भक्तपुर–तीन घण्टाको परीक्षामार्फत निर्धारण गर्ने परीक्षा प्रणाली नै व्यावहारिक नभएको र यसमा सुधार गर्नुपर्ने तर्क आइरहेको बेला माध्यमिक तहको अन्तिम परीक्षा लिने जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डले नेपालमा परीक्षा बोर्डहरुको सम्मेलन गर्दैछ ।
अहिलको परीक्षा प्रणाली ठीक वा बेठीक भन्ने कुरा शिक्षा क्षेत्रमा बहसको विषय भएको समयमा बोर्डले काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन अफ इण्डिया(कोब्से)को ४६ औं सम्मेलन नेपालमा गर्न लागेको बोर्डले जनाएको छ ।
बोर्डले भक्तपुरमा आज आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले उक्त सम्मेलन नेपालको परीक्षा प्रणाली सुधारका लागि अवसर भएको बताए ।
‘नेपालको परीक्षा प्रणालीका बारेमा गुनासो आइरहेको बेलामा परीक्षा सञ्चालन गर्ने जिम्मा पाएको राष्ट्रिय परीक्षा बोर्डका लागि र परीक्षा प्रणालीमा सुधार ल्याउन सघाउ पुर्याउँछ ।’ उनले भने । अध्यक्ष पौडेलले हालको परीक्षा प्रणाली पनि पूर्ण रुपमा व्यवहारिक नभएको बताउँदै बोर्डले निकट समयमै विषयगत परीक्षाको तयारी भएको जानकारी दिए ।
‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ कार्तिक १६ गतेदेखि १८ गतेसम्म हुने उक्त सम्मेलनमा आठ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीहरुको सहभागिता रहनेछ । सम्मेलनमा भुटान, नेपाल, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत, भारत र नेपालका परीक्षा बोर्ड गरी ५२ वटा बोर्डका पदाधिकारी र परीक्षा विज्ञहरुको भेला हुने बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले बताए ।
सम्मेलनमा नेपालको तर्फबाट शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गणेशबहादुर सिँह र त्रिभुवन विश्वविद्यालयका प्रा.डा.बासुदेव काफ्लेले विशेष शिक्षामा परीक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी भैरहेको छ ।
प्रतिक्रिया