Edukhabar
विहीबार, १२ भदौ २०८२
खबर/फिचर

शिक्षा ऐन विरुद्ध अर्को पनि मुद्धा

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं - २०७२ असोज २ गते पछी  अस्थायी शिक्षक बनेका शिक्षकहरुको एक समूहले पनि शिक्षा ऐन नवौं संशोधन विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छ । ०७२ असोज २  सम्म नियूक्तलाई मात्र आन्तरिकमा समावेश गरी आन्तरिकको कोटा ४९ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउदाँ पनि आफूहरुलाई छुटाएको भन्दै उनीहरुले मुद्धा हालेका हुन् । यस्ता शिक्षकको संख्या बाह्र हजार रहेको उनीहरुको दावी छ । उनीहरु छुट अस्थायी करार शिक्षक संघर्ष समिति गठन गरेर आन्दोलनमा छन् ।  

अस्थायी शिक्षक समस्या समाधान गर्न भन्दै ऐन संशोधन गर्ने तर आफूहरुलाई राज्यले नै विभेद गर्दा अन्याय भएकोले अदालत जानु परेको समितिका अध्यक्ष भरत केसीले बताए ।

यस अघिनै अधिवक्ता ज्योती बानियाँ सहितले शिक्षा ऐनमा भएको ब्यवस्थाले योग्य शिक्षक सेवा प्रवेश बञ्देज हुने भन्दै ऐन खारेजीको माग गरी संवैधानिक अदालतमा मुद्धा दायर गरिसकेका छन् ।

सर्वोच्च अदालतमा मुद्धा दायर

शिक्षक सेवा आयोगले विज्ञापन गरेपछि उक्त मुद्धामै बिहीबार मात्रै पुरक रीट समेत दायर भएको छ ।

अस्थायी शिक्षक विज्ञापन विरुद्ध पनि रीट

तर उक्त रीटले आफूहरुको माग सम्बोधन नहुने भन्दे आफूहरुलाई  प्रतियोगिताबाट वंचित गर्ने गरी शिक्षक सेवा आयोगबाट भएको विज्ञापन समेत वदर गर्न यो रीटमा माग गरिएको छ ।

'शिक्षा ऐन २०२८ मा भएको आठौ संसोधनले  ऐनको दफा ११ च मा साविकमा भएको कानूनी व्यवस्थालाई संसोधन गरी ऐ दफाको उपदफा १ को खण्ड ख को प्रतिवन्धात्मक वाक्याशंको उपखण्ड ३  ले  मिति २०७२।६।२ सम्म कार्यरत हामि जस्ता शिक्षकहरुलाई  रिक्त दरवन्दीको ४९ प्रतिशतमा एक पटकको लागि सिमित प्रतियोगितामा भाग लिन पाँउने व्यवस्था गरेको थियो तर हाल उक्त ऐनमा भएको नवौ संसोधनले सो  कानूनी व्यवस्था समेत संसोधन गरी पचहत्तर प्रतिशत कायम गरेकोले हामी निवेदकहरु आठौ संसोधनबाटै सिमित प्रतियोगितामा सहभागि हुन वंचित भएको र हालको नवौ संसोधनले खुल्ला प्रतियोगिताको प्रतिशत झन वढाई हामी सरहका देश भरका हजारौ शिक्षकलाई पच्चिस प्रतिशतको खुल्ला प्रतियोगिमा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था उत्पन्न भई हाम्रो पेशा र रोजगारको मौलिक हकमा अनुचित वन्देज लागेको र यस सम्वन्धमा अन्य वैकल्पिक उपचारको समेत व्यवस्था नभएकोले सम्मानित अदालत समक्ष यो रिट निवेदन लिई उपस्थित भएका छौं' रीटमा भनिएको छ ।

रोल्पाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रा.वि शिक्षक पदमा कार्यरत भरत के.सी, नुवाकोटको स्याउरे भुमि मा.वि शिवपुरीमा शिक्षक पदमा कार्यरत नर वहादुर वस्नेत समेत २ जनाको वारेस र काभे्रको सिम भन्ज्याङ प्रा.वि तिमाल गाँउपालिकामामा कार्यरत   शिव प्रसाद पाण्डेले मुद्धा हालेका हुन् ।

प्रतिक्रिया