Edukhabar
मंगलबार, १० भदौ २०८२
खबर/फिचर

एसईईमा १ लाख १२ हजारको ग्रेडवृद्धि, नतिजा सहित

आइतबार, ०८ असोज २०७४

भक्तपुर - माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षामा सहभागी मध्ये १ लाख १२ हजार ६ सय २२ जनाको ग्रेडवृद्धि भएको छ । आईतबार सार्वजनिक नतिजा अनुसार यो ८३ दशमलव ५७ प्रतिशत भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  

०७३ को परीक्षामा दुईभन्दा बढी विषयमा ‘डी’ र ‘ई’ ल्याएका १ लाख ३४ हजार  ७ सय  ५६ विद्यार्थी मध्ये उक्त संख्याका विद्यार्थीको ग्रेड परिवर्तन भएको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताए । उनका अनुसार अंग्रेजीमा ४१ हजार ८ सय ९१ मध्ये २५ हजार ६ सय ७२ जनाको परिवर्तन भएको छ । नेपालीमा २९ हजार ३ सय ९२ मध्ये २१ हजार ९ सय ७३ , गणितमा १ लाख १२ मध्ये ६४ हजार ९ सय ३३ जनाको ग्रेड परिवर्तन भएको छ ।

त्यस्तै विज्ञान विषयमा ५५ हजार ५ सय २६ मध्ये २९ हजार १ सय ६८ जना, सामाजिकमा ५६ हजार ७ सय ४१ मध्ये  ४२ हजार ५ सय २२ को ग्रेड परिवर्तन भएको छ । अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षामा ७ हजार ९ सय ३५ मध्ये ६ हजार ३२ को  नतिजा परिवर्तन भएको कार्यालयले जनाएको छ ।

परीक्षाको नतिजा प्रकाशन गर्दा गत २०७३ सालको नियमित तथा एक्जेक्टेड परीक्षाको प्राप्ताङ्क प्राप्त गर्ने परीक्षार्थीहरुको मात्र ग्रेड वृद्धि नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक रेग्मीको भनाइ छ ।

परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजामा चित्त नबुझेमा १५ दिन भित्रमा प्रति विषय रु. ५ सय राजस्व तिरी पनिका, क्षेशिनि र जिल्ला शिक्षा कार्यालयमा पुनर्योगका लागि निवेदन दिन सक्ने पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया