Edukhabar
मंगलबार, १० भदौ २०८२
खबर/फिचर

ऐन त संशोधन भयो आयोग कहिले खुल्छ ?

बुधबार, ०४ असोज २०७४

भक्तपुर - योग्य शिक्षकलाई बञ्देज गर्दै अस्थायी शिक्षकलाई नै स्थायी गर्ने गरी शिक्षा ऐनको नवौं संशोधन पारित भए पनि अस्थायी शिक्षकका लागि लिने परीक्षा कहिले हुने भन्ने अन्यौल यथावत छ ।

संसदबाट पारित ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि मात्रै सार्वजनिक गरिन्छ ।

मंगलबार बैठक सकिँदा राती अबेर भएकोले सभामुखबाट पुरा गर्नु पर्ने प्रकृया नै बाँकी रहेको संसद सचिवालय श्रोतले जनाएको छ । सभामुख ओनसरी घर्ति मगर बुधबार विहानै चार दिने चीन भ्रमणमा निस्केकी छिन् । चीनको कुनमिङमा आयोजना हुने ‘वान बेल्ट वान रोड’ सम्बन्धी कार्यक्रममा भाग लिन त्यता लागेकी मगर अब ८ असोजमा मात्रै काठमाडौँ फर्किने छन् ।

त्यसैले उक्त ऐन प्रमाणिकरण हुने समय सम्मका बाँकी प्रकृया पुरा गर्दा गर्दै असोज महिना सकिने लगभग पक्का छ । ११ गते देखि हुने दशैं विदा र राष्ट्रपति कार्यालयमा पुरा गर्नु पर्ने प्रकृयाले उक्त समय लिने छ ।

विधेयकको पूर्ण पाठ अध्ययन गरेर के कस्तो रुपमा ऐन पारित भएको हो सोही आधारमा आयोगले आफ्ना कृयाकलाप अघि बढाउने आयोगका अध्यक्ष ताना गौतमले बताए ।

'मंगलबार पारित ऐनमा एक हप्ताको समय दिएर अस्थायी शिक्षकको आवेदन संकलन गर्ने उल्लेख भएको सुनिएको छ' उनले भने, 'पहिले विधेयकको पूर्ण पाठ अध्ययन नगरी परीक्षा मिति भन्न सक्ने अवस्था रहन्न ।'

परीक्षामा फेल भएपनि सुविधा पाउने भएपछि यस अघि सुविधा रोजेका अस्थायी शिक्षकले पास भए जागिर फेल भए सुविधाको अवसर भएपछि परीक्षाको फारम भर्न चाहने पक्का छ । उनीहरुको फारम संकलन भएपछि मात्रै आयोगले प्रश्न पत्र र केन्द्र निर्धारण गर्न सक्ने छ । 

त्यसैले ऐन प्रमाणिकरण अघि आफूहरुले आन्तरिक तयारी गर्न सक्ने भए पनि प्रश्न पत्र तयारी, परीक्षा केन्द्र निर्धारण जस्ता संख्या संग जोडिएका ब्यवस्थापनका कार्य अघि बढाउन नसकिने गौतमले बताए ।

आयोगलाई परीक्षा सञ्चालन गर्न लाग्ने समयका बारेमा यो पढ्नुहोस् : आयोगलाई परीक्षा गर्न कम्तिमा ३ महिना लाग्ने

प्रतिक्रिया