Edukhabar
बुधबार, ११ भदौ २०८२
खबर/फिचर

शिक्षा कार्यालयका शाखाहरुमा ‘ताल्चा’, गफिन अन्तै

विहीबार, २३ कार्तिक २०७४

काठमाडौं - जिल्लाको शैक्षिक योजना बनाएर सो कार्यान्वयन गर्नका लागि प्रत्येक जिल्ला शिक्षा कार्यालयहरुमा विभिन्न शाखाहरु हुन्छन् । जिल्ला शिक्षा कार्यालयहरुमा योजना, कार्यक्रम तथ्याङ्क शाखा, विद्यालय प्रशासन, आन्तरिक प्रशासन तथा परीक्षा शाखा, अनौपचारिक शिक्षा,  निरीक्षण तथा तालिम शाखालगायतका शाखा हुन्छन् ।

ती शाखाहरुसँगको समन्वय र सहकार्यमा जिल्लामा शैक्षिक गतिविधि र क्रियाकलाप अघि बढ्छ । त्यसरी खोलिएका शाखाहरुको जिम्मा पाएका शाखा प्रमुखहरुले आफ्नो कार्यकक्षमा बसेर सेवाग्राहीलाई सेवा दिनुपर्ने उसको दायित्व भए पनि जिल्ला शिक्षा कार्यालयका शाखा प्रमुखहरुबाट त्यस किसिमको कार्य नभएको पाइएको छ ।

शिक्षा मन्त्रालयले गरेको अनुगमनको क्रममा धनुषा जिल्ला शिक्षा कार्यालयअन्तर्गतका शाखाहरुबाट काम हुन नसकेको भेटिएको हो ।

मन्त्रालयको कार्यक्रम, अनुगमन समन्वय शाखाका उपसचिव प्रेमराज खरेल र शाखा अधिकृत हीरालाल तुलाधरको नेतृत्वले गरेको अनुगमनको क्रममा त्यस किसिमको लापबाही भेटिएको हो । सो टोलीले मन्त्रालयलाई बुझाएको अनुगमन प्रतिवेदनमा उक्त लापरबाही भएको उल्लेख छ । ‘कार्यालयमा कर्मचारीहरुको तोकिएको समयमा कार्यालयमा आउनुपर्ने तथा नियमित रुपमा आफूलाई तोकिएको स्थानमा बसी सेवा गर्नुपर्र्नेमा अधिकांश फाँटहरुमा ताल्चा लागेको देखिन्छ ।’

अनुगमन टोलीले धनुषा जिशिकामा कार्यरत कर्मचारीहरुबाट त्यस किसिमको गैरजिम्मेवारीपूर्ण काम भएको भेट्टाएको थियो भने कर्मचारीहरुबीच पनि आपसी रुपमा विश्वासको वातावरण कायम हुन सकेको छैन । ‘यसले गर्दा कार्यालयले सेवाग्राहीको प्राथमिकतालाई त्यति ध्यान दिन सकेको छैन ।’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया