काभ्रे – विद्यार्थीले पढेको कुरा कत्तिको जानेछन् भनेर पत्ता लगाउने विधि परीक्षा हो, तर परीक्षाको नाम सुन्ना साथ विद्यार्थीको सातो जान्छ ! परीक्षा भन्ने बित्तिक्कै मानसिक रुपमा विद्यार्थी किन डराउँछन् त ?
प्रश्न गम्भीर छ । विज्ञहरु भने परीक्षा नीतिकै कारण विद्यार्थीमा ‘इक्ज्याामफोबिया’ रहेको निष्कर्षमा पुगेका छन् ।
‘डराएका विद्यार्थी परीक्षाका लागि तयार हुन सक्तैन । जसको कारण हाम्रो शैक्षिक प्रणाली र नीतिमै प्रश्न उठ्ने गरेको छ ।’ विभिन्न सात देशका ७२ परीक्षा बोर्डहरुको सहभागितामा काभ्रेको धुलिखेलमा जारी काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से) को ४६ औं सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै त्रिभुव विश्वविद्यालयका प्रा. डा. गणेशबहादुर सिँहले भने ।
सोही कारण उनले परीक्षा प्रणालीमा सुधारको आवश्यकता देखेको निचोड निकाल्दै परीक्षालाई वैज्ञानिक, व्यवहारिक र विद्यार्थीको मनोभावनासँग नजिक बनाउने प्रयास सबै पक्षबाट हुनु जरुरी रहेकोमा उनको कार्यपत्रले जोड दिएको छ ।
‘परीक्षा भनेको विद्यार्थीसँगमात्र नभएर हामीले तय गरेको पाठ्यक्रम, हामीले दिने गरेको शिक्षक तालिम र व्यवस्थापनसँग पनि प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले परीक्षा सुधार्नका लागि यी विषयहरुमा पनि सुधार आवश्यक छ ।’ उनले भने ।
उनको कार्यपत्रसँग सहमत हुँदै परीक्षाको मूल्यांकन प्रणालीमा समय सापेक्ष सुधार गर्न नेपालमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘अहिलेको परीक्षा मूल्यांकन प्रणालीलाई व्यवहारिक बनाउन, निष्पक्ष बनाउन र व्यवस्थापनमा पनि सुधार गर्न मद्दत पुग्ने हेतुले सम्मेलन गरिएको हो ।’ बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने ।
सम्मेलनमा परीक्षा प्रणालीका अवयवहरुका साथै परीक्षा सुधारका क्रममा अन्य देशमा भएका असल अभ्यासबारेमा छलफल भइरहेको छ ।
परीक्षा विद्यार्थीको क्षमता जाँच गर्ने सर्वश्रेष्ठ माध्यम हो । सक्षम र क्षमतावान विद्यार्थीले मात्र परीक्षामा उत्कृष्ट अंक ल्याउनुमा कहिलेकाहिँ त्यस विपरीत सम्बन्धित विषयको ज्ञानसम्म नपाएका पनि उत्कृष्ट नम्बरसहित उत्तीर्ण भइरहेबाट पनि परीक्षा प्रणालीको चित्र देखिएको सन्दर्भमा जारी सम्मेलनमा सहभागीहरुले परीक्षा प्रणाली सुधार गरेर मात्र राज्यलाई आवश्यक दक्ष जनशक्ति दिन सकिनेमा पनि जोड दिए ।
‘तीन घण्टामा विद्यार्थीलाई परीक्षण गर्ने परीक्षा प्रणाली नै कमजोर छ, अहिलेको परीक्षा प्रणाली सुधार गर्नुपर्छ, परीक्षा प्रणाली र शिक्षण सिकाइलाई सँगै लैजान जरुरी छ’ कार्यक्रममा विशेष शिक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा. बासुदेव काफ्लेले भने ।
सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति रामवरण यादवले गरेका थिए । सम्मेलन शनिबार सम्पन्न हुँदैछ । उद्घाटन सत्रमा शिक्षा सचिव मधुप्रसाद रेग्मीले परीक्षा मूल्यांकन प्रणाली गलत हुँदा पनि शिक्षा दोषमुक्त नभएको बताउँदै परीक्षाप्रणाली व्यवहारिक हुनुपर्ने उल्लेख गरेका थिए ।
कोब्सेका अध्यक्ष असानो सेखोसेनले परीक्षा प्रणालीमा रहेका भ्रम र त्यसका कारण आलोचित बनेको शिक्षा क्षेत्रलाई सुधार्न सम्मेलनले सहयोग पुग्ने जनाइन् ।
‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ बिहीबारदेखि जारी सम्मेलनमा भुटान, नेपाल, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत, भारत र नेपालका परीक्षा बोर्डका पदाधिकारीहरु र परीक्षा विज्ञहरु सहभागी छ्न् ।
प्रतिक्रिया