ।
नगरपालिकाको आर्थिक स्रोत व्यवस्थापन गर्न सघाउनका लागि विभिन्न स्रोतहरुसँगै करको दायरा बढाउन सकिनेमा दुईमत नभएको बताउँदै थापा र श्रेष्ठले भ्रष्टाचार र अनियमितता नभए राम्रो हुने देखेका छन् । ‘हामी कर तिर्न तयार छौं, तर त्यो करको सही सदुपयोग हुनुपर्छ, पारदर्शी हुनुपर्छ, भ्रष्टाचार हुनु हुन्न ।’ श्रेष्ठको भनाइ छ ।
नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ पनि स्थानीयबासिन्दाको चाहना र अपेक्षा अनुसार आफू काम गर्न तयार भएको बताउँछन् । उनले भ्रष्टाचार मुक्त बनाउने अभियानमा आफू सक्रिय भएर लाग्ने र मध्यपुर ठिमीका सार्वजनिक विद्यालयको स्तरोन्नतिको लागि सिंगो नगरपालिका गम्भीर भएर लाग्ने बताउँछन् ।
उनले भने, ‘भ्रष्टाचारले सबैतिर गाँजेको छ, यसले सबैलाई डसेको छ, यसैले त्यो हुन नदिन हामी सजग छौं । हामीकहाँ हुने विभिन्न विषय र क्षेत्रका भ्रष्टाचारलाई निमिट्यान्न पार्न कटिवद्ध छौं ।’
(प्रस्तुत रिपोर्ट रेडियो कार्यक्रम हाम्रो शिक्षा मा सुन्न सक्नु हुन्छ । एक्सन एड नेपालको सहयोगमा www.edukhabar.com ले तयार पारेको यो कार्यक्रम हरेक मंगलबार विहान आठ बजे प्रदेश नम्बर ७ मा रेडियो डोटी र रेडियो धनगढी, कैलाली तथा काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट प्रशारण हुन्छ । यसका साथै www.edukhabar.com तथा एण्ड्रेईड एप Edunepal बाट पनि यो कार्यक्रम सुन्न सकिन्छ ।)
उल्लेखित विचार सहितको कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् : हाम्रो शिक्षा
प्रतिक्रिया