काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार बनाउन माग गर्दै डा. महेश गजुरेलले आमरण अनसनको घोषणा गरेका छन् । चितवन भरतपुर स्थित विरेन्द्र बहुमुखि क्याम्पसका आँशिक शिक्षक गजुरेलले त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघद्धारा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन् । विश्वविद्यालयले आफूहरुको बौद्धिक शोषण गरिरहेको र यसको अन्त्यका लागि चारपटक सम्झौता गरेपनि कार्यान्वयन नभएको विरोधमा आमरण अनसन बस्न लागेको उनले बताए ।
बुधबार बेलुका ४ बजे त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालय कीर्तिपुरको प्रवेशद्वारमा आमरण अनसन बस्ने संघले जनाएको छ ।
त्यहि ठाउँमा ६५ दिनदेखि आंशिक प्राध्यापकले रिले अनसन गरिरहेका छन् ।
आंशिक प्राध्यापकलाई करार गर्न २०६३ साल भदौ ६ गते, २०६५ साल असोज २१ गते, २०६६ साल भदौ २१ गते र २०६९ साल जेठ ३२ गते नेपाल सरकारले गरेको सम्झौताको कार्यान्वयन नगरेको उनीहरुको आरोप छ ।
महिनौ देखिका शान्तिपुर्ण आन्दोलनलाई पनि वेवास्ता गरेपछि आमरण अनसन शुरु गर्न बाध्य भएको संघका महासचिव केशव चन्दले बताए । पाँच दिनभित्र पनि माग पुरा नभए धेरैजना आंशिक प्राध्यापकले एकसाथ आमरण अनसन शुरु गर्ने तयारी गरेको उनको दावी छ ।
प्रतिक्रिया