रौतहट - चन्द्रपुर नगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गरिएको छ । मंगलबार आयोजित घोषणा सभामा जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले साक्षर नगर घोषणा गरे पनि साक्षरताको तथ्याङ्क भने सार्वजनिक गरेनन् ।
जिशिअ सिंहले स्रोत केन्द्र अन्तर्गतका केही विद्यालय, शिक्षक तथा प्रधानाध्यापकलाई प्रशंसा पत्र वितरण गर्नु भन्दा बाहेक पूर्ण साक्षरको मापदण्ड समेत पेश गर्न सकेनन् । के आधारमा नगरलाई पूर्ण साक्षर नगर घोषणा गरियो भन्ने कुरामा स्पष्ट नपार्दा कार्यक्रममा उपस्थित धेरैले मुखामुख गरेका थिए ।
नगरको साक्षरता प्रतिशत कति हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले गोलमटोल उत्तर दिए ।
'हामीसँग तथ्याङ्क छ, अहिले साथमा भएन' उनले भने ।
शिक्षकहरु परिचालन गरेर नगरको साक्षरताको तथ्याङ्क संकलन गरेको उनको भनाई छ ।
तथ्याङ्क कार्यक्रम अधिकृतसँग भएको र उनी राहत बाँड्न गएकोले कार्यक्रममा आफूले उल्लेख गर्न नसकेको सिंहले एडुखबरलाई बताए ।
तर नगरमा ठूलो संख्यामा निरक्षर रहेको स्थानीय शिक्षासेवीहरुको दावि छ । मुसहर बस्ति, जंगल छेउको सुकुम्वासी बस्ति र दलित बस्तिहरुमा अहिले पनि अक्षर नचिन्ने मान्छेको संख्या ठूलो रहेकोले के आधारमा पूर्ण साक्षर नगर घोषणा गरिएको हो भन्ने थाह पाउन नसकिएको भन्दै उनीहरुले आलोचना गरेका छन् ।
नगरपालिकामा अझै पनि २० प्रतिशत भन्दा बढी नागरिक निरक्षर छन्, एक जना स्थानीय शिक्षासेवीले भने, तत्थ्याङ्क नै नबुझी हतारमा निरक्षर उन्मुलनको घोषणा गर्नु हास्यास्पद भएको छ ।
नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा नगरका पदाधिकारी पनि अनुपस्थित थिए । कार्यक्रममा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका प्रमुख व्यक्तित्वको उपस्थिति नहुनाले साक्षरता घोषणा कार्यक्रम महत्वहिन भएको सरोकारवालाहरु बताउँछन् । कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख, स्रोत व्यक्ति तथा रिटायर्ड केही शिक्षकको सहभागिता थियो । चन्द्रनिगाहपुर स्रोत केन्द्र अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक एवम् विद्यार्थीलाई भने अनिवार्य उपस्थित गराइएको थियो ।
'नगर साक्षर घोषणा गर्दा केन्द्रबाट मान्छे बोलाउने कुरा त भएन, श्रोत केन्द्र स्तरीय कार्यक्रम भएकोले मैले नै घोषणा गरेँ' सिंहले भने, 'कँही कतै साक्षर हुन बाँकी छ भने हामी थप कार्यक्रम त सञ्चालन गरि हाल्छौं ।'
साक्षरताको दृष्टिकोणले ७५ औं स्थानमा रहेको नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्दा अन्य नगर तथा गाउँ पालिका पनि साक्षरता तर्फ उन्मुख होलान् भन्ने उद्देश्यले घोषणा गरेको सिंहको भनाई छ ।
प्रतिक्रिया