सर्लाही - सर्लाहीका तीन स्थानीय तहमा रहेका विद्यालयमा कार्यरत शिक्षकहरुले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब नपाएपछि शिक्षकहरु आन्दोलित भएका छन् ।
‘स्थानीय तहमा शिक्षाका अधिकार आएपछि महिनैपिच्छे तलब पाउने अपेक्षा गरेका थियौं तर जनप्रतिनीधि आएको पाँच महिना भइसक्दा पनि हामीले तलब पाएका छैनौं ।’ शिक्षक रुपेश झाले भने । सोही कारण उनीहरु तलबका लागि हातको पाखुरामा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूले काम गरेको समयको पारिश्रमिकका लागि पनि आन्दोलन गर्नुपरेको छ ।
सर्लाहीको बसबरिया, करिलाना र पर्सा गाउँपालिकामा रहेका कुनै पनि विद्यालयका शिक्षक, कर्मचारीले तलब पाएका छैनन् । ती तीन गाउँपालिकामा कार्यरत करिब ४५० शिक्षक र ५० बढी कर्मचारीले तलब नपाएको आन्दोलनरत शिक्षकहरुले बताए ।
स्रोतव्यक्ति, गाउँपालिकाका अध्यक्षदेखि शिक्षा अधिकारीलाई पटकपटक गुहार्दा पनि तलब नदिएपछि आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।
सर्लाहीका जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले पनि ती शिक्षकहरुलाइ तलब खुवाउन नसकेको बताए । उनले शिक्षा कार्यालयकोे कारण नभएर स्थानीय गाउँपालिकाकै कारण पाँच महिनादेखि तलब खुवाउन नसकेको बताए ।
‘पहिला १७ वटामात्र गाउँपालिका रहेकोमा पछिल्लो राजनीतिक अभ्यासले ३ वटा थप भयो, त्यसको जानकारी शिक्षा विभागलाई नहुँदा ती तीन गाउँपालिकाका विद्यालयका शिक्षकले तलब नपाएका हुन् ।’ उनले भने ।
उनले विभागले २० वटा स्थानीय तहमा रहेका सबै विद्यालयका शिक्षक र कर्मचारीको लागि तलब पठाउनुपर्नेमा १७ वटा स्थानीय तहका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको तलब पठाउँदा समस्या भएको बताए । शिक्षक आन्दोलित भएपछि जिशिकाले विभागमा लिखित पत्र पठाइसकेको कार्यालयका अधिकृत सुनिल कुशवाहले बताए ।
‘हामीले शिक्षकले गरेको आन्दोलन र तलबको बारेमा विभागालाई रिपोर्टिङ गरिसेकेका छौं, हामी विभागले रकम पठाएपछि सम्बन्धित गाउँपालिकामा पठाएर तलब खुवाउँछौं’ उनले भने ।
प्रतिक्रिया