Edukhabar
सोमबार, ०९ भदौ २०८२
खबर/फिचर

शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटायो, मन्त्रालय अलमलमै

आइतबार, २५ भदौ २०७४

भक्तपुर - स्थानीय सरकार गठन भएको ३ महिना पछि बल्ल शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटाएको छ । ७ सय ५३ स्थानीय तह मध्ये ३ सय ९१ मा विभागले कर्मचारी खटाएको हो । गत शुक्रबारको निर्णय अनुसार अर्को ब्यवस्था नभएसम्मलाई पदाधिकार रहेको निकायबाट तलबभत्ता भुक्तानी हुने गरी स्थानीय तहमा शिक्षा सम्बन्धि कार्य गर्ने गरी काज खटाईएको विभागले जनाएको छ । यसरी खटाईएका कर्मचारीलाई नौं बुदें निर्देशन पनि दिईएको छ ।

कसको कहाँ सरुवा हेर्नुहोस् :

निर्वाचन आचार संहिता लागे पनि निर्वाचन आयोग सँग परामर्श गरेर सरुवा गरिएको हो । माध्यमिक तह सम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत ब्यवस्था गरे पनि कर्मचारी खटाउन नसकेको भनेर शिक्षा मन्त्रालयको आलोचना हुँदै आएको थियो ।

'हामी संग उपलब्ध कर्मचारी मध्ये स्थानीय तहमा खटिने कर्मचारीको ब्यवस्थापन गरेर विभागले आफ्नो काम सकेको छ' विभागका सूचना अधिकृत टुकराज अधिकारीले भने, 'बाँकी रहेका स्थानीय तहमा के कसरी कर्मचारी ब्यवस्थापन गर्ने भन्ने बारेमा मन्त्रालयबाट निर्देश भएपछि हुने छ, हामीसँग अव कर्मचारी छैनन् ।'

विभागले आफ्नो अधिकार भित्र पर्ने शाखा अधिकृत र प्रा.स. तहका कर्मचारी खटाए पनि मन्त्रालयको क्षेत्र भित्र रहेको उपसचिवको ब्यवस्थापन बारे भने मन्त्रालय अलमलमै छ  । शिक्षा मन्त्रालयसँग ४ सय ८४ जना उपसचिव छन् । खास गरी स्थानीय तहमा खटिने कर्मचारी विच बरिष्ठताको विवादका कारण दवावमा परेको शिक्षा मन्त्रालयले सरुवाको विवरण सार्वजनिक गर्न नसकेको श्रोतले जनाएको छ ।

गत १४ गते निर्वाचन आचार संहिता लागे पनि मन्त्रालयले १८ गते देखि तीन दिन लगाएर ब्याक डेटमा करीव ७५ जना उपसचिवको सरुवा गरेको श्रोत बताउँछ ।

'मन्त्रीले आफ्ना मान्छे कता राख्ने भन्ने ताल मिलाउँदा मिलाउँदै शिक्षाका उपसचिव सरुवा गोप्य राखिएको हो' मन्त्रालय श्रोत भन्छ, 'राजनीतिक स्वार्थ मिलाउँदा मिलाउँदै स्थानीय तहमा खटाउने कर्मचारी ब्यवस्थापन गर्न नसकेर मन्त्रालय नै असक्षम हुने भो ।'

शिक्षाका उपसचिवहरुको ब्यापक विरोध पछि वरिष्ठ कर्मचारी नै प्रमुख हुने मान्यता स्थापित भएको र आफूहरु सरकारले जहाँ खटाउँछ त्यहाँ जान तयार भएर बसेको उक्त अभियानको नेतृत्व गरेका उपसचिव गेहनाथ गौतम बताउँछन् ।

तर मन्त्रालयले अहिले सम्म पनि कर्मचारी सरुवाको विवरण सार्वजनिक गर्न सकेको छैन ।

'सिनियरलाई नै दिने मान्यता स्थापित भएको छ, हामी त राज्यको नुन खाएका कर्मचारी हौ, जहाँ खटाउँछ त्यहीँ जान्छौं' गौतमले भने, 'हाम्रो सीप, ज्ञान र क्षमता के कसरी उपयोग गर्ने भन्ने कुरा राज्यको हो ।'

प्रतिक्रिया