भक्तपुर - विभिन्न नगरपालिकाका वडाध्यक्षहरुले सार्वजनिक शिक्षा अस्ताउँदो क्रममा रहेको भन्दै चिन्ता जनाएका छन् ।
विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य समेत रहेका वडाध्यक्षहरु आफू चुनिएपछि विभिन्न विद्यालयहरुको विभिन्न कार्यक्रम, बैठक, भेलामा सहभागी हुँदा उक्त छनक पाएको बताउँछन् ।
‘स्थानीय तहको निर्वाचनसँगै वडामा चुनिएर आएपछि वडामा रहेका विद्यालयहरुको स्थिति बुझ्दा चित्तबुझ्दो छैन, समस्यै समस्यामा छ, यसकारणले पनि सरकारी विद्यालयहरु अस्ताउँदो क्रममा छ ।’ वडाध्यक्षहरुको साझा मत छ ।
भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका अन्तर्गतका विभिन्न वडाका वडाध्यक्षहरुमध्ये चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले सार्वजनिक शिक्षा सन्तोषजनक नरहेको बताए । सार्वजनिक विद्यालयहरुमा थुप्रै समस्याहरु छन्, शिक्षक, विद्यालय व्यवस्थापन समिति, प्रअ, समुदाय र राज्य पनि त्यो समस्याको कारकहरु रहेको उनको भनाइ छ ।
उनीसँगै सहमत हुँदै सोही नगरपालिकाको वडा नं. २ का वडाध्यक्ष शिवहरि केसीले सार्वजनिक शिक्षामा सरकारकै तर्फबाट लगानी बढी रहेको तर लगानी अनुसार प्रतिफल नआएको जनाए । उनले शिक्षकहरुले पठनपाठनको क्रमममा औपचारिकता मात्र निभाउँदै आएका कारण पनि सार्वजनिक शिक्षा सुदृढ हुन नसकेको बताए । ‘शिक्षकको ध्यान पठनपाठनका अलावा अन्यत्र नै छ, यस्तो भएपछि कसरी शिक्षाको स्तर माथि उठ्छ ?’ उनको प्रश्न छ ।
यसैगरी चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले सरकारको कमजोरी उठाएर व्यापारिक उद्देश्यले सञ्चालनमा रहेका निजी विद्यालयहरुको कारण सार्वजनिक शिक्षा ¥हासोन्मुख बन्दै गएको उल्लेख गर्दै शिक्षा नीतिमै फेरबदल गर्न नसके त्यसको मार आगामी दिनमा सरकारी विद्यालयले नै भोग्नुपर्ने इंगित गरे ।
उनले स्थानीय तहमा शिक्षाको अधिकार आए पनि चुनौति पनि त्यतिकै विद्यामान रहेकोले शिक्षा सुधार्न अझ कठीन हुने संकेत देखेको बताए । ‘शिक्षामा हामीले अभिभावकको लगानी बढाउन सकेका छैनौं, कहिँ दरबन्दी अभाव छ, कहिँ विद्यार्थी अभाव । यतिमात्र नभएर कति विद्यालयहरुमा पुराना शिक्षकहरुको बाहुल्यता छ, नयाँ शिक्षक आउन सक्ने स्थिति छैन, यसैले चुनौति छ ।’
यसैगरी मध्यपुर थिमी नगरपालिका वडा नं. ६ र ९ का वडाध्यक्षद्वय क्रमशः इन्द्रबहादुर प्रजापति र कृष्णकुमार प्रजापति पनि सार्वजनिक शिक्षाको साख गिर्दै गएकोमा सहमत छन् । पूर्व शिक्षकसमेत रहेका वाडाध्यक्षद्वय प्रजापतिले सार्वजनिक शिक्षामा रहेका समस्याको थुप्रोलाई क्रमशः घटाउँदै लग्नु जरुरी रहे पनि निजी विद्यालयहरुप्रतिको आर्कषणले त्यसलाई बाधा पुर्याएको बताए ।
‘सार्वजनिक विद्यालयमा विद्यार्थी छैनन् शिक्षकहरुमा हाजिर गरेर तलब खाने परिपाटी बसिसकेको छ ।’ सूर्यविनायक नगरपालिका वडा न ५ का वडाध्यक्ष राजकुमार जोशीले भने । उनले आफ्नो विद्यालयमा रहेका दुई विद्यालयहरुलाई एकआपसमा मर्ज गर्न खोजे पनि शिक्षककै कारण मर्ज हुन मुश्किल रहेको बताउँदै वडाकै आफ्नै आम्दानीले शिक्षकको व्यवस्था गरी शिक्षा सुधार गर्ने योजना रहेको सुनाए ।
त्यस्तै सोही नगरपालिकाको वडा नं. ८ का वडाध्यक्ष किरण थापाले सार्वजनिक विद्यालयहरुको भौतिक पूर्वाधार राम्रो भएको तर विद्यालय सञ्चालनको लागि जिम्मेवारी लिइरहेका शिक्षक, प्रअ तथा विव्यसहरुमा योजना नहुँदा समस्या भएको बताए ।
प्रस्तुत विचार रेडियो कार्यक्रम हाम्रो शिक्षामा समाबेश भएको छ । उक्त कार्यक्रम सुन्नु होस् : स्थानीय सरकार मातहत शिक्षाका अधिकार र वडाध्यक्षहरुका योजना
प्रतिक्रिया