ललितपुर - सरकारी कार्यालय कस्ता हुन्छन् ?
सेवाग्राहीले सजिलै भन्न सक्छन् कर्मचारी नभेटिने, भेटिए पनि काम नहुने । त्यतिमात्र हैन भताभुंग हुन्छन्, लथालिंग हुन्छन्, आफूले खोजेको कागजात पटक्कै भेटिँदैन ।
हो, आम मानिसको यही बुझाइजस्तै छ, जिल्ला शिक्षा कार्यालय ललितपुर पनि ।
एक छिन समय मिलाएर सो कार्यालय जानु भयो भने तपाईले आफ्नै आँखाले देख्न सक्नु हुने छ – लथालिंग र भताभुंग !
कार्यालयको विद्यालय प्रशासन (सामुदायिक) शाखा छिर्ने कक्ष र अनुगमन शाखा कक्ष छेउ र ती दुई कक्षबीच खाली रहेको प्यासेजमा कागजातहरु छरप्रष्ट फालिएका भेटिन्छन् । नजिकै रहेको स्टोर शाखा भने खाली छ ।
‘यहाँ त यस्तै हो, फाइलहरु लथालिंग पारामा फालिएका छन्, व्यवस्थित तरिकाले राखेको मलाई थाहा छैन, त्यही भएर खोजेका फाइलहरु कहिले पनि टाईममा भेटिँदैनन् ।’ शिक्षा कार्यालयमा भेटिएका एक प्रधानाध्यापकले नाम नराख्ने सर्तमा भने ।
उनले कार्यालयमा फाइलमात्र यततत्र हुने नभएर कर्मचारीहरु पनि यततत्र हुने बताउँदै कर्मचारीहरुप्रति आक्रोस पोखे ।
‘आफ्नो कार्यकक्षमा नबसी कर्मचारीहरु पनि यताउति अन्य कक्षमा गएर गफिने गरेका छन्, सोधपुछ शाखामा सोध्यो भने, काम विशेषले बाहिर गएको बताउँछन् ।’ उनले फेरि भने ।
शिक्षा मन्त्रालय तथा शिक्षा विभाग मार्फत निर्देशित निति योजना र कार्यक्रमहरुलाई आफ्नो क्षेत्रमा प्रत्यक्ष र प्रभावकारी रुपमा कार्यान्वयन र अनुगमन गर्ने निकायको रुपमा स्थापना भएको जिल्ला शिक्षा कार्यालयको यस्तो दुर्दशा देखेर सेवागांही दिक्क छन् ।
कार्यालयमा शिक्षा सेवा रा. प. द्धितिय श्रेणीका अधिकृत प्रमुख १ जना, सहायक जिल्ला शिक्षा अधिकारी ६ जना, शाखा अधिकृत २ जना, विद्यालय निरीक्षक ७ जना, लेखा अधिकृत १ जना, इञ्जिनियर १ जना, नायव सुव्वा, प्राविधिक सहायक ६ जना, लेखापाल २ जना, ओभरसियर ४ जना, खरिदार १ जना, हलुका सवारी चालक र कार्यालय सहायक ४ जना कर्मचारीको दरबन्दी छ । जम्मा १५ वटा स्रोतकेन्द्र रहेको जिल्लामा स्रोतकेन्द्रबाट आएका तथ्य, तथ्यांक र जानकारी समेत व्यवस्थित तरिकाले राख्ने गरिएका छैनन् ।
‘हामी निक्कै मिहिनेत गरेर विद्यालयका तथ्य, तथ्यांक र जानकारी कार्यालयमा पठाउँछौं तर कार्यालयले भने ती रेकर्डहरु व्यवस्थित तरिकाले राख्ने गरेको छैन ।’ एक स्रोतव्यक्ति भन्छन् ।
कार्यालयमा आएका फाइल व्यवस्थापन नहुनुमा स्थान अभाव रहेको बनिबनाउ उत्तर दिन्छन् कर्मचारी !
उनीहरुलाई लाग्छ कार्यालयको खाली स्टोर कक्ष अरुले देखेकै छैनन् !
छरपष्ट कागजात भएको छेउकै त्यही खाली स्टोर कक्ष देखाएपछि उपजिशिअ महेन्द्रबहादुर केसीले निकट भविष्यमै व्यवस्थापन गर्ने प्रतिवद्धता भने जनाए ।
प्रतिक्रिया