Edukhabar
आइतबार, ११ माघ २०८२
खबर/फिचर

अडियो–भिडियो पाठ्यपुस्तक

सोमबार, २६ भदौ २०७४

भक्तपुर– सूचना प्रविधिको विकाससँगै पाठ्क्रम विकास केन्द्रले पाठ्यपुस्तकलाई पनि डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम थालेको छ ।

वर्सेनी हुँदै आएको पाठ्यपुस्तकको कहरलाई कम गर्न सघाउन भन्दै केन्द्र अहिले डिजिटल लर्निङ मटेरियल्स वा डिजिटल पाठ्य सामग्री विकासमा अघि बढेको हो । यसको तयारी स्वरुप केन्द्रले केही प्रारम्भिक काम पनि थालिसेकेको जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले  गुणस्तरीय शिक्षाका लागि केन्द्रले उक्त काम थालनी गरेको बताए । समयको आवश्यकता  र समय सुहाउँदो पाठ्यसामग्री उपलब्ध गराउन सकेको खण्डमा मात्र गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाई छ ।

‘हाम्रा पाठ्यसामग्रीहरु वर्षौंदेखि मुद्रणीय प्रतिमा मात्र उपलब्ध हुने गरेका छन् । सिकाइ पाठ्यपुस्तकीय ज्ञान प्राप्त गर्नु मात्र हो कि ? भन्ने आरोप लाग्ने गरेको छ’ उनले भने ‘प्रविधिले ल्याएको अपार सम्भावनालाई सम्बोधन गर्ने गरी सबै तह, कक्षा र विषयमा सिकारुमैत्री अन्तरक्रियात्मक डिजिटल पाठ्यसामग्रीहरुको विकास गरी गुणस्तर प्रवद्र्धन गर्न जरुरी भएकोले यो प्रकारको अवधारणा विकास गरेका हौं ।’
यस्तो खालको पाठ्यसामग्री बनेपछि सरकारले ल्याएको ई–लाइब्रेरीको अवधारणालाई पनि फाइदा पुग्ने केन्द्रको आशा छ । केन्द्रको सूचना तथा प्रविधि शाखाका उपसचिव टार्जन राईले उक्त कामलाई अघि बढाइरहेका छन् ।

यस्ता पाठ्यसामग्रीमा पाठ्यपुस्तकमा नअटेका विभिन्न विषय र विषयसँग सम्बन्धित अन्य थप जानकारीहरु समावेश गरी केही नमूना पाठ्यसामग्री बनाइसकेको उपसचिव राईले बताए । उनका अनुसार हालसम्म केही कक्षामा पठनपाठन हुने विषयहरुमध्ये विज्ञान, सामाजिक, गणित, नेपाली विषयका पाठ्यसामग्री बनिसकेको छ ।

‘छापिएर किताबका रुपमा आएका पुस्तकहरुमा चित्र मात्र हुन्छन्, यसले विद्यार्थीलाई कुनै बस्तुको अवधारणा दिन कठिन पर्छ, त्यही भएर डिजिटल पाठ्यसामग्री बनाउनतिर केन्द्र लागेको हो’, उनले भने, ‘यस्ता पाठ्यसामग्रीमा विषय सुहाउँदो आवाज, दृष्य पनि हुन्छन, जुन पुस्तकमा समावेश गर्न सकिँदैन ।’

अहिले भने प्रारम्भिक बालविकास, प्राथमिक तहका लागि उपयुक्त हुने पाठ्यसामग्री बनाइरहेको केन्द्रले माध्यमिक तहसम्मका लागि हुने सामग्री निर्माण गर्ने पनि योजना बनाएको छ ।
त्यसरी निर्माण गरिएका पाठ्यसामग्रीहरु केन्द्र तथा केन्द्रको वेवसाइटबाट निःशुल्क पाउन सकिने किसिमले तयारी भैरहेको छ ।

प्रतिक्रिया