भक्तपुर - १० प्रतिशत विद्यार्थीमा कानसम्बन्धी समस्या फेला परेको छ । ललितपुरको पुल्चोकस्थित एक संस्थाले भक्तपुरका विद्यालयहरुमा पढ्ने विद्यार्थीमा गरेको अध्ययनले उक्त समस्या देखाएको हो ।
गत वर्ष (सन् २०१६ को नोभेम्बरदेखि यो वर्ष (सन् २०१७) को ३१ अक्टोबरसम्म अध्ययन गरिएको थियो ।
भक्तपुरका १ सय २८ विद्यालयका १६ हजार ७ सय १७ जनामा गरिएको परीक्षणले १ हजार ७ सय १६ जनामा कान नसुन्ने समस्या देखिएको उक्त अध्ययनले जनाएको छ । ‘जुन कूल विद्यार्थीमध्ये १० दशमलब २६ प्रतिशत हुन आउँछ ।’ उक्त अध्ययन गरेको इएर केयर नेपाल नामक संस्थाका अधिकृत विनयविक्रम अधिकारीले भने ।
उनले कान परीक्षण अन्तर्गत चाँगुनारायण स्रोतकेन्द्रका १२, ताथली स्रोतकेन्द्रका ११, खरीपाटी स्रोतकेन्द्रका १२, जोरपाटी स्रोतकेन्द्रका १९, अरनिको स्रोतकेन्द्रका २१, सानोठिमी स्रोतकेन्द्रका १८, दरबार क्षेत्रस्थित पद्म स्रोतकेन्द्रका १५र र वागीश्वरी अगुवा स्रोतकेन्द्र अन्तर्गतका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीको कान जाँच गरिएको बताए ।
परीक्षणअन्तर्गत २ सय ९० जना विद्यार्थी कानको शल्यक्रिया गर्नुपर्ने भेटिएकोमा १ सय ५८ जनाले मात्र कानको शल्यक्रिया गरेको पनि उनले जनाए । ‘ललितपुरमा भन्दा भक्तपुरका विद्यार्थीमा कान नसुन्ने समस्या बढी देखिएको छ, लतिलपुरमा ८ दशमलब ४ प्रतिशतमा मात्र त्यो समस्या रहेकोमा भक्तपुरमा बढी भएको अध्ययनले देखाएको छ ।’ उनले भने ।
अध्ययनले ग्रामीण भेगका विद्यार्थीमा भन्दा शहरी क्षेत्रका विद्यार्थीमा बढी समस्या देखिएको पनि उनले बताए । उनका अनुसार ग्रामीण तहमा रहेका स्रोतकेन्द्र अन्तर्गतका विद्यार्थीमा भन्दा शहरी क्षेत्रका स्रोतकेन्द्र अन्तर्गतका विद्यालयका विद्यार्थीमा तुलनात्मक रुपमा समस्या बढी छ ।
प्रतिक्रिया