Edukhabar
सोमबार, ०९ भदौ २०८२
खबर/फिचर

मन्त्री र सचिवकै कै गुनासो हाम्रो शिक्षा नै भएन !

सोमबार, ०५ भदौ २०७४

भक्तपुर - देशको शिक्षा प्रणाली निर्माण र सुधार गर्ने निकायका मुख्य जिम्मेवार ब्यक्ति नै शिक्षाका बारेमा गुनासो गर्न थाले पछि कोसंग आशा गर्ने ?

सोमबार आयोजित पाठ्यक्रम विकास केन्द्रको ४७ औं बार्षिक उत्सवको कार्यक्रममा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र सचिव शान्तबहादुर श्रेष्ठले आफ्नो भाषणको अधिकाँश समय शिक्षामा यसो भएन र उसो भएन भन्दै गुनासो मै विताए !

'हाम्रो पाठ्यक्रम नै भएन, पाठ्यक्रमले हिमाल समेटेन, लुम्बिनी र बुद्ध समेटेन' मन्त्री श्रेष्ठले भने, 'समय सुहाउँदो र चाहिने पाठ्यक्रम भएन ।'

सीपमा आधारित माध्यमिक शिक्षा र रोजगारमा आधारित उच्च शिक्षा नभएको भन्दै उनले गुनासो गरे । मन्त्रीको उक्त गुनासो समेट्ने गरी पाठ्यक्रममा के के सुधार गर्नु पर्ने हो र त्यो विधि निर्माणमा मन्त्रालय र आफूले के काम गर्दैछु भन्ने बारेमा भने उनले केही पनि बताएनन् । भएन मात्रै भने !

मन्त्री श्रेष्ठ मात्रै हैन सचिव श्रेष्ठले पनि हाम्रो शिक्षा सर्टिफिकेटको भारी बोक्ने मात्रै भएको भन्दै गुनासो गरे !

'हाम्रो शिक्षाले सीप सिकाएन', उनले भने, 'हामीले देशका युवा बाहिर पठाउने शिक्षा मात्रै दियौं ।'

तर युवा पलायनलाई रोक्ने गरी मन्त्रालयले के कस्ता काम के कसरी गर्दै छ भन्ने बारेमा उनले पनि केही बताएनन् ।

नयाँ शिक्षा लागू भएसँगै २०२८ साल भदौ ५ गते पाठ्यक्रम विकास केन्द्रको स्थापना भएको दिनको सम्झनामा केन्द्रले हरेक बर्ष बार्षिकोत्सब मनाउँदै आएको छ । कार्यक्रममा विभिन्न समयमा पाठ्यपुस्तक लेखेका ९ जना लेखकलाई केन्द्रले सम्मान पनि गर्यो ।

यसरी सम्मानित हुनेमा २०४९ सालमा कक्षा ९ र १० को नेपाली पुस्तक लेखेका तारानाथ शर्मा, २०३० सालमा कक्षा १० को अँग्रेजी लेखेका केदारभक्त माथेमा, ०४० सालमा ईच्छाधिन गणित लेखेका सुरेशराज शर्मा, ०२८ सालमा कक्षा ४ को सामाजिक विषयको पुस्तक लेखेका गोपीनाथ शर्मालाई सम्मान गरियो ।

यस्तै कक्षा १० को स्वास्थ्य, जनसंख्या तथा शारिरिकका लेखक रामकृष्ण महर्जन, शिक्षाका केदारनाथ श्रेष्ठ, संस्कृतका माधव भट्टराई, नैतिक शिक्षाका उषा दिक्षित र गणितका सन्तोष मास्केलाई सम्मान गरियो ।

पाठ्यपुस्तक लेखेर नेपालको शिक्षा विकासमा उल्लेखनीय योगदान पुर्याए वापत अग्रजहरुलाई सम्मान गरिएको केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए ।

प्रतिक्रिया