Edukhabar
सोमबार, ०९ भदौ २०८२
खबर/फिचर

शिक्षकलाई ‘चिचि पनि पापा पनि’ गराउने दाउमा मन्त्री

विहीबार, ०८ भदौ २०७४

काठमाडौं–विगत एक दशकदेखि काठमाडौंको फर्पिङस्थित एक विद्यालयमा अस्थायी शिक्षक भएर शिक्षण गरिरहेका शिक्षक राजु खनाल भदौ १० गतेको परीक्षाको तयारीमा थिए । परीक्षामा सहभागी हुने, सफल भए स्थायी हुने नभए बुवाकै बाटोमा लाग्ने सोच बनाएका खनाल परीक्षा स्थगित भएकामा दिक्क छन् ।

उनले परीक्षाको लागि केही तयारी गरेको बताउँदै सरकारले दिएको अवसरलाई अस्थायी शिक्षकहरुले नै पर धकेलेको बताए । ‘केही जाँच दिन तयार नभएका अस्थायी शिक्षकको कारण जाँच दिन्छु भन्ने शिक्षकको मर्मविपरीत काम गरेको छ, अस्थायी शिक्षकको गैरन्यायिक कामबाट शिक्षामन्त्री समेत डराउँदा यस्तो अवस्था आएको हो ।’ उनको भनाइ छ ।

अर्का अस्थायी शिक्षक रमेश तिमल्सिना पनि शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्ने निर्णयदेखि सन्तुष्ट छैन । भन्छन्, हुन त केही शिक्षकहरु यो निर्णयबाट सन्तुष्ट हुनुहोला, आन्दोलन गरिरहेका शिक्षकहरु, पार्टी निकट समितिका पदाधिकारीहरु खुसी होलान् तर सरकारले अस्थायी शिक्षकको माग सम्बोधन गर्ने नाममा गरेको निर्णयले अस्थायी शिक्षकहरु योग्य नभएको कुरा पुष्टि गरेको छ ।’ 

उनले अस्थायी शिक्षक भनेका प्रअ, विव्यस पदाधिकारीका आफ्नो मान्छे, पढ्दै नपढेका, राजनीतिक दलका मान्छेहरु भनेर आलोचित भएसँगै परीक्षादेखि डराउने पनि शिक्षक हुन्छन्  ? भनेर चोर औंला ठडिरहेको बेलामा परीक्षा स्थगित भएपछि अस्थायी शिक्षक संघर्ष समितिले खुसी माने पनि आफूलाई भने खुसी नलागेको बताए । सरकारको यो निर्णयले आन्दोलनको नाममा जायज र नाजायज जस्तो सुकै माग पूरा गराउन सकिन्छ भन्ने नजिरलाई स्थापित गराउन अस्थायी शिक्षकहरु सफल भए पनि यसले अस्थायीलाई नै घाटा पुगेको बताएका छन् ।

परीक्षामा उत्तीर्ण भए स्थायी र अनुत्तीर्ण भए गाल्डेन ह्याण्डसेकको सुविधा दिने गरी कानून आउने क्रममा छ । यसले शिक्षकलाई ‘चिची पनि पापा पनि’ हुने भए पनि अस्थायी शिक्षक नै सन्तुष्ट छैनन् । 
शिक्षकहरु असन्तुष्ट रहे पनि उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ सन्तुष्ट छन् । उनले आफूले शिक्षककै पक्षमा काम गरेको बताएका छन् ।

‘उहाँहरुलाई मानवीय हिसाबबाट, उहाँहरुले यत्रो वर्ष शिक्षण पेशामा लाग्नुभयो, यत्तिक्कै निराश बनाउन मन लागेन, त्यो बेलामा एउटा रिष्क थियो ।  अब पास हुने खालको मान्छेले पनि अलिकति शंका लागेर, फेल भएँ भने त मैले केही पाउन्न भनेर परीक्षाबाट विमुख भएको थियो । त्यो विमुख भएको गुरुवर्गलाई हामीले एकपटक मौका दिन खोजेको हो ।’ मन्त्री श्रेष्ठले भने । मन्त्री श्रेष्ठको उक्त भनाइसँगै शैक्षिक गुणस्तरमा असर पुग्ने आंकलन बाहिर आउँदै गर्दा मन्त्री श्रेष्ठ थप्छन्, ‘केही असर गर्दैन, स्तरीय शिक्षकहरु मात्र पास हुन्छन्  ।’

देशभरका २६/२७ हजार शिक्षकको समस्यालाई आफूले सम्बोधन गर्न खोजेको उनको दाबी छ । ‘शिक्षककाई अत्यन्त मानवीय रुपले हेर्दा, उहाँहरुको क्रन्दन सुन्दा यति गर्दा ठिकै होला । शिक्षकको बाध्यतालाई सहजतामा परिवर्तन गरेको छु ।’ मन्त्री श्रेष्ठले भने ।

 

 

प्रतिक्रिया