Edukhabar
बुधबार, ११ भदौ २०८२
खबर/फिचर

समस्या उही, योजना भने कागजमै

मंगलबार, २१ कार्तिक २०७४

काठमाडौं  - ‘प्रायः केटीहरु चाहिँ बिहे गरेर जान्छन् भने प्रायः केटाहरु रोजगारीकै लागि जाने गरेको हामीले पाएका छौं । विद्यालय किन आएन भनेर घरमा जाँदा केटाहरु काम सिक्नका लागि रिसोर्टमा गएका भन्छन्, बिहे भएका केटीहरुको त के कुरा भयो र ?’ तीनवटा सार्वजनिक विद्यालय र एकवटा निजी विद्यालय सञ्चालनमा रहेको काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष शन्तबहादुर वाइवाले भने । उनले सो समस्या शंखरापुर नगरपालिकाका  प्रत्येक विद्यालयमा रहेको बताउँदै त्यसको अन्त्य नगरी नहुने बताए । सोही अनुसार उनले आफूले जिम्मेवारी लिएपछि सोबारेमा छलफल गरेको बताए ।

‘छलफल त गर्यौं नै तर त्यसबारेमा ठोस निर्णय केही हुन सकेको छैन । हामीबाट अपेक्षा धेरै गरेका छन्, हामीलाई समस्या छ ।’ उनले भने ।

पढ्दा पढ्दै बीचैमा विद्यार्थी हराउनुका कारणमा मुख्यत गरिबी, पढाइप्रतिको खासै रुचिमात्र जिम्मेवार नभएको जर्सिङ पौवाको कालिकाशरण माध्यमिक विद्यालयका शिक्षक अभिभावक  संघका अध्यक्ष राजन निरौलाले बताए ।

उनले विगतदेखिकै सो समस्या भएकाले समाधान गर्नका लागि जनप्रतिनीधिले नै पहल गर्नुपर्ने बताएका छन् । ‘ यो समस्या अहिलेको मात्र होइन, विगत लामो समयदेखिको हो, यो बारेमा विद्यालय प्रशासन, शिक्षकलाई जति सुझाव दिँदा पनि नमान्दा यस्तो भएको हो ।’ उनले भने । सो समस्या समाधान गर्न सके पनि सो क्षेत्रको विकासका लागि ठूलो प्रयास हुने उनको भनाइ छ । यसैले सो समस्या यथासक्य छिटो समाधान गर्न आवश्यक रहेको बताए ।

स्थानीय तहको मातहतमा आएको माध्यमिक तहसम्मको शिक्षालाई नजिकबाट हेर्ने, विद्यालयको प्रत्यक्ष निगरानी गर्ने, विद्यालययको भौतिक, शैक्षिक विकासका लागि भूमिका खेल्ने अधिकार पाएको विद्यालय व्यवस्थापन समितिको पनि हो । सक्रिय विद्यालय व्यवस्थापन, सहयोगी विव्यस पदाधिकारीका कारण सार्वजसनक विद्यालयको स्तर माथि उठेको कयौं उदाहरणहरु हामीसामु छ । तर उनीहरु भने व्यवस्थापन समितिका अलावा आपूmभन्दा माथिको तालुकदार निकाय पनि गम्भीर हुनुपर्ने आवश्यकता उनीहरुले देखेका छन् ।

लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि आफ्नै गाउँठाउँका विद्यालयले पनि जनप्रतिनीधि पाएपछि विद्यालयको रेखदेखमा लागेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारीहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु हौसिएका छन् ।

उनीहरु विद्यालयको वास्तविक अवस्था चिनेका जनप्रतिनीधि पाएयता विद्यालयका समस्याहरु राख्ने र त्यसको समाधानको लागि पहल गरिदिन वडाकार्यालय, नगरपालिका कार्यालय जाने र त्यहाँका प्रमुख, उपप्रमुखसँग भेटघाट गर्ने काम पनि थालेका छन् ।

यसरी विद्यालयको समग्र विकासको लागि गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरुले आफ्नो विद्यालयका समस्याहरु के के देखेका छन् ?अनि ती समस्या समाधानका लागि जनप्रतिनीधिले के गर्नुपर्छ ? साथै चुनिएर गएका जनप्रतिनीधिहरुले अहिलेसम्म विद्यालयको आवश्यकता, प्रअ, विद्यार्थी, अभिभावकको अपेक्षा पूरा गर्न के गरे ? भन्ने विषयमा उल्लेख्य केही काम हुन नसकेको शंखरापुर नपा ६ नं. भाग्योदय माविका विव्यस सदस्य वीरबहादुर घलानले बताए । उनी मात्र नभएर कालिका शरण माविका विव्यस अध्यक्ष मदन वाइवाले पनि सोही समस्या भोगेको बताए ।

वडाध्यक्ष शन्तबहादुर वाइवाले भने समस्याबारेमा आफूलाई बोध भए पनि ऐनको अभाव, ठाउँको अभाव, जनशक्तिको अभावको कारणले योजना योजनैमा सीमित गर्न विवस भएको बताए । उनले स्थानीय तहमा शिक्षा क्षेत्रमा अनगिन्ती समस्या रहेको बताए । ‘विद्यार्थी, शिक्षक, प्रअ, प्रशासन, अभिभावकदेखि हामीलाई पनि समस्या छ, तर समस्या छ भनेर हामी भाग्ने कुरा आउँदैन, हामी समाधान गछौं, अहिले भने समस्या उस्तै छ, हामीले बनाएको योजना भने कागजमै थन्किएका छन् ।’

प्रस्तुत रिपोर्ट रेडियो कार्यक्रम हाम्रो शिक्षाको २४ औं अंकमा समेटिएको विषयवस्तुमा आधारित छ । उक्त कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् : Episode 024_Hamro Sikshya

प्रतिक्रिया